Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नरमाथिको कारबाही गैरकानुनी भन्ने कुरा काङ्ग्रेसले कहिल्यै चेतेन : एमाले

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १३ : ४८ मा प्रकाशित

गभर्नरमाथिको कारबाही गैरकानुनी भन्ने कुरा काङ्ग्रेसले कहिल्यै चेतेन : एमाले

गभर्नर महाप्रसाद अधिकारीमाथि निन्दनीय कारबाही भएकाे एमालेकाे ठहर छ ।

नेकपा एमालेको केन्द्रिय प्रचार विभागले आज (आइतबार) मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा पत्रकार सम्मेलन आयोजना गरेकाे छ । साेही पत्रकार सम्मेलनमा सार्वजनिक गरिएकाे विज्ञप्तिमा गभर्नरमाथिको कारबाही गैरकानुनी भन्ने कुरा काङ्ग्रेसले कहिल्यै नचेतेकाे बताइएकाे छ ।

विज्ञप्तिकाे १२ नम्बरकाे बुँदामा भनिएकाे छ, "गभर्नरमाथि निन्दनीय कार्वाही - गभर्नरमाथिको पूर्वाग्रही कार्वाही गैरकानुनी हुने रहेछ भन्नेमा काँग्रेसले कहिल्यै पनि चेतेन । नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको बेला यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने प्रयास गरेको र केन्द्रीय बैंक नेतृत्वविहीन भएर देशको अर्थतन्त्र संकटमय बनेको इतिहास छ । अहिले त्यसको पुनरावृत्ति गरिएको छ । देश आर्थिक संकटको अवस्थामा रहँदा सरकारले सबै सरोकारवाला निकायसँग समन्वय गरी सहकार्य गर्ने र अर्थतन्त्र जोगाउनेतिर लाग्नुपर्ने थियो । तर, गठबन्धन सरकारले आफनो नालायकीपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको छ । तसर्थ, यो सरकारले प्रायोजित रूपमा गभर्नरमाथि शुरूगरेको कार्वाही आपत्तिजनक मात्र नभई निन्दनीय समेत छ।"

अराजक अर्थमन्त्रीको दवावमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ । " वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ-समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दवावमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कार्वाही गरिएकोमा कुनै शंका छैन । अघिल्लो सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रूपमा दक्ष र इमानदार राष्ट्रसेवकहरू यो सरकारका कोपभाजन भएका दर्जनौ घटनाहरू छन् । गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको छ । यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रूप देखाएको छ ।", विज्ञप्तिमा उल्लेख छ ।

6252915fc2fc9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको