Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुन: बैंकमै फर्किंदै, २ सातामा १३ अर्ब रुपैयाँ निक्षेप

पत्रपत्रिका

बुधबार, १८ जेठ २०७९, ०५ : ५४ मा प्रकाशित

बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुन: बैंकमै फर्किंदै, २ सातामा १३ अर्ब रुपैयाँ निक्षेप

स्थानीय चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुन: बैंकमै फर्किन थालेको छ । नेपाल बैकर्स संघको तथ्यांकअनुसार वैशाखभर वाणिज्य बैंकहरूबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । चुनावपछिका २ सातामा बैंकहरूमा १३ अर्ब रुपैयाँ निक्षेप फर्किएको छ ।

संघका अनुसार चैत अन्तिममा वाणिज्य बैंकहरूमा कुल ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख ३० गतेसम्ममा घटेर ४३ खर्ब ७० अर्ब कायम भएको थियो । जेठ १३ गतेसम्ममा बढेर ४३ खर्ब ८३ अर्ब पुगेको छ । जेठ पहिलो साता ७ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ ।

स्थानीय तहको चुनावका लागि बैंकबाट बाहिरिएको निक्षेप पुन: बैंकिङ प्रणालीमै फर्किन थालेको संघले जनाएको छ । बैंकहरूमा स्वदेशी मुद्राको निक्षेप वृद्धि भए पनि विदेशी मुद्रामा रहेको निक्षेप भने स्थिर देखिएको छ ।

बैंकमा स्वदेशी मुद्राको निक्षेप ४२ खर्ब ६० अर्ब रुपैयाँबाट वृद्धि भई ४२ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । विदेशी मुद्राको निक्षेप भने १ खर्ब १० अर्ब रुपैयाँ बराबर छ ।

निक्षेप वृद्धिसँगै बैंकहरूको कर्जा प्रवाह पनि बढेको छ । जेठको २ साता बैंकहरूको कर्जा ७ अर्ब रुपैयाँले विस्तार भएको छ । वैशाखभरमा ६ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको बैंकहरूको कुल कर्जा जेठ १३ गतेसम्ममा बढेर ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको संघले जानकारी दिएको छ ।

तरलता अभावसँगै बैंकहरूको सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएपछि बैंकहरूले पछिल्लो समय कर्जा विस्तार गर्न सकेका छैनन् । बैंकहरूले नयाँ कर्जा स्वीकृत नगरे पनि पहिल्यै स्वीकृत गरेको ससानो आकारको कर्जा मात्र प्रवाह गर्दै आएका छन् ।

निक्षेप वृद्धिपछि बैंकहरूको सीडी रेसियोमा पनि सुधार आएको छ । संघका अनुसार जेठ १३ गते वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ९० दशमलव ४१ प्रतिशत रहेको छ । जेठ ६ गते यो अनुपात ९० दशमलव ६० प्रतिशत थियो । बैंकहरूले असार मसान्तभित्र सीडी रेसिया ९० प्रतिशतभन्दा कममा झार्नुपर्ने व्यवस्था छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको