Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर तथा एक्विजिसन गर्दा कारोबार रोक्का राख्ने नियम किन बनाईयो ? अहिले कत्तिको सान्दर्भिक ?

बसन्त पाण्डे

मंगलबार, ०३ जेठ २०७९, १९ : ३६ मा प्रकाशित

मर्जर तथा एक्विजिसन गर्दा कारोबार रोक्का राख्ने नियम किन बनाईयो ? अहिले कत्तिको सान्दर्भिक ?

डाक्टर चिरन्जीवी नेपाल गभर्नर रहेका बखत राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने  (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ को संसोधित संस्करण सम्बत २०७५ मा प्रकाशित भएको थियो। सो विनियमावलीमा मर्जर तथा प्राप्तिमा जाने वित्तिय संस्थाहरुले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेपछि धितोपत्र बजार (नेप्से) मा ती संथाहरुको सेयर कारोबार रोक्का राखिनुपर्ने प्रावधान उल्लेख गरिएको छ। सो बखत राष्ट्र बैंकले वित्तिय संस्थाहरुको पुँजी बढाउनुपर्ने सर्कुलर जारी गरेको थियो। समर्थ वित्तिय संस्थाहरुले बोनस सेयर र हकप्रद मार्फत पुँजी बढाए भने धेरै वित्तिय संस्थाहरु मर्जरमा गए। 

त्यतिबेला राष्ट्र बैंकले थोरै समयसिमा दिएर बैंक तथा वित्तिय संस्थाहरुको पुँजी बढाउन निर्देशन दिए जसरी नै अहिले बिमा समितिले बिमा कम्पनीहरुलाई १ बर्षको समयअवधि दिएर हाल कायम गरिएको सिमाको दुई गुणा भन्दा बढी पुँजी वृद्धि गर्न निर्देशन दिएको छ। अधिकांश बिमा कम्पनीहरुको पुँजी बिमा समितिले तोकेभन्दा (जीवन बिमाको ५ अर्ब र निर्जीवनको २.५ अर्ब) भन्दा निकै कम रहेकाले बाध्यकारी मर्जरमा जानुपर्ने अवस्था धेरैको छ। 

केहि दिनअघी मात्रै प्राइम लाईफ, गुराँस लाईफ र युनियन लाईफ इन्स्योरेन्स कम्पनीका संचालकहरुले एक आपसमा गाभिने प्रारम्भिक सम्झौता (एम.वो.यु.) मा हस्ताक्षर गरे। सो सँगै तिनवटै कम्पनीको दोश्रो बजारको सेयर कारोबार रोकियो। यी तिनवटा कम्पनीहरुले एक आपसमा गाभिने सम्झौता गरेसँगै बिमा सेक्टरमा मर्जर आतंक नै फैलिएको छ। अब फटाफट अरु कम्पनीहरु पनि मर्जमा जानसक्ने भन्दै लगानीकर्ताहरुले बिमा सेक्टरका कम्पनीहरुको सेयर सप्लाई बढाउँदा त्यसले समग्र बजारलाई नै प्यानिक बनाएको छ। बजार घट्दो ट्रेन्डमा रहेको र मर्जरमा गएका कम्पनीहरुको कारोबार निकै लामो समयसम्म रोकिने हुँदा अहिले मर्जमा गएका कम्पनीहरुको मर्जरको प्रक्रिया सकाउन धेरै समय लाग्नसक्ने र पछि एउटै कम्पनी बनेर कारोबार खुल्दा बजार निकै तल झरिसकेको पो हुने हो कि भन्ने चिन्ता लगानीकर्ताहरुमा रहेको देखिन्छ। त्यसैले बरु अहिले जति पाइन्छ त्यति पैसा बनाएर बसौं भन्ने मनस्थितिमा धेरै लगानीकर्ताहरु पुगेका छन। 

किन राखिन्छ सेयर कारोबार रोक्का ?

यस विषयमा धितोपत्र बजारको नियामक धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीलाई प्रश्न गर्दा उनले यसको सुरुवात राष्ट्र बैंकले गरेको बताए। पहिले राष्ट्र बैंकले मर्जर तथा एक्विजिसन गर्नुअघि दोश्रो बजारमा कारोबार रोक्नुपर्ने नीति लिएसँगै बिमा समिति, विधुत नियमन आयोग लगायतका नियामकहरुले पनि राष्ट्र बैंककै पोलिसीलाई फलो गर्दा अहिलेको अवस्था आएको उनले बताए। 

खासमा किन यसरी कारोबार रोक्का राख्नुपरेको भनेर हामीले तत्कालिन राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपाललाई सोध्दा उनले कारोबार रोक्का राख्नुको प्रमुख कारण सेयर बजारमा चलखेल नहोस भन्ने नै रहेको बताए। त्यतिबेला सेयर बजारको साईज सानो रहेको र धितोपत्र बजारमा सुचिकृत कम्पनीहरुमध्ये अधिकांश बैंक तथा वित्तिय संस्थाहरु नै रहको कारणले बैंक तथा वित्तिय संस्थाहरुको मर्जरको कुराले धितोपत्र बजारमा ठूलो उतार चढाव आउन सक्ने हुँदा त्यसलाई रोकेर बजारलाई स्टेबल बनाउन त्यस प्रकारको नीति लिईएको उनले बताए। सो बाहेक अर्को कुनै महत्वपूर्ण कारण छ कि भनेर सोध्दा अरु खासै महत्वपूर्ण कारणहरु नरहेको उनले स्पष्ट पारेका छन।  

के कारोबार रोक्का राख्नु साच्चिकै आवश्यक छ ?

यहि प्रश्न हामीले पूर्व गभर्नर गभर्नर डा. नेपाल समक्ष राख्दा जुन बेला यो नीति आयो त्यतिबेला आफूले रोक्का राख्नु आवश्यक ठानेर रोक्काको नीति लिएको भएता पनि अहिलेको बदलिदो सन्दर्भमा कारोबार रोक्का राखिनु आवश्यक नभएको उनले बताए। 'त्यतिबेला बजारको साईज सानो थियो, अहिले बजार निकै ठूलो भईसकेको छ। नीतिहरु समय सान्दर्भिक हुनु पर्दछ। मैले मेरो पालामा बनाएका नियमावलीहरुलाई अहिले पनि लागू गर्नु पर्छ भन्ने छैन।  आवश्यकताअनुसार परिवर्तन गर्नुपर्छ। भैदियो के भने त्यतिबेला राष्ट्र बैंकले जस्तो नीति बनायो त्यसलाई बिमा समितिले हुबहु कपी गर्यो। जुन अनावश्यक थियो। हामीले त्यतिबेला इन्साइडर ट्रेडिङ्ग नहोस, सेयर बजारमा अवाञ्छित खेलहरु नहुन भन्ने हिसाबले एमओयु गरिसकेपछि सेयर कारोबार रोक्का राख्नुपर्छ भन्ने नियम बनाएका हौं। अब धितोपत्र बोर्डलाई अझ धेरै पावर दिएर बजारमा अवान्छित कृयाकलापहरु हुनबाट रोक्नुपर्छ र यो कारोबार रोक्का हुने नियम हटाइनुपर्छ।' उनले भने। 

'अर्को उपाय भनेको मर्जमा जाने संस्थाहरुलाई २/३ महिनाको समय दिएर यति समयभित्र तिमीहरुको काम सक्काओ भनेर म्यान्डेट दिन पनि सकिन्छ। त्यसो हुँदा केहि महिनाको लागि मात्र सेयर कारोबार रोक्का हुन्छ जसले त्यति ठूलो असर पार्दैन। नत्र लामो समय सेयर कारोबार रोक्का हुँदा लगानीकर्ताहरुलाई त त्यसले ठूलो प्रभाव पार्ने नै भयो, नेप्से, धितोपत्र बोर्ड लगायत मुलुककै राजस्व संकलनमा पनि त्यसले ठूलो असर पार्दछ।' डा. नेपाल भन्छन।  

बदलिएला त नियम ?

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार  केहि बर्षअघि यो नियम असान्दर्भिक भएको र यसले लगानीकर्ताहरुको सम्पति लामो समय बन्धक बनेको भन्दै धितोपत्र बोर्डले मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका बनाएर त्यसमा मर्जर तथा प्राप्तिमा गएका संस्थाहरुको पनि कारोबार खुला गर्ने प्रावधान समेटेर राष्ट्र बैंकमा पठाउँदा राष्ट्र बैंकले त्यसलाई अस्विकार गरिदिएको बताउछन। सेयर बजारको नियामक त तपाईंहरु होइन र, राष्ट्र बैंकले लहडमा जे भन्यो त्यहि गर्नुपर्छ र भन्ने हाम्रो प्रश्नको जवाफ दिंदै गिरी भन्छन , 'अहिले यो विषयमा सबैतिरबाट कुरा उठिरहेको छ। अब हामी यस विषयमा ठोस कदम चाल्नेछौं। यसरी लगानीकर्ताहरुको सम्पती बन्धक बनाइनुहुन्न। छिटै नै बोर्डले यो कुरालाई सम्बोधन गर्नेछ।'

तपाईंहरुले बिमा कम्पनीहरुलाई मर्जमा जा त भन्नुभयो तर मर्जमा गएर कारोबार रोक्का हुँदा लगानीकर्ताहरुले भोग्नुपर्ने पिडाको बारेमा चाहिं किन मूल्यांकन नगर्नुभएको भन्ने हाम्रो प्रश्नको जवाफ दिंदै बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल भन्छन, 'भर्खरै तिनवटा कम्पनीहरुको मर्जको कुरा आयो। अब अरु कम्पनीहरुको पनि आउला। यो विषयमा हामी धितोपत्र बोर्डसंग पनि सल्लाह गर्छौँ, यो छिटै समाधान हुनेछ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको