Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरका नाममा १४ कम्पनीको सेयर कारोबार रोक्का : लगानीकर्ताको सम्पत्ति बन्धक !

अर्थ संसार

शनिबार, ०७ जेठ २०७९, १३ : २५ मा प्रकाशित

मर्जरका नाममा १४ कम्पनीको सेयर कारोबार रोक्का : लगानीकर्ताको सम्पत्ति बन्धक !

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल विभिन्न १४ वटा कम्पनीकाे सेयर काराेबार मर्जर प्रयाेजनका लागि राेक्का गरिएकाे छ । मर्जर र एक्विजिशनसँग सम्बन्धी व्यवस्थित नीति नभएर वर्षाैँसम्म काराेबार राेक्का राखिँदा लगानीकर्ताहरूले "लंकामा सुन छ कान मेरो बुच्चै" भन्ने उखानकाे चरितार्थ भएको महसुस गर्न थालेका छन् । 

के हाे मर्जर र एक्विजिशन ?

सामान्य भाषामा भन्नुपर्दा दुई वा दुई भन्दा बढी इजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभिई नयाँ संस्था बन्ने कार्यलाई मर्जर भनिन्छ । त्यस्तै, एक्विजिशन अथवा प्राप्ति भन्नाले एउटा इजाजतपत्रप्राप्त संस्थाले अर्को इजाजतपत्रप्राप्त संस्थालाई खरिद प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्य बुझिन्छ ।

कहिलेबाट सुरू भयाे काराेबार राेक्काकाे काननु ?

डाक्टर चिरन्जीवी नेपाल गभर्नर रहेका बखत राष्ट्र बैंकको "बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने  (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३" को संसोधित संस्करण २०७५ मा प्रकाशित भएको थियो। सो विनियमावलीमा मर्जर तथा प्राप्तिमा जाने वित्तिय संस्थाहरुले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेपछि धितोपत्र बजार (नेप्से) मा ती संथाहरुको सेयर कारोबार रोक्का राखिनुपर्ने प्रावधान उल्लेख गरिएको छ।

हाल नेप्सेमा काराेबार राेक्का हुने १४ वटा कम्पनीहरूमध्ये ३ वटा वाणिज्य बैंक, ४ वटा लघुवित्त, ५ वटा इन्स्याेरेन्स र २ वटा हाइड्राे रहेका छन् । 

३ वटा वाणिज्य बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम गत वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे छ । अहिले यी २ बैंककाे मर्जर प्रक्रिया टुटिसकेकाे छ । तर पनि काराेबार भने खुल्ला गरिएकाे छैन । हिमालयन बैंक लिमिटेडकाे पौष ३० गते, शुक्रबार बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा भएकाे उनन्तीसाैँ वार्षिक साधारण सभाले मर्जरकाे विशेष प्रस्ताव अस्विकृत गरेकाे हाे । सभामा शेयरधनीहरूबीच मर्जरका विषयमा विवाद भएपछि मर्जरकाे प्रस्ताव अस्विकृत गरिएकाे थियाे । मर्जर प्रकृया भाँडिएसँगै यी दुई बैंककाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरू निराश बनेका छन् । किनकी यसकाे प्रत्यक्ष घाटा लगानीकर्ताहरूलाई हुनेछ । 

मर्जर तथा एक्विजिसन गर्दा कारोबार रोक्का राख्ने नियम किन बनाईयो ? अहिले कत्तिको सान्दर्भिक ?

त्यसैगरी,नेप्सेमा गत पाैष ३० गते, शुक्रबारबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयर काराेबार राेक्का गरिएकाे छ । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी सम्झाैता भएपछि बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयर काराेबार राेक्का गरिएकाे हाे । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ काे अनुपातमा प्राप्ति गर्न लागेकाे हाे । यसकाे अर्थ नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।

४ वटा लघुवित्त

दाेश्राे बजारमा सूचिकृत लघुवित्तहरूमध्ये यतिबेला ४ वटा लघुवित्तकाे सेयर काराेबार राेक्का छ । समाज लघुवित्त र सिराहाको लहानस्थित स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच २०७७ साल असाेज ५ गते, साेमबार मर्जर सम्बन्धी सम्झाैता भएकाे थियाे । सोही कारण समाज लघुवित्तको सेयर कारोबार दोस्रो बजारमा कारोबारमा नआउँदै रोक्का गरिएको थियाे । अहिले समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच हुने भनिएकाे मर्जर खारेज भइसकेकाे छ । तर पनि काराेबार भने अझै खुलेकाे छैन । बहुमत शेयरधनीहरूबाट मर्जर प्रस्ताव अस्वीकृत भएकाे हुनाले मर्जर खारेज भएकाे थियाे ।

यसैगरी,  धौलागिरी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार पनि नेप्सेमा २०७६ साल पाैष २ गतेबाट राेक्का रहेकाे छ । त्यस्तै, डिप्रोक्स लघुवित्त बित्तिय संस्था लिमिटेडमा बिलय हुन लागेको नाडेप लघुवित्तको सेयर काराेबार पनि दोस्रो बजारमा २०७७ साल पाैष १६ गतेदेखि राेक्का रहेकाे छ । 

यसका साथै, युनिक नेपाल लघुवित्तसँग मर्जरमा जान लागेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर काराेबार २०७७ साल कार्तिक २३ गतेबाट राेक्का छ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १:०.५० काे अनुपातमा मर्ज हुन लागेका हुन् ।

५ वटा इन्स्याेरेन्स

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछि मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम दुवै कम्पनीकाे सेयर काराेबार नेप्सेमा वैशाख २३ गते, शुक्रबारबाट राेक्का राखिएकाे छ । 

सेयर बजारमा इन्स्योरेन्स मर्जर आतंक: लगानीकर्ताको लगानी खोस्टा बन्दै

यता हालसम्मकै बीग इन्स्याेरेन्स मर्जरका लागि सम्झाैता गरेका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफको सेयर काराेबार पनि नेप्सेमा जेठ ३ गते, मंगलबारबाट राेक्का गरिएकाे छ । 

२ वटा हाइड्राेपावर

रैराङ हाइड्रोपावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच एक आपसमा मर्जर गर्ने सम्झौता भएपछि गत कार्तिक २२ गतेबाट दुवै कम्पनीकाे काराेबार राेक्का  छ । रिडी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी एक आपसमा गाभिनका लागि विद्युत नियमन आयोगबाट वैशाख २६ गते स्विकृती प्राप्त भएको छ । अब कम्पनीले छिटै विशेष साधारण सभा आह्वान गरी मर्जरको प्रकृया पुरा गर्ने जानकारी दिएको छ ।

माथि उल्लेख गरिएका १४ वटा कम्पनीहरूकाे सेयर काराेबार राेक्का हुँदा लगानीकर्ताहरूकाे सम्पत्ती बन्धक बनेकाे छ । मर्जर र एक्विजिशन सम्बन्धी व्यवस्थित नीति नहुँदा त्यसकाे प्रत्यक्ष मारमा लगानीकर्ताहरू परेका छन् । 

लगानीकर्ताहरूले समय समयमा विभिन्न माध्यमबाट नीतिसम्बन्धी विराेध गरिरहेका हुन्छन् । तर पनि नियामक भने सधैँझैँ माैन नै देखिन्छन् । मर्जर वा एक्विजिसन कै कारण वर्षौसम्म लगानीकर्ताहरुको पूँजी बन्धक भइरहेकोतर्फ कुनै पनि नियमनकारी निकायको ध्यान गएको देखिँदैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको