Like us!
Follow us!
Connect us!
Watch us!

बजारले २५०० माथि बेच्ने मौका पटक पटक दिनेछ : केशव कोईराला

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, १७ : ४० मा प्रकाशित

बजारले २५०० माथि बेच्ने मौका पटक पटक दिनेछ : केशव कोईराला

केशब कोईराला (काका) सेयर बजारका अनुभवी लगानीकर्ता हुन्। २०६७ सालमा दोश्रो बजार प्रवेश गरेका कोईरालाले ५५० रुपैयाँमा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड (AHPC) को सेयर खरिद गरेका थिए। उनले किनेपछि बजार घट्दो ट्रेण्डमा गयो। घटेर AHPC २५० भन्दा पनि तल आयो। १० प्रतिशत बोनस खाएर खरिद गरेको २ बर्ष पछि उनले सो सेयर ३५० रुपैयाँमा बिक्रि गरे। बजारमा प्रवेश गरेलगत्तै वियरिस बजार भोगेका कोईरालाले केहि समयअघि हाइड्रो र फाइनान्स सेक्टरका कम्पनीहरु अचाक्ली बढ्दै गर्दा अहिले यी कम्पनीहरु किन्ने समय होईन भनेर बारम्बार सचेत गराउँदै आएका थिए। 

करिब ९ महिनाअघि ३२०० भन्दा माथि पुगेको बजार अहिले २२०० को लाईनमा छ। नेप्सेमा १००० अंक भन्दा धेरैको गिरावट आईसकेको छ। यो अवधिमा धेरैले ५०/६० प्रतिशतभन्दा धेरै गुमाईसकेका छन। अहिलेको बजारको अवस्था कस्तो हो र बजारमा फसेका लगानीकर्ताहरुले अब के गर्ने भन्ने सन्दर्भमा सेयर विश्लेषक केशब कोईरालासँग संक्षिप्त कुराकानी गरेका छौं। 

१) अहिलेको बजारलाई कसरी विश्लेषण गर्नुभएको छ ?

बजार ३२०० नपुग्दै त्यसअघिको हाई ३०६४ को बिन्दुतिर पुग्दै गर्दा मलाई अब बुल सकियो भन्ने लागेको थियो। बजार ३०६४ सम्म पुग्यो र घटेर २७५० सम्म झर्यो। हामीले पोर्टफोलियोको ठूलो हिस्सा ३००० को बिन्दुमै बिक्रि गरेका थियौं। त्यसपछि बजार २७५० बाट बढ्न थालेपछि फेरी खरिद गरियो। यसपटक बजार ३५०० सम्म पुग्ला भन्ने मेरो विश्लेषण थियो। प्राय: सबैजना बजार ५/६ हजारको बिन्दुसम्म पुग्छ भन्दै थिए तर मैले चाहिँ ३५०० को बिन्दु नै यो बुलको पिक पोइन्ट हुनेछ भन्ने अनुमान गरेको थिएँ। यदि राष्ट्र बैंकले ४/१२ को पोलिसी नल्याएको भए सायद बजार ३५/३६ सयको रेञ्जमा पनि पुग्थ्यो होला। तर राष्ट्र बैंकले बजारलाई कस्ने नीति लिएपछि अब चाहिँ बजार खस्छ भन्ने भयो। त्यसपछि बजार ३०५० भन्दा पनि तल तल खस्न थालेपछि अब बजार अझै खस्छ भन्ने भयो। बजार खस्दै खस्दै २२६० को बिन्दुसम्म आईपुग्यो। २२६० बाट बढेर बजार २९८३ सम्म पुग्यो। ३००० भन्दा माथि बजार पुग्ला भन्ने चाहिँ मलाई लागेको थिएन। । 

स्थानीय तहको निर्वाचनको घोषणा भैसकेपछि २ सर्किट जति लाग्ला भन्ने थियो तर चुनाव घोषणा भएको भोलिपल्ट २ घण्टा पनि बजार टिक्न सकेन। त्यसपछि भने अब बजार वियरिस भयो भनेर मैले नजिकका साथीहरुसँग कुरा गरेको थिएँ। पछि एमसीसी अनुमोदन भैसकेपछि हाइड्रो बढ्ला भन्ने थियो तर एमसीसी अनुमोदन भएको भोलिपल्टै हाइड्रोमा सेलिङ्ग आयो। त्यसपछि भने बजार अब कन्फर्म वियरिस भयो भन्ने लाग्यो। त्यतिबेला बजार २७०० को हाराहारीमा थियो।  

तरलता संकट हुनु, ब्याजदर बढ्दै जानु, अर्थतन्त्रका सूचकहरु नकारात्मक हुँदै जानु जस्ता कुराहरुले बजारलाई निकै प्रभावित बनाईरहेका छन्। अहिलेको बजारलाई मैले वियरिस बजारकै रुपमा लिएको छु। बजारमा बीच बीचमा बाउन्सहरु आउनेछन तर बजार तत्कालै २८००/३००० पुग्ला जस्तो मलाई लाग्दैन।  

माथिमाथि सेयर खरिद गरेर होल्ड गरेर बसेका लगानीकर्ताहरु जसले आफू बजारमा फसेको महसुस गरिरहेका छन, उनीहरुलाई के सल्लाह दिन चाहनुहुन्छ ?

बुलिश बजारले सबैलाई न्याय गर्छ तर वियरिस बजार निर्दयी हुन्छ। बुलिश बजारमा सस्तोमा किन्नेले धेरै नाफा खान पाउँछन, माथि किन्नेले अलि कम नाफा खान्छन। घाटामा सेयर बेच्नुपर्ने अवस्था बुलिश बजारमा हुँदैन। तर वियरिस बजारमा त्यस्तो हुँदैन। वियरिस बजारमा अधिकांशले गुमाउछ्न। 

पहिले पहिले बजारमा धेरै लगानीकर्ताहरु सहभागी थिएनन। ठूला लगानीकर्ताहरुको हालीमुहाली थियो। अहिलेको बजारमा धेरै नयाँ लगानीकर्ताहरु छिरेका छन। उनीहरु स्मार्ट पनि छन। प्राय: नयाँ लगानीकर्ताहरु युवा छन र ट्रेडर बनेर छिरेका छन। उनीहरुलाई बरु कम्पनीको ब्यालेन्स सिट हेर्न आउँदैन तर टेक्निकल चार्ट हेर्न सिकेर आएका छन। यसअघिका बुलहरुमा ठूलाले जे भने पनि पत्याउथे। तर अहिलेका टेक्निकल सिकेका ट्रेडरहरुलाई बजारमा छिर्ने र निस्किने बिन्दु थाहा छ। बुल ट्रयाप र बियर ट्रयाप पनि बुझ्न सक्ने क्षमता यिनीहरुसँग छ।यिनीहरुलाई सपोर्ट र रेसिस्टेन्स थाहा छ। यो बुलमा के भैदियो भने ठूला लगानीकर्ताहरु समयमा निस्किन सकेनन। आफ्नो होल्डिङ्ग बेच्न ठूलाले बजार बढाउंदै जान्थे, यी नवप्रवेशी स्मार्ट लगानीकर्ताहरु फ्याट्ट बेचिदिन्थे। ठूला लगानीकर्ताहरुले ५/१०% पनि बेच्न नपाउंदै बजार खसिहाल्थ्यो। 

अहिले पनि ठूला लगानीकर्ताहरुसँग ठूलो होल्डिङ्ग छ। आफ्नो होल्डिङ्ग फाल्नकै लागि भएपनि उनीहरुले बजार पटक पटक २५०० भन्दा माथि लानेछन। अर्थतन्त्रमा अलिकति मात्रै पनि सुधारको संकेत देखियो वा लिक्विडिटि अलिकति मात्रै सहज भयो भने पनि बजार उचाल्ने प्रयास हुने निश्चित छ। यसअघिको डाउन मार्केटमा ठूला लगानीकर्ताहरुले माथि माथि नै बेचिसकेका थिए। त्यसैले लामो समय बजार वियरिस भयो। १८९० बाट झरेर पटक पटक ११०० को बिन्दुमा आउँदा पनि ठूलाले सेयर किनेनन किनकी उनीहरुलाई किन्ने बेला भएको छैन जस्तो लागिरहेको थियो। यो पटक ठूला लगानीकर्ताहरुले माथिल्लो बिन्दुमा सेयर बेच्न सकेका छैनन्। त्यसैले पटक पटक ठूला बाउन्स ब्याकहरु आउनेछ्न।  त्यस्तै अहिले आएका नयाँ लगानीकर्ताहरु निकै सक्रिय स्वभावका छन। यिनीहरुले बजारलाई बढाएर माथि लैजान सक्दैनन् तर बाउन्स ब्याक ल्याउन सक्ने क्षमता यिनीहरुसँग छ। 

माथि किनेर स्टप लस गर्न नसक्नुभएका लगानीकर्ताहरुले अहिले यो बेच्ने बेला होइन। बजारले २५०० भन्दा माथि बेच्ने अवसर पटक पटक दिनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको