Like us!
Follow us!
Connect us!
Watch us!

सीआस्वाको नाममा बैंकहरुको लुटतन्त्र, नयाँ आईपीओ आउँदै, आईपीओ बाँडफाँड+अन्य समाचार

अर्थ संसार

बुधबार, ०४ फागुन २०७८, २१ : ०५ मा प्रकाशित

आज (फागुन ४ गते, बुधबार) दिनभरकाे प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. इमर्जिङ नेपालकाे आईपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ५१ हजार ६ सय ७० जनाले हात पारे सेयर

इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन ४ गते, बुधबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड कार्निभल रेष्ट्राे, अनामनगर, काठमाडाैँमा सम्पन्न भएकाे हाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्द थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । जसमध्ये ८ जनाले ११ कित्ता सेयर पाएका छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

२. लगानीकाे नयाँ अवसर : नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ फागुन ११ गतेदेखि खुल्ने

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा फागुन १५ गतेदेखि ढीलाेमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

३. दाेहाेराे अंकले घट्याे सेयर बजार, काराेबारमा अपि पावर अब्बल

आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । हिजाे मंगलबार अर्थसतकले बढेकाे बजारले आज भने ओरालो यात्रा तय गरेकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा पुगेकाे छ । नेप्से ०.७२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४७ अंकले घटेर ५१८.६६ विन्दुमा पुगेकाे छ । कूल २३१ वटा कम्पनीकाे ५६ लाख ५२ हजार एक सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७ सय ८४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर घटेको छ भने बाँकी २ वटा उपसमूहकाे सेयर बढेकाे छ । अन्य उपसमूह र लाइफ इन्स्याेरेन्स बढेकाे हाे । बुधबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २१ कराेड १४ लाख ६५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । संस्थाकाे सेयरमूल्य ३.४४ प्रतिशतले बढेर एक हजार ३ सय ५५ रूपैयाँ पुगेकाे छ । यस दिन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटाएकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ५.९६ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ७० रूपैयाँ २० पैसामा झरेकाे छ । 

४. राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि खुल्याे, अधिकतम एक हजार कित्तासम्म भर्न पाइने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन ४ गते, बुधबार) बाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा फागुन ८ गतेदेखि ढीलाेमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । संस्थाकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

५. अबदेखि ग्लोबल आइएमई बैंकले पनि लिने भयाे सिआस्वा शुल्क 

अबदेखि ग्लोबल आइएमई बैंक लिमिटेडले पनि सिआस्वा शुल्क लिने भएकाे छ । यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेकाे बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत १५ रूपैयाँ लिने भएकाे हाे । बैंकले फागून ४ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन) मा प्रति आवेदन १५ रूपैयाँ शुल्क निर्धारण गरेकाे हाे ।

६. नेपालमै डिजिटल करेन्सी निकाल्ने तयारीमा राष्ट्र बैंक

निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को सम्भाव्यता अध्ययन गरिरहेको छ, जुन अन्तिम चरणमा पुगिसकेको बताइएको छ । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य लिएको थियो । विश्वभरि नै डिजिटल करेन्सीको प्रयोग तथा सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा राष्ट्र बैंकले यसको अध्ययन अगाडि बढाएको हो ।राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । सोही कार्यदलले यस सम्बन्धमा अध्ययन गरिरहेको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । उक्त अध्ययनको प्रतिवेदन यसै महीना तयार हुने उनको भनाइ छ ।

७. नेप्सेमा स्ट्याण्डर्ड चार्टर्डकाे बाेनस सूचिकृत, थपियाे ८५ लाख ७२ हजार कित्ता सेयर

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २ सय ३० दशमलव ८१ कित्ता सेयर सूचिकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि  ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

८. जाल्पा सामुदायिकको आईपीओबाट बैंकहरूको कमाई ३ करोड बढी, निशुल्क सी-आस्वा दिनेले पनि धमाधम ताेक्न थाले शुल्क

सीआस्वा सेवा बापत बैंकहरूले लिने गरेका शुल्कमा लगानीकर्ताहरूको सधैँभरी गुनासो रहेको छ । लगानीकर्ताहरूले साधारण सेयर (आईपीओ) भर्दा केही बैंकहरूले निशुल्क सेवा दिइरहँदा कतिपय बैंकहरूले भने सी-आस्वाकाे नाममा मनपरी शुल्क लिइरहेका हुन्छन् । अहिले नेपालमा जम्मा ४ वटा वाणिज्य बैंकहरूले  मात्र निशुल्क सी-आस्वा सेवा प्रदान गर्छन् । ती हुन् एनआईसी एशिया बैंक, नबिल बैंक, मेगा बैंक र राष्ट्रिय वाणिज्य बैंक । यसअघि नि:शुल्क सी-आस्वा सेवा प्रदान गर्दै आइरहेका बैंकहरूले पनि अब धमाधम शुल्क ताेक्न थालेका छन् । हालै मात्र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे थियाे ।  बैंकहरूले जाल्पा सामुदायिक लघुवित्तको आईपीओबाट मात्रै ३ कराेड ८० लाख भन्दा धेरै शुल्क बटुलेका छन् । अहिले आवेदन दिने लगानीकर्ताहरुको संख्या बढेसँगै आईपीओ पाउन भाग्य कै भर पर्नुपर्ने अवस्थामा आईपीओ नपरे पनि सी-आस्वा शुल्कमै राम्रो रकम तिर्नुपर्ने अवस्था देखिन्छ । बैंकहरूकाे सी-आस्वा शुल्क तिर्दा तिर्दा आईपीओ नपरेका लगानीकर्ताहरू आजित भइसकेका छन् ।

९. प्राविधिक विश्लेषक सुसिल भट्टराई भन्छन्, "बरु श्रीमतीलाई विश्वास नगर्नुस् तर टेक्निकल इन्डीकेटरमा विश्वास गर्नुहोस्"

गाेल्डम्यान इन्भेष्टमेन्टका जेनेरल म्यानेजर एवमं प्राविधिक विश्लेषक सुसिल भट्टराईले बरु श्रीमतीलाई विश्वास नगरे पनि टेक्निकल इन्डीकेटरमा विश्वास गर्नुपर्ने बताएका छन् । अर्थ संसारकाे कार्यक्रम टेक्नाे गफमा कुराकानी गर्ने क्रममा उनले यस्ताे बताएका हुन् ।

१०. बुधबार एकैदिन १६ सयले घट्याे सुनकाे भाउ, ३५ रुपैयाँले घट्याे चाँदी

बुधबार एकैदिन सुनकाे मूल्य ताेलामा १६ सय रूपैयाँले घटेर प्रतिताेला ९५ हजार एक सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा ३५ रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ८५ रूपैयाँ कायम भएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको