Like us!
Follow us!
Connect us!
Watch us!

चैत्रमा ब्याजदर नबढ्ने, आफैं पुँजी जुटाएर ठूला परियोजना निर्माण गरौ

अर्थ संसार

शुक्रबार, २७ फागुन २०७८, ०५ : ५८ मा प्रकाशित

आज (बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१. रूस र युक्रेनबीच शान्ति वार्ता हुने संकेतसँगै विश्वभरकै सेयर बजारमा हरियाली, नेपालमा पनि पर्याे प्रभाव

सेयर बजारकाे ओरालो यात्रामा ब्रेक लागेकाे छ । लगातार घटेकाे बजारमा साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) भने सकारात्मक माहाेल देखिएकाे छ । रूस र युक्रेनबीच शान्ति वार्ता हुने संकेतसँगै विश्वभरकै सेयर बजारमा हरियाली देखिँदा नेपालमा पनि यसकाे प्रभाव देखिएकाे हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५२.२१ अंकले बढेर २५६६.७९ विन्दुमा पुगेकाे छ । नेप्से २.०८ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.२४ अंकले बढेर ४९३.४३ विन्दुमा पुगेकाे छ । कूल २२६ वटा कम्पनीकाे ५६ लाख १० हजार ६ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ  । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ । त्यसैगरी, बिहीबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड ६५ लाख २९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्य सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ४१ रूपैयाँ ५० पैसा पुगेकाे छ । यस दिन माउन्टेन इनर्जी कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ३.०८ प्रतिशतले घटेर एक हजार एक सय रूपैयाँ कायम भएकाे छ । 

२. ब्याजदर नबढ्ने वातावरण बनाउन अर्थमन्त्री र गभर्नरबीच छलफल, तयारीमा जुट्यो राष्ट्र बैंक

अर्थमन्त्री जनार्दन शर्माले अब ब्याजदर नबढ्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई दबाब दिएको खुलासा भएको छ। उद्योगी व्यापारीहरु यस्तो चर्को ब्याजमा काम गर्न नसकिने भन्दै अर्थमन्त्रालयमा डेलिगेसनमा गैरहेको र अब व्याजदर बढ्न नदिने प्रतिबद्धता अर्थमन्त्रीले जनाएको एक प्रतिष्ठित उद्योगीले बताए । चुनाव नजिकै रहेको र यतिखेर उद्योगी/व्यापारीहरुको आर्थिक सहयोगको विशेष महत्व रहेको बेला उद्योगी/व्यापारीहरुलाई चिढाउने पक्षमा अर्थमन्त्री नरहेको पनि बुझिन आएको छ।  त्यसैले अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नरसँग चैत्रमा व्याजदर नबढाउन के गर्न सकिन्छ भनेर छलफल गरिसकेको जानकारी राष्ट्र बैंकको उच्च स्रोतबाट प्राप्त भएको छ।

३. राष्ट्र उत्थान लघुवित्तकाे आईपीओ नेप्सेमा सूचिकृत, आइतबारबाट काराेबारमा आउने

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।स्टकका अनुसार कम्पनीकाे २६ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलाे काराेबारका लागि प्रतिकित्ता प्रति सेयर न्युनतम न्युनतम एक सय ६७ रूपैयाँ ४३ पैसादेखि अधिकतम ५ सय २ रुपैयाँ २९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले काराेबारका लागि RULB सिम्बाेल पाएकाे छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बुधबारबाट फागुन ८ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ९४ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए । जसमध्ये, ५ हजार ८ सय ५९ जनाकाे रद्द थिए । २५ लाख ७९ हजार ४ सय २ जना याेग्य थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले १० कित्ता सेयर प्राप्त गरेका थिए । 

४. स्टक स्पिल्ट गर्दै अमेजाेन, १ कित्तालाई २० कित्ता बनाउँदै

अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजाेनले सेयर स्पिल्ट गर्ने भएकाे छ । अमेजाेनकाे हिजाे बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले सेयर स्पिल्ट गर्ने घाेषणा गरेकाे हाे । अमेजाेनले १ कित्ता सेयरलाई २० कित्ता बनाउन लागेकाे हाे । अर्थात् कम्पनीकाे १ कित्ता सेयर भएका सेयरधनीले स्पिल्टपछि २० कित्ता सेयर प्राप्त गर्नेछन् ।  स्टक स्पिल्ट गरेपछि अमेजाेनकाे सेयर संख्या १९ गुणाले बढ्नेछ । अमेजाेनले सेयर स्पिल्ट गर्न लागेकाे याे चाैथाे पटक हाे ।  यसअघि कम्पनीले पहिलो पटक सन् १९९७ मा स्टक स्पिल्ट गरेको थियो । सन् १९९८ मा पनि कम्पनीले एउटा सेयरलाई ३ कित्ता बनाएकाे थियाे । त्यस्तै सन् १९९९ मा पनि कम्पनीले एउटा सेयरलाई दुई कित्ता पारेको थियो ।

५. गरिमा विकास बैंकले डाक्यो साधारण सभा, थप संस्थापक सेयर निष्कासन गर्ने विशेष प्रस्ताव

गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको हिजो (फागुन २५ गते, बुधबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा चैत्र १८ गते, शुक्रबार होटल पोखरा ग्रान्ड, बिरौटा पोखरमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । गरिमा विकास बैंक र साहारा विकास बैंकका बिचमा हालै मात्र मर्जर भएकाले बोनसमा कुनै पनि कर नलाग्ने हुँदा नगद लाभांश नदिएको कम्पनीले जनाएको छ । साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा रहेको व्यवस्था बमोजिम विकास बैंकको चुक्ता पुँजीको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक समूहका शेयरधनीहरुको हुनुपर्नेमा गरिमा विकास बैंक लिमिटेडमा साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति भई शेयर अभिलेखन हुँदा संस्थापक शेयरधनीहरुको स्वामित्व ५१ प्रतिशत कायम नहुने अवस्था सिर्जना भएकोले नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायको स्वीकृति प्राप्त गरी विकास बैंकले प्रस्ताव गरेको बोनश शेयर वितरण पश्चात कायम हुने कूल चुक्ता पुँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी अपुग १०९,८११ कित्ता संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र ४ गतेदेखि चैत्र १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन सक्नेछन् । 

६. चिलिमे जलविद्युतले पठायाे बोनस, सेयर अभौतिकिकरण गराउन आग्रह

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ । कम्पनीकाे पाैष २३ गते सम्पन्न भएकाे पच्चीसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ७.५ प्रतिशत बोनस सेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा फागुन २३ गतेदेखि नै जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । त्यसैगरी, कम्पनीले उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  धिताे राखेकाे सेयरकाे हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter प्राप्त भएपछि मात्र बाेनस पठाइनेछ । कम्पनीकाे सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

७. अर्थमन्त्रीले भने-‘दाता पर्खनुभन्दा आफैं पुँजी जुटाएर ठूला परियोजना निर्माण गरौ’

अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैंले पुँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बुधबार दिउँसो बोर्ड अन्तर्गत अनुगमन तथा सहजीकरण समितिको सातौं बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पुँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने पनि बनाए । ‘बोर्डको कार्य प्रकृति कस्तो छ भने कोही आउला र उसले भने अनुसारको काम गरिदिउँला भनेर पर्खेर बस्ने किसिमको छ । अब सधैं यसरी मात्रै चल्दैन’ उनले भने, ‘लगाानी बोर्ड आफैंले पुँजी निर्माण गरी ठूला परियोजनामा लगानी गर्नेतर्फ ध्यान दिनुपर्छ । बरु यस्तो कोष बनाउने भए हामी  पनि के कस्तो सहयोग गर्न सक्छौं, त्यसमा छलफल गरौंला ।’

८. फुकुवा, बोनस र हकप्रद सेयर खातामा आउने बित्तिकै बिक्री गर्न मिल्ने व्यवस्था हुँदै

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले लगानीकर्ताको सहजताको लागि थप सुविधा दिने भएको छ । सिडिएससीले धितोमा राखेको शेयरलाई धितो फुकुवा भएकै दिन र बोनस तथा हकप्रद शेयर खातामा आउने वित्तिकै विक्री गर्न मिल्ने व्यवस्था गर्न लागेको हो । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यका अनुसार यो सुविधा लगानीकर्तालाई एक दुई महीना भित्रै उपलब्ध गराउने तयारी गरिएको हो। यसका लागि आवश्यक नीतिगत व्यवस्था भईरहेको आचार्यले बताए । हाल धितोमा राखेको शेयर धितो फकुवा भएको भोलिपल्ट मात्रै विक्री गर्न मिल्ने व्यवस्था रहेको छ । हाल सञ्चालनमा रहेको टीएमएसले अघिल्लो दिनको डाटालाई म्याच गर्न सक्ने भएकोले धितो फुकुवा भएकै दिन विक्री गर्न नमिलेको हो । त्यसैगरी हकप्रद शेयर र बोनस शेयर पनि खातामा आएकै दिन विक्री गर्न मिल्दैन । यो व्यवस्था लागू भएसँगै लगानीकर्ताले धितो फुकुवा भएको दिन लगायत हकप्रद शेयर र बोनस शेयर खातामा आएकै दिन विक्री गर्न सक्नेछन्।

९. युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज फागुन २६ गते, बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय, हेरिटेज प्लाजा-२, कमलादी, काठमाडौँमा भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ती गर्ने लगायतका प्रस्तावहरू पारित गरिएकाे छ । 

१०. ३५ सयले घट्याे सुनकाे भाउ, ४५ रूपैयाँले घट्याे चाँदी

बिहीबार सुनकाे मूल्य ताेलामा ३५ सय रूपैयाँले घटेर प्रतिताेला एक लाख २ हजार रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा ४५ रूपैयाँले घटेर प्रतिताेला एक हजार ४ सय ५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको