आज (फागुन ६ गते, शुक्रबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।
१. 'सेयर धितोमा ७०% को मार्जिन सीमालाई नचलाउने पक्षमा राष्ट्र बैंक, जोखिम भारमा भने पुनरावलोकन हुनसक्ने'
नेपाल राष्ट्र बैंकले हिजो बिहिबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा प्रकाशित गरेको छ। सो समिक्षा सार्बजनिक भएसँगै समिक्षामा गरिएका व्यवस्थाहरुले सेयर बजारमा कस्तो प्रभाव पर्ला भन्ने कौतुहलता लगानीकर्ताहरुमा रहेको देखिन्छ। विशेषगरी बुँदा नम्बर ७२ को 'बैंक तथा वित्तिय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङ्ग सम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिनेछ' भन्ने व्यवस्थाले लगानीकर्ताहरुलाई अन्यौलमा पारेको देखिन्छ। यो बुँदामा परेको मार्जिन प्रकृतिको कर्जाको जोखिम भार पुनरावलोकन सम्बन्धी व्यवस्था सेयर लगानीकर्ताहरुको सर्वाधिक चासोको विषयवस्तु बनेको छ। हाल बैंक तथा वित्तिय संस्थाहरुले सेयर धितो कर्जा प्रदान गर्दा जोखिमभार स्वरुप १००% छुट्याउनुपर्ने व्यवस्था रहेको छ। यसअघि यस्तो जोखिमभार १५०% थियो। राष्ट्र बैंकले गर्ने पुनरावलोकनमा फेरी त्यो जोखिमभारलाई १००% बाट बढाउने राष्ट्र बैंकको मनसाय देखिन्छ। अर्को पक्ष के छ भने हाल सेयर धितोकर्जामा ७०% को मार्जिन तोकिएको छ। कतिपय लगानीकर्ताहरुमा राष्ट्र बैंकले ७०% को मार्जिन सीमालाई नै चलाउन लागेको त होइन भन्ने त्रास फैलिएको छ। तर राष्ट्र बैंकको मनसाय ७०% को मार्जिन सीमालाई नचलाउने देखिन्छ। स्पष्ट रुपमा यस्तो नै हुन्छ भनेर नभने तापनि मार्जिन सीमालाई नै परिवर्तन गर्ने पक्षमा राष्ट्र बैंक नरहेको कुरा राष्ट्र बैंकस्थित उच्च श्रोतले जनाएको छ।
२. २० प्रतिशत लाभांश पारित गर्न नेशनल लाइफले डाक्याे साधारण सभा, फागुन २२ गते बुकक्लाेज
नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे हिजाे (फागुन ५ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार तेत्तीसाैँ वार्षिक साधारण सभा फागुन २९ गते, आइतबार नेशनल लाइफ भवन, केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १०:३० बजेदेखि अनलाइन मार्फत सुरू हुनेछ । सभामा कम्पनीकाे माघ १२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन २२ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन २१ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
३. अब निफ्राले पनि ऋणपत्र निष्कासन गर्न पाउने
अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्राले पनि ऋणपत्र निष्कासन गर्न पाउने भएकाे छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ काे मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत् पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेकाे छ । याे सँगै नेपालकाे एकमात्र पूर्वाधार विकास बैंक निफ्रालाई ऋणपत्र निष्कासन गर्न बाटाे खुलेकाे हाे ।
४. नवनियुक्त अध्यक्ष रमेश कुमार हमाल भन्छन्, 'बजारको स्थिरता नै मेरो पहिलो प्राथमिकता, राष्ट्र बैंकसँग केही दिनमै छलफलमा बस्दैछौँ '
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले यदि राष्ट्र बैंकको नीतिका कारण सेयर बजार अस्थिर भएको हो भने केही दिनभित्र राष्ट्र बैंकसँग छलफलमा बस्ने बताएका छन्। अर्थसंसारसँग कुरा गर्दै उनले सेयर बजार निकै नै अस्थिर भएको विषयमा आफू निकै चिन्तित रहेको बताउँदै सेयर बजार अर्थतन्त्रको मेरुदण्ड भएको र अस्थिर सेयर बजारले अस्थिर अर्थतन्त्रको चित्रण गर्ने भन्दै सरकार तथा नियामक निकायहरुले यो कुरा राम्ररी बुझ्नुपर्ने पनि बताएका छन।
५. महालक्ष्मी विकास बैंकले डाक्याे स्थगित साधारण सभा
महालक्ष्मी विकास बैंक लिमिटेडले यसअघि स्थगित भएकाे वार्षिक साधारण फेरि बाेलाएकाे छ । अब उक्त साधारण सभा फागुन १३ गते शुक्रबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
६. हिमालयन डिष्टिलरीले पठायाे लाभांश, खाता अद्यावधिक गराउन आग्रह
हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर तथा बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ । कम्पनीले पाैष २८ गते, बुधबार सम्पन्न भएकाे २१औँ वार्षिक साधारण सभाले पारित गरेकाे ७५ प्रतिशत बाेनस सेयर फागुन २ गतेदेखि सेयरधनीहरूकाे हितग्राही खातामा र २५ प्रतिशत नगद लाभांश फागुन ४ गतेदेखि हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरेकाे हाे । कम्पनीले हालसम्म पनि खाता अद्यावधिक नगरेका सेयरधनीहरूलाइ खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । कम्पनीकाे सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
७. ग्रामीण विकास लघुवित्तले डाक्याे साधारण सभा, फागुन १७ गतेदेखि बुकक्लाेज
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे फागुन २ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा फागुन २८ गते, शनिबार, संस्थाकाे केन्द्रिय कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । संस्थाले साधारण सभा प्रयाेजनका लागि फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
८. वर्षदिनमै ७० रुपैयाँ महँगियो खाने तेल
पछिल्लो एक वर्षको अवधिमा बजारमा खाने तेलको मूल्य लिटरमै ७० रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविक रूपमा मूल्य बढाएका हुन् । नेपाल खुद्रा व्यापार संघको तथ्यांकअनुसार गत वर्ष मंसिर महिनामा प्रतिलिटर ३ सय रुपैयाँ रहेको भुटेको तोरीको तेल अहिले बढेर ३ सय ७० रुपैयाँ पुगेको छ । सोही अवधिमा प्रतिलिटर २ सय ७० रुपैयाँ रहेको काँचो तोरीको तेलको मूल्य बढेर ३ सय रुपैयाँ पुगेको छ ।
९. ४ सयले बढ्याे सुनकाे भाउ, १० रूपैयाँले बढ्याे चाँदी
शुक्रबार सुनको मूल्य ताेलामा ४ सय रूपैयाँले बढेर प्रतिताेला ९६ हजार ५ सय रूपैयाँ पुगेकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस