Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट एफएनसीसीआईको ५६ औं वार्षिक साधारण सभा, सभामुखबाट समुदघाटन हुने

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, ०६ : ०४ मा प्रकाशित

आजबाट एफएनसीसीआईको ५६ औं वार्षिक साधारण सभा, सभामुखबाट समुदघाटन हुने

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को ५६ औं वार्षिक साधारण सभा आजबाट काठमाडौंमा शुरु हुंदैछ । वार्षिक साधारण सभाको समुद्घाटनसंगै उद्योग वाणिज्य दिवस २०७८ को पनि समुुद्घाटन हुने छ । 

वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको संघीय संसदका सभामुख सम्माननीय अग्निप्रसाद सापकोटाले चैत्र २८ गते, सोमवार (११ अप्रिल, २०२२) विहान ११ः३० बजे होटल सोल्टी ताहाचलमा एक विशेष समारोहका बीच गर्नुहुने कार्यक्रम छ । 

साधारण सभाको समुद्घाटन समारोहमा माननीय सांसदहरु, माननीय मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरु, नेपाल सरकारका वरिष्ट अधिकारीहरू, नीति निर्माता, अर्थवीद, उद्यमी व्यवसायी लगायत महत्वपूर्ण क्षेत्रबाट सहभागिता रहने छ । 

निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा लिइने महासंघको वार्षिक साधारण सभामा भागलिन मुलुकभरबाट उद्यमी व्यवसायीहरू काठमाडौंमा आएका छन् । वार्षिक साधारण सभामा महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरू, वस्तुुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्यहरू समेत गरी करिव १ हजार ५ सय उद्यमी व्यवसायीको उपस्थिति रहने छ । 

समुदघाटन पश्चात अहिलेका महत्वपूर्ण विषयहरुमा सरकार, नीति निर्माता ,उद्यमी व्यवसायीहरुको सहभागितामा वृहद छलफल गरिने छ । विशेषसत्रमा तरलता एवं वाह्य क्षेत्र व्यवस्थापन, प्रतिस्पर्धी उत्पादनमुलक उद्योग र वैदेशिक लगानीको सम्भावना र चुनौती विषयमा छलफल गरिने छ । 

विक्रम सम्वत २०२२ सालमा स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो स्वर्ण वर्ष मनाई सकेको छ । महासंघको सदस्य पछिल्लो तथ्यांक जिल्ला नगर वाणिज्य संघ ११८, वस्तुुगत संघहरु १२३, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २०, एसोसिएट सदस्य १७४८ रहेको छ ।    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको