Like us!
Follow us!
Connect us!
Watch us!

९ अर्बले बढ्यो निक्षेप, कर नतिरे बोनस नपाईने

अर्थ संसार

शुक्रबार, २५ चैत्र २०७८, ०६ : ०८ मा प्रकाशित

आज (बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१. लगानीको अवसर : वैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्दै सिवाईसी नेपाल लघुवित्त

सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा वैशाख ६ गते गतेसम्म र ढीलाेमा वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लाेबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

२. १३९.५ अंककाे गिरावटपछि नेप्सेमा हरियाली, परिसूचकसँगै काराेबार रकममा सुधार

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । अघिल्लाे बुधबार बढेर त्यसपछि बजार निरन्तर हिजाेसम्म घटेकाे थियाे । यस अवधिमा नेप्सेमा १३९.५ अंककाे गिरावट देखिएकाे थियाे । आज भने नेप्सेमा हरियाली देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा पुगेकाे छ । नेप्से १.४७ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४६३.७३ विन्दुमा पुगेकाे छ । कूल २२४ वटा कम्पनीकाे ५४ लाख ४४ हजार ७ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २ सय ८० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै अन्य समूह बढेकाे छ । बिहीबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ७ कराेड ३८ लाख ९५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज हिमालयन पावर पार्टनर र नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । त्यसैगरी, यस दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ७.७१ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ५ सय ३२ रूपैयाँमा झरेकाे छ ।

३. डा. विमल प्रसाद कोइराला भन्छन्, ‘संकटले अवसर पनि दिन्छ, अहिलेको परिस्थितिमा घाँटी हेरेर हाड निल्नुपर्छ’

पूर्व मुख्यसचिव डा. विमल प्रसाद कोइरालाले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर नभए श्रीलंकाजस्तो अवस्था आउनसक्ने तर्फ सचेत गराएका छन् । उनले भने,‘अहिले विदेशीमुद्रामा चाप परेको छ । हुन त अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन् । सरकारले चनाखो भएर उपयुक्तकदम चाल्नुपर्छ । सुधार गर्नुको विकल्प छैन् । तर, हामीले होस पुर्याएनौं भने श्रीलंकाजस्तो अवस्था हुनसक्छ।’ अर्थतन्त्रमा खाली राजनीति राजनीति भनेर नहुने पनि उनको धारणा छ । उनले भने,‘अर्थतन्त्रको सुधारको लागि उपयुक्त कदम चाल्नुपर्छ । रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चिती पाउँछौं । वैदेशिक सहायता पनि हो । अर्को, पर्यटन पनि हो । वैदेशिक सहायतामा पनि संकुचन छ । यता तर्फ सरकारले ध्यान दिनुपर्छ ।’

४. नेशनल माईक्रोफाइनान्सको ४० प्रतिशत बोनस हितग्राही खातामा जम्मा, सेयर अभौतिकिकरण गराउन आग्रह

नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीको माघ ६ गते सम्पन्न भएको आठौँ वार्षिक साधारण सभाले पारित गरेको ४० प्रतिशत बोनस सेयर बुकक्लोज हुँदासम्म अर्थात् पुस २६ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । कम्पनीले हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्नका लागि आग्रह गरेको छ । त्यस्तै, सेयर धितो राखेका शेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बोनस वितरण गरिनेछ । कम्पनीको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

५. नेप्सेमा ५ लाख ३४ हजार कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस बापतको ५ लाख ३४ हजार २५ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको हो ।

६. बोनसमा लाग्ने कर तिर्न ग्लोबल आइएमई लघुवित्तको आग्रह, नतिरे बोनस नपाईने

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले​ आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूचना मार्फत जानकारी गराएको छ ।  संस्थाकाे मंसिर २८ गते सम्पन्न भएकाे नवाैँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई २८% बोनस सेयर पारित गरिएको थियाे ।  साविक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई संस्थाले प्राप्ति गरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ भएको मिति २०७८ वैशाख ८ गते पश्चात् सेयर खरिद गरेका सेयरधनीहरुको हकमा सो थप सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ७४ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर बापतको रकम शेयरधनी स्वंयले नै तिर्नुपर्ने साधारण सभाको निर्णय बमोजिम उक्त थप सेयरबाट आर्जित बोनस सेयरमा लाग्ने कर बापतको रकम तिर्न आग्रह गरिएकाे हाे । कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं. नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले अनुराेध गरेकाे छ ।

७. मूलुकमा आकासिँदै महँगी !

कोरोना संकटका कारण थिलथिलो बनेको अर्थतन्त्रको असरले सर्वसाधारण पिल्सँदै गईरहेका छन् । बजारमा देखिएको आर्थिक तरलता संकटको समाधानमा सरकार विफल हुदाँ महँगाई दिन प्रतिदिन बढ्दै गईरहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष ०७७/७८ को ७ महीनाको तथ्यांक अनुसार मुद्रास्फीती ५.९७% रहेको छ, जबकी गत वर्षको सोही अवधीमा मुद्रास्फीती २.७०% थियो । बढदो मुद्रास्फीती र पछिल्लो समय सुरु भएको रुस युक्रेन युद्धको असर उपभोग्य वस्तु तथा सेवामा पर्दा मुल्य अकासीएको छ । लम्बिँदै गईरहेको रुस युक्रेन युद्धका कारणले पेट्रोलियम पर्दाथको मुल्य आकासिँदा यो दर अझै बढ्ने निश्चित जस्तै छ ।

८. नेपाल टेलिकमकाे साधारण सभा सम्पन्न, २० प्रतिशत बाेनस पारित

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) काे १४ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएकाे छ । उक्त सभा त्रिभुवन आर्मि अफिसर्स क्लब काठमाडौँमा सम्पन्न भएकाे हाे । सभाले सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेकाे छ । 

९. ५ सयले बढ्याे सुनकाे भाउ, १० रूपैयाँले बढ्याे चाँदी

बिहीबार सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले बढेर प्रतिताेला ९९ हजार रूपैयाँ कायम भएकाे छ । यसदिन चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ४५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

बुलेटिनकाे अन्त्य बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालकाे यस भनाइबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको