Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियाे १५ लाख बढी कित्ता, २ लाख ८७ हजार ५ सय जनालाई १० कित्ता सेयर

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, ०६ : ३९ मा प्रकाशित

आज (चैत्र २० गते, आईतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी २ लाख ८७ हजार ५ सय जनाले पाए १० कित्ता सेयर

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (चैत्र २० गते, आईतबार) सम्पन्न भएको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ८७ हजार ५०० जनाले समान १० कित्ता सेयर प्राप्त गरेका छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कम्पनीकाे आईपीओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट हेर्न सकिनेछ ।

२. दाेहाेराे अंकले घट्याे सेयर बजार : जानकार भन्छन्, "नेप्से बटम नजिक"

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । आइतबार बजार दाेहाेराे अंकले घटेकाे छ । सेयर विश्लेषक एवमं सिए नवराज बुर्लाकोटीले नेप्से बटम नजिक रहेकाे भन्दै यो बेला आत्तिएर सेयर बेच्ने बेला नभई छानी छानी राम्रा कम्पनीहरुको सेयर किन्ने अवसर भएको बताएका छन्  । अर्थ संसारकाे साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै उनले भने, "अहिले बजार धेरै नै घटिसकेको पनि छ मेरो विचारमा त नेप्से बटमको नजिकै छ यस्तो बेला अति आवश्यक बाहेक सेयर बेच्नु राम्रो होईन बरु यस्तो बेलामा त छानी छानी राम्रा कम्पनी थप्ने बेला हो अहिले सेयर किन्ने ट्रेडरको त म भन्न सक्दिन तर अहिले किन्ने इन्भेष्टरले ६ महिनामा कम्तिमा पनि २० प्रतिशत पक्का कमाउँछन् ।" नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा झरेकाे छ । नेप्से १.२१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.४४ अंकले घटेर ४६९.०३ विन्दुमा झरेकाे छ । कूल २२५ वटा कम्पनीकाे ३२ लाख ५३ हजार ८ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४६ करोड ७ लाख ७३ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड समूहबाेहक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । आइतबार सर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ७२ लाख ५१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज पनि  इमर्जिङ नेपाल कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन युनाइटेड इदी मर्दीकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.०२ प्रतिशतले घटेर एक हजार ७६ रूपैयाँ १० पैसामा झरेकाे छ । 

३. एक्सेल डेभलपमेन्ट बैंकले पठायाे बोनस, सेयर अभौतिकीकरण गराउन अनुरोध

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ । बैंककाे असाेज १६ गते सम्पन्न भएकाे पन्ध्राैँ वार्षिक साधारण सभाले पारित गरेकाे १२ प्रतिशत बोनस सेयर बुकक्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म अर्थात् भदाै ३१ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंकले उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  धिताे राखेकाे सेयरकाे हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter प्राप्त भएपछि मात्र बाेनस पठाइनेछ । बैंककाे सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

४. नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, थपियाे १५ लाख बढी कित्ता सेयर 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार रिलायन्स फाइनान्स कम्पनी लिमिटेडकाे १५ प्रतिशत बोनस बापतको १३ लाख ७३ हजार ४ सय ८६ दशमलव ५० कित्ता ​र नेपाल हाइड्राे डेभलाेपर कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे २ लाख ९ हजार ३ सय कित्ता सेयर सूचिकृत भएकाे हाे । 

५. सुरू भयाे वोमी र सुर्योदय  लघुवित्तको एकिकृत कारोबार

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सुर्योदय लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार सुरु भएको छ । सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको संस्थले एक सूचना मार्फत जानकारी दिएकाे छ । मर्जर पश्चात् सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको रजिस्टर्ड (केन्द्रीय कार्यालय) काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १३ साँगामा रहनेछ । यी दुवै लघुवित्तबीच भदौ १५ गते एक आपसमा मर्जर हुने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । मर्जर सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्जमा भदौ १६ गतेबाट वोमी र सूर्योदयको सेयर कारोबार रोक्का छ ।

६. अम्बानीलाई पछि पार्दै फेरी एसियाकै धनी व्यक्ति बने गौतम अडानी

अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हाँसिल गरेका हुन् । ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानीको नेटवर्थ १०० बिलियन डलर पुगेको छ । उता अम्बानीको नेटवर्थ भने ९९ बिलियन डलर रहेको छ । फोब्र्सको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसकेका थिए ।

७. ४ सयले घट्याे सुनकाे भाउ, चाँदीकाे मूल्य स्थिर

आइतबार सुनको मूल्य ताेलामा ४ सय रूपैयाँले घटेर प्रतिताेला ९९ हजार ३ सय रूपैयाँ कायम भएकाे छ । यसदिन चाँदीकाे मूल्य भने स्थिर रही प्रतिताेला एक हजार ३ सय ६० रूपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको