Like us!
Follow us!
Connect us!
Watch us!

९ आर्थिक समाचार एक साथ

अर्थ संसार

विहीबार, १२ फागुन २०७८, ०९ : ०२ मा प्रकाशित

आज (फागुन ११ गते, बुधबार) दिनभरकाे प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. लगानीकाे अवसर : नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ आजदेखि खुल्याे

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन ११ गते, बुधबार) देखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा फागुन १५ गतेदेखि ढीलाेमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

२. नयाँ सारथी लघुवित्तले गर्याे लाभांश घाेषणा, १९ प्रतिशत बोनस दिने

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीको हिजाे (फागुन १० गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३. एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, लगानीकर्तालाई ६ प्रतिशत बोनस

एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

४. दाेहाेराे अंकले घट्याे सेयर बजार, हाइड्राेपावरमा लगानीकर्ताकाे आकर्षण

आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । साेमबार र मंगलबार दाेहाेराे अंकले बढेकाे बजारले आज भने ओरालो यात्रा तय गरेको हो ।घटेकाे बजारमा हाइड्राेपावरप्रति लगानीकर्ताहरूकाे आकर्षण बढेकाे देखिएकाे छ । यस दिन सबैभन्दा धेरै हाइड्राेपावर सूचक बढ्दा सर्वाधिक काराेबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर हाइड्राेपावर कम्पनीहरूले नै अधिकांश हिस्सा ओगटेका छन् । एमसीसी पारित हुने हल्लाले हाइड्रोपावरमा लगानीकर्ताकाे आकर्षण बढेकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेकाे छ । नेप्से ०.५७ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ५१७.९३ विन्दुमा झरेको छ । कूल २२८ वटा कम्पनीकाे ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्यूचूअल फण्ड र हाइड्राेपावर उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । यस दिन पनि नेपाल टेलिकमकाे नै सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे १९ कराेड ३७ लाख ८५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । बुधबार युनाइटेड ईदी-मार्दी हाइड्रोपावर र दिव्यश्वरी हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । युनाइटेड ईदी-मार्दीको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार १० रुपैयाँ १० पैसा र दिव्यश्वरी हाइड्राेपावरकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ५९ रूपैयाँ ७० पैसा पुगेको छ । आज १० प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८४ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ३.९६ प्रतिशतले घटेर ९ सय ५० रूपैयाँ ८० पैसामा झरेकाे छ ।

५. राष्ट्र उत्थान लघुवित्तकाे आईपीओ बिहीबार बाँडफाँड हुँदै, २५ लाख बढीकाे हात खाली हुने निश्चित

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बुधबारबाट फागुन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (फागुन १२ गते, बिहीबार) हुने भएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफाँड भाेलि दिउँसाे ३ बजेपछि क्यापिटलकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा हुने भएकाे छ । संस्थाकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६ सय २६ जना आवेदकले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ३८.४२ गुणा धेरै आवेदन हो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ५५ हजार १ सय ७६ जनाको भने हात खाली हुनेछ ।

६. पाँचथर पावरको लकिङ अवधि सकिँदै, फागुन २३ गतेबाट कारोबार गर्न सकिने

पाँचथर पावर कम्पनी लिमिटेडकाे संस्थापक सेयरको लकिङ अवधि सकिन लागेकाे छ । कम्पनीले संस्थापक सेयरधनीहरूकाे स्वामित्वमा रहेकाे ७७ लाख कित्ता तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा बाँडफाँड भएकाे एक लाख ७४ हजार ७ सय ५० कित्ता र कर्मचारीकाे लागि बाँडफाँड भएकाे ९ हजार ५ सय ९८ कित्ता गरी जिम्मा ७८ लाख ८४ हजार ३ सय ४८ कित्ता सेयर फागुन २३ गतेबाट दाेश्राे बजारमा सर्वसाधारणमा खरिद बिक्रीकाे निमित्त परिणत हुने कम्पनीले एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

७. नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत,थपियाे १९ लाख कित्ता बढी सेयर

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) २ कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ८ लाख ६४ हजार कित्ता र मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे १३.३० प्रतिशत बोनस बापतको १० लाख ६० हजार ५ सय ११ दशमलव ३३ कित्ता सेयर सूचिकृत भएको हो ।

८. एकदिनमा एक अर्बले बढ्याे निक्षेप संकलन, घट्याे सीडी रेसियो

एकदिनकाे अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । फागुन ९ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूकाे निक्षेप एक अर्बले बढेकाे हाे । फागुन ८ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ५७ अर्ब रुपैयाँ पुगेकाे छ । फागुन ८ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । बैंकहरूकाे सीडी रेसियो घटेकाे छ । फागुन ८ गते औषतमा ९०.३४ प्रतिशत रहेको सीडी रेसियो फागुन ९ गतेसम्ममा घटेर ९०.३१ प्रतिशतमा झरेको छ। 

९. ५ सयले घट्याे सुनकाे भाउ, ५ रूपैयाँले घट्याे चाँदी

बुधबार सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले घटेर प्रतिताेला ९६ हजार ५ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय २० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

 आजकाे बुलेटिनकाे अन्त्य प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानाकाे यस भनाइबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको