Like us!
Follow us!
Connect us!
Watch us!

इन्स्योरेन्सले लाभांश वितरण नगर्ने, २ अर्बले घट्यो निक्षेप

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, ०६ : ०५ मा प्रकाशित

 आज (साेमबार) दिनभरका प्रमुख  आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. युनाईटेड इन्स्योरेन्सले लाभांश वितरण नगर्ने, सेयरधनीकाे हात खाली

युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको चैत्र २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको पारित गरी बिमा समितिमा पेश गर्ने निर्णय गरेको छ । साथै साेही बैठकमा आर्थिक वर्ष २०७७ ७८ मा कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरिएकाे हाे । कम्पनीले आर्थिक वर्ष २०७२/७३ यता हालसम्म कुनै पनि लाभांश वितरण गरेको छैन । 

२. रोकिएन नेप्सेको ओरालो यात्रा, निरन्तर घट्दै सेयर बजार

सेयर बजारले लगातार ओरालो यात्रा तय गरिरहेकाे छ ।  आज (साेमबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । साेमबार बजार दाेहाेराे अंकले घटेकाे छ । लगातारकाे करेक्सनले लगानीकर्ताकाे मनाेबल पनि घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७.४७ विन्दुमा झरेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.४७ अंकले घटेर ४६६.५५ विन्दुमा झरेकाे छ । कूल २२६ वटा कम्पनीकाे ३४ लाख २९ हजार ९ सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५ सय ६२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । साेमबार इमर्जिङ नेपाल कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ कराेड ३९ लाख १५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन सिटिजन्स म्युचुअल फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ५.६६ प्रतिशतले घटेर १० रूपैयाँमा झरेकाे छ । 

३. २ अर्बले घट्यो निक्षेप, सिडी रेसियो प्रभावित

बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा प्रवाह स्थिर रहेकाे छ । बैंकहरूकाे निक्षेप संकलन घटेपछि त्यसकाे प्रभाव सिडी रेसियाेमा परेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत्र १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र १८ गते बैंकहरूकाे निक्षेप ४९ खर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूकाे कुल निक्षेप २ अर्बले घटेकाे हाे । यस अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि एक अर्बले घटेर ४३ खर्ब २९ अर्बमा झरेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४७ खर्ब एक अर्बमा स्थिर रहेकाे छ । बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.८२ प्रतिशतबाट बढेर ९०.८४ प्रतिशत पुगेकाे राष्ट्र बैंकले जनाएको छ । 

४. भर्खरै आईपीओ ल्याएकाे ग्रीन भेन्चर्सको सेयर रजिष्ट्रार चयन

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले यस कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे । अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत हुनेछ ।

५. गोल्डम्यान इन्भेष्टमेन्टले भन्याे, "कम्पनीप्रतिकाे आराेप कपोकल्पित, कानुनी प्रक्रियाबाट गलत सावित गर्नेछाैँ"

गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले कम्पनीप्रति आएका समाचारबारे बाेल्दै एक प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ । विज्ञप्तिमा भनिएकाे छ, "यस गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनीबारे पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमहरूमा आएका भ्रामक, कपोकल्पित समाचारबारे यस कम्पनीको ध्यानाकर्षण भएको छ, कपोकल्पित समाचारहरु प्रकाशन भएकोप्रति कम्पनी खेद व्यक्त गर्दछ।"कम्पनीविरुद्ध दुषित मनाशय राखेर समाचारहरु प्रकाशन भएकोमा आफ्ना साझेदार, स्टेकहोल्डर तथा सम्पूर्ण नेपालीमा भ्रममा नपर्न विज्ञप्ति मार्फत् कम्पनीले अनुरोध गरेकाे छ । आफूहरू नेपालको कानुनअनुरुप चलिरहेकाले कम्पनीविरुद्ध कुन्ठित मनासय राख्नेहरुविरुद्ध कानुनी प्रक्रियाबाट गलत सावित गर्न विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

६. ६ महिनामै ४३ प्रतिशतले बढ्यो बस भाडा, अब स्वचालित रूपमा भाडा समायोजन

सरकारले विगत ६ महिनाको अवधिमा सार्वजनिक तथा मालवाहक यातायातका साधनको भाडामा ४३ प्रतिशतले वृद्धि गरेको छ । यसरी अस्वाभाविक रूपमा मूल्यवृद्धि भएपछि सर्वसाधारण मारमा परेका छन् । गत असार अन्तिममा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको सरकारले पुनः १५ प्रतिशतसम्म हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । गत असारमा तत्कालीन सरकारले मन्त्रिस्तरीय निर्णय गर्दै २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । करिब ६ महिनाको अन्तरालमा पुनः १५ प्रतिशतले भाडा वृद्धि भएको छ । यातायात व्यवस्था विभागले आइतबारदेखि सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा करिब ६ महिनाको अन्तरालमा दोस्रोपटक बढाएको हो । विभागद्वारा सार्वजनिक गरिएको भाडादरअनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको जनाइएको छ ।सरकारले पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर १५ प्रतिशतले बढाएको छ । संघको निर्णयसँगै छोटो तथा मध्यम दूरीको सवारी साधनको भाडा पनि वृद्धि हुने देखिएको छ । यसअघि, गत २७ असारमा यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा भाडादर समायोजन गर्दै लामो दूरीका सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो ।

७. युनिक नेपाल लघुवित्तले एफपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  संस्थाले चैत्र १७ गते एफपिओ जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो । संस्थाले १०० रुपैयाँको दरले  ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बढीको एफपिओ जारी गर्ने अनुमति मागेको हो । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

८. श्रीलंकामा आर्थिक संकट : केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् । बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् । यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ । खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाकोसमेत अभाव हुन थालेको छ ।  देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ । आर्थिक संकटको विरोधमा सर्वसाधारण नागरिक सडकमा उत्रिएपछि कर्फ्यू लगाइएको छ । 

९. डेप्यु्टी गभर्नर बम बहादुर मिश्र भन्छन्, "जलविद्युत विकासमा राष्ट्र बैंक सधैं सहयोगी"

नेपाल राष्ट्र बैंकका डेप्यु्टी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन राष्ट्र बैंकले सहयोगी भूमिका खेल्ने बताएका छन् । हिमालयन हाईड्रो एक्सपोको दोश्रो दिनको छलफल सत्रलाई सम्बोधन गदै मिश्र सहितका वक्ताहरुले लगानीयोग्य पूँजी अभाव रहेको भनिए पनि जलविद्युत् आयोजनामा लगानी जुटाउन कुनै समस्या नरहेको प्रष्ट पारेका छन् । मिश्रले जलविद्यूत्को विकास तथा प्रवर्दनलाई राष्ट्र बैंकले उच्च महत्व दिँदै आएको उल्लेख गरे ।

१०. ६ सयले घट्याे सुनकाे भाउ, १० रूपैयाँले घट्याे चाँदी

साेमबार सुनकाे मूल्य ताेलामा ६ सय रूपैयाँले घटेर प्रतिताेला ९८ हजार ७ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय ५० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

बुलेटिनकाे अन्त्य अनुभवी एवमं पुराना लगानीकर्ता डमरू बल्लभ घिमिरेकाे यस भनाइबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको