Like us!
Follow us!
Connect us!
Watch us!

कार्यान्वयन समितिको पहिलो बैठक : एओएन सुविधा खारेज, ब्रोकरको शाखा विस्तारमा जोड

अर्थ संसार

आइतबार, १२ असार २०७९, १६ : ३८ मा प्रकाशित

कार्यान्वयन समितिको पहिलो बैठक : एओएन सुविधा खारेज, ब्रोकरको शाखा विस्तारमा जोड

सेयर लगानीकर्ताहरूको १९ बुँदे माग कार्यान्वयन गर्न गठन गरिएको समितिको पहिलो बैठक आज सम्पन्न भएको छ । 

बैठकमा अनसनको उच्च मुल्याङ्कन गर्दै तिलक कोइरालाकाे स्वास्थ्य लाभकाे कामना गरिएकाे छ । यस्तै, बैठकमा सेबोनलाई पनि धन्यवाद ज्ञापन गरिएकाे छ । 

यसैगरी, बैठकमा २ वटा मुख्य निर्णय भएको छ । एउटा निर्णय भनेको बिक्री आदेशमा एओएन सुविधा खारेज गरिने भएको छ । यसका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार पनि गरिसकिएकाे छ । सम्भवत भाेलिदेखि नै याे सुविधा खारेज गरिने बैठकमा उपस्थित शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले अर्थ संसारलाई बताए ।

ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन अल अर नन् अर्थात् कि सबै देउ या एउटै नदेउ फिचर हटाइने भएको हो । यो फिचर खरिद तर्फको पहिल्यै हटिसकेको थियो । अब बिक्री आदेशमा पनि एओएन सुविधा हटाइने भएको हो । एओएन फिचरले बजारमा चलखेल हुने भन्दै यो सुविधा हटाइने भएको हो । 

यस्तै, बैठकमा ब्रोकर कम्पनीहरूको शाखा विस्तारमा जोड दिइने निर्णय भएको छ । ७७ वटै जिल्लामा ब्रोकरको शाखा विस्तार गर्ने र अहिले आवेदन दिएकाहरूलाई स्विकृती दिइने निर्णय भएकाे पूँजी बजार सुधार संघर्ष समितिका तर्फबाट बैठकमा उपस्थित रोहन कार्कीले जानकारी दिएका छन् ।

अब यस समितिको अर्को बैठक अर्को साताको आइतबार बस्नेछ । अर्को बैठकमा १९ बुँदे मागलाई सम्बोधन गर्न विशेष अध्ययन गरेर आउने निर्णय भएको कार्कीले बताए ।

नियामक निकाय नेपाल धितोपत्र बार्डमा सम्पन्न भएको आजको बैठकमा बोर्डको तर्फबाट कार्यवाहक कार्यकारी निर्देशक मुक्ति नाथ श्रेष्ठ र विनय देव आचार्य, पूँजी बजार सुधार संघर्ष समितिका तर्फबाट रोहन कार्की र एसपी चौलागाँई, नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजीबजार लगानीकर्ता संघको तर्फबाट प्रतिनिधित्व गर्दै कुमार थापा लगायतको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको