अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताएका छन् ।
कास्कीको लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहिबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पूँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिए । ‘पूँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेकोमा प्रधानमन्त्रीज्यू र म पनि चिन्तामा छौं’ उनले ने, ‘प्रधानमन्त्रीज्यूले पनि विकासे मन्त्रालयसँग छलफल थाल्नुभएको छ । मैले त बुधबार नै छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रमअनुसार खर्च बढाउन दबाब दिएको छु । फेरी पनि विभिन्न माध्यमबाट ताकेता गरिरहनेछु ।’
उनले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताए । ‘अहिलेको तरलता समाधान गर्न ३० अर्ब रुपैयाँ बजारमा आउनुपर्ने देखिन्छ । केही दिनअघि ११ अर्ब रुपैयाँ त आएको छ तर यो समस्या समाधान गर्नका लागि पर्याप्त छैन’ उनले भने । प्रधानमन्त्री देउवासँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या हल गर्न निरन्तर संवाद अघि बढाएको पनि उनले बताए ।
पूँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हाँसिल नभएको उनले बताए । गत बर्ष पनि पूँजीगत खर्चमा उल्लेख्य प्रगति नभएको स्मरण गराउँदै उनले भने, ‘गत बर्षको माघ मसान्तसम्म १७.८६ प्रतिशत पुँजीगत खर्च भएको थियो । यो बर्ष २५ भदौमा प्रतिस्थापन विद्येयक ल्याई बजेट कार्यान्वयन नै ढिला हँुदा पनि गत बर्षको तुलनामा एक प्रतिशत मात्रै कम अर्थात् १६.०८ प्रतिशत पुँजीगत खर्च भएको छ’ उनले भने ।
केही आयोजनाको काम सम्पन्न भएपनि भुक्तानी गर्न बाँकी रहेकाले पूँजीगत खर्च लक्ष्यअनुसार नदेखिएको उनले बताए । आर्थिक बर्षको अन्त्यसम्ममा ९० प्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएको र त्यसमा आफु आशावादी रहेको उनले बताए ।
निजी क्षेत्रलाई अशिंयार बनाई काम गर्ने
अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई साझेदार नभई अशिंयार बनाई आर्थिक विकासका क्षेत्रमा काम गर्ने बताएका छन् । ‘देशको अर्थतन्त्रमा निजी क्षेत्रको ७२ प्रतिशत योगदान छ । यस्तो योगदान गर्ने क्षेत्रलाई सरकार अशिंयार बनाई काम गर्न चाहन्छ’ उनले भने । उनले पोखरामा कम्तीमा ५ दिनसमम पर्यटकहरु बस्नैपर्ने गरी पूर्वाधार विकास गर्न पनि आग्रह गरे । त्यस्तै पोखरामा आन्तरिक पर्यटक बढी हुने भएकाले देशका अन्य सहरसँग पोखराको दुरी छोटो हुने गरी पूर्वाधार विकास गर्ने योजना बनाइरहेको पनि जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस