साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा भारी गिरावट देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा १३ वटै उपसमूह ओरालो लागेका छन् ।
आज फागुन १ गतेदेखि लागू हुनेगरी बैंकहरूले निक्षेपकाे ब्याजदर बढाएका छन् । त्यसकाे प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएकाे छ । लामो समयदेखि तरलताको समस्या भोग्दै आएका वाणिज्य बैङ्कहरूले लगानीयोग्य रकम जोहो गर्न फागुन महिनाका लागि ब्याजदर बढाएका हुन् । अब वाणिज्य बैंकहरूको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ ।
यति मात्र नभएर बजारलाई प्रभाव पार्ने अन्य समाचारहरू पनि बाहिरिएका छन् । राष्ट्र बैंकले हालै मात्र सार्वजनिक गरेकाे रिपाेर्टमा पनि अर्थतन्त्रका सूचकहरू नकारात्मक भएका तथ्यांकहरू उल्लेख छन् । यसले पनि लगानीकर्ताहरू थप त्रसित भएका जानकारहरू बताउँछन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेकाे छ । नेप्से ३.६१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १५.६२ अंकले घटेर ५११.६६ विन्दुमा झरेको छ ।
कूल २२७ वटा कम्पनीकाे एक कराेड १६ लाख ६१ हजार ६ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७ सय ३१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।
त्यसैगरी, आइतबार काराेबार रकममा अपर तामाकाेशीले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ३२ कराेड ८४ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
आज जम्मा ५ वटा कम्पनीकाे मूल्य बढेकाे छ । ५ वटै म्यूचूअल फण्डहरू हुन् ।
यस दिन अपर तामाकाेशीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीकाे सेयरमूल्य ८.३७ प्रतिशतले घटेर ६ सय ४६ रूपैयाँमा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस