Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा साट्न नेपालकाे प्रावधान के छ ?

अर्थ संसार

मंगलबार, १७ जेठ २०७९, १४ : ०३ मा प्रकाशित

विदेशी मुद्रा साट्न नेपालकाे प्रावधान के छ ?

विदेशी मुद्रामा अंकित सिक्काहरु नेपालमा सटही हुन्छन् ?

विदेशी मुद्रामा अंकित सिक्काहरु नेपालमा सटही हुँदैनन् । 

नेपालमा क-कसले विदेशी मुद्रामा खाता खोल्न सक्छन् ?

परिवर्त्य विदेशी मुद्राको आय स्रोत भएका व्यक्ति, फर्म, कम्पनी तथा संघ/संस्थाले नेपालमा परिवर्त्य विदेशी मुद्राको खाता खोल्न सक्छन् ।

नेपालमा रहेका विदेशी नागरिकले विदेशी मुद्रामा खाता खोल्न सक्छन्/सक्दैनन् ?

नेपालमा रहेका विदेशी नागरिकले नेपालस्थित बैंक तथा वित्तीय संस्थामा परिवर्त्य विदेशी मुद्रामा खाता खोल्न सक्छन् । तर यस्तो खाता भिसा अवधिसम्म मात्र सञ्चालन गर्न सकिन्छ ।

विदेशमा रहेका नेपाली नागरिकले कुन-कुन अवस्थामा विदेशमा बैंक खाता खोल्न सक्छन् ?

विदेशमा रहेका नेपाली नागरिकले विदेशमा रहँदा बस्दाको अवधिसम्म आर्जन गरेको विदेशी विनिमय वा सो विदेशी विनिमयको लगानीबाट आर्जित विदेशी मुद्राबाट विदेशमा बैंक खाता खोल्न सक्छन् । तर नेपालमा फर्किसकेपछि ३५ दिनभित्र सो खाता तथा विदेशमा रहँदा गरिएको खाताका सम्बन्धमा नेपाल राष्ट्र बैंकमा लिखित जानकारी दिनुपर्छ ।

नेपालमा कुन-कुन दरका भारतीय मुद्रा ल्याउन, लैजान र सटही गर्न सकिन्छ ?

नेपालमा भारतीय रुपैयाँ १०० वा सोभन्दा सानादरका मुद्रा मात्र ल्याउन, लैजान तथा सटही गर्न पाइन्छ ।

नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा लैजान वा नेपालमा आउँदा ल्याउन पाउने नगद परिवर्त्य विदेशी मुद्राको सीमा कति रहेको छ ?

नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा वा नेपालमा आउँदा नगद अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा लैजान वा ल्याउन सक्छन् । सो भन्दा बढी नगद परिवर्त्य विदेशी मुद्रा नेपाल भित्र्याउनु परेको अवस्थामा भन्सार कार्यालयमा स्वघोषणा (Declaration) गरेर मात्र भित्र्याउनु पर्छ । 

नेपाली नागरिकले स्रोत खुलेको आधारमा आफैसँग कतिसम्म नगद परिवर्त्य विदेशी मुद्रा राख्न सक्दछन् ?

नेपाली नागरिकले स्रोत खुलेको आधारमा आफैसँग अधिकतम अमेरिकी डलर १,५०० वा सो बराबरको नगद परिवर्त्य विदेशी मुद्रा राख्न सक्दछन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको शिक्षण शुल्क/निर्वाह खर्च बापत रकम पठाउन के कस्तो प्रावधान छ ?

शिक्षा मन्त्रालयको No Objection Certificate (NOC), सम्बन्धित शैक्षिक संस्थाको पत्र, Brochure, Invoice, I-20 वा सम्बन्धित संस्थाले जारी गरेको कागजातमा तोके बमोजिमको शिक्षण शुल्क तथा निर्वाह खर्च पठाउन सकिने प्रावधान रहेको छ । उपर्युक्त कागजातहरुमा निर्वाह खर्च नतोकिएको अवस्थामा नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिमको रकम पठाउन सकिने प्रावधान छ ।

नेपालका बैंक/वित्तीय संस्थाबाट जारी भएका कार्डबाट भारतमा के कति नगद रकम झिक्न सकिन्छ ?

नेपालका बैंक तथा वित्तीय संस्थाबाट जारी कार्ड (डेबिट/क्रेडिट/प्रिपेड/एटिएम) बाट भारतमा एक दिनमा बढीमा भा.रु. १५ हजारसम्म तथा एक महिनामा भा.रु. १ लाखसम्म नगद झिक्न सकिन्छ । तर होटल, अस्पताल तथा औषधी पसलमा गरिने भुक्तानीका हकमा यो सीमा लागु हुँदैन ।

आप्रवासन भिसा (Immigrant Visa) मा विदेश जाने नेपाली नागरिकले Settlement खर्च बापत के कति सटही सुविधा प्राप्त गर्ने व्यवस्था रहेको छ ?

आप्रवासन भिसा (Immigrant Visa) मा विदेश जाने नेपाली नागरिकले Settlement खर्च बापत पहिलो पटकको लागि मात्र प्रति व्यक्ति बढीमा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्ने व्यवस्था रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको