Like us!
Follow us!
Connect us!
Watch us!

बजार घटाउनमा बैंकरहरुले पनि भुमिका खेले, म्युचअल फण्डहरुको आईपिओ कोटा खारेज गर्नुपर्छ

अमिर तिमिल्सेना

अर्थ संसार

विहीबार, १६ असार २०७९, १७ : २८ मा प्रकाशित

बजार घटाउनमा बैंकरहरुले पनि भुमिका खेले, म्युचअल फण्डहरुको आईपिओ कोटा खारेज गर्नुपर्छ

सेयर बजारमा रिस्क हुन्छ त्यो सबैले बुझेकै कुरा हो। बजार घटेपछि बढ्छ, बढेपछि घट्छ, यो सेयर बजारको सामान्य नियम हो । तर यति छिटो बजार यति धेरै अङ्कले घट्नुमा चाहिँ राष्ट्र बैंकका केहि पोलिसीहरुले ठूलो भूमिका खेलेको देखिन्छ । सेयर धितोकर्जामा ४/१२ करोडको सिमाको नीति, जोखिम भार १००% बाट १५०% पुर्याउने, बैंक वित्तिय संस्थाहरुलाई सेयर कारोबारमा रोक लगाउने जस्ता नीतिहरुले सेयर बजारलाई प्यानिक बनाउन उल्लेख्य भूमिका खेले । राष्ट्र बैंकजस्तो संस्थाका गभर्नरले सार्वजनिक कार्यक्रमहरुमा मुलुक श्रीलंकाजस्तो हुन लाग्यो, ब्याजडर बढ्छ भन्ने जस्ता अभिव्यक्तिहरु दिन सुहाउछ ? 

अर्को कुरा के हो भने ठूला लगानीकर्ताहरुले बैंकबाट सेयर लोन लिँदा प्रोमोटर सेयर धितो राखेर लोन लिएका हुन्छन । उनीहरुलाई मार्जिन कल नै आउँदैन । मार्जिन कल आउने र मार्जिन कलले सताउने भनेको साना लगानीकर्ताहरुलाई नै हो।  पछिल्लो समय बैंकका साथीहरुले मार्जिन कल गर्नुपर्ने ग्राहकहरुको संख्या ठूलो देखेपछि धेरैजनालाई बैंकबाट मार्जिन कल जाँदै छ, त्यसले ठूलो सेलिङ्ग प्रेसर आउँछ र त्यो सेलिङ्ग प्रेसरले बजारलाई १५/१६०० कै लेभलमा ल्याउँछ भने किसिमको सूचना आफ्ना नजिकका साथीहरुलाई प्रवाह गर्नुभयो। त्यसले पनि बजारमा एक किसिमको प्यानिक क्रियट गर्यो । 

बैंकहरु पनि यो बिचमा लगानीकर्ताहरुप्रति निकै असहिष्णु रुपमा प्रस्तुत भए । ८/१० महिनाअघि घर घरमै, अफिस/अफिसमै आएर 'यति करोड ऋण लिईदिनुपर्यो हजुर' भन्ने बैंकरहरुले लोन रिन्यु गरिदिने त कता हो कता बरु ऋण भुक्तानी गर्ने समय बाँकी हुँदाहुँदै पनि तत्काल कर्जा भुक्तानी गर भनेर दवाव दिए । कतिपय बैंकहरुले पर्याप्त पूँजीकोष समेत नराखी जथाभावी ऋण प्रवाह गरेको हुँदा लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाईसकेपछि सेयर धितोकर्जा लिएका ग्राहकहरुलाई ऋण चुक्ता गरिहाल्नु भन्दै दवाव दिए र त्यसले पनि केहि सेलिङ्ग प्रेसर आयो ।  

४/१२ को नितीले साना लगानीकर्ताहरुलाई ऋण लिन उक्सायो । सानो पुँजी भएका लगानीकर्ताहरुले पनि सेयर धितो कर्जा लिए । बजार १९०० बाट तलतिर लाग्दै गर्दा मार्जिन कल आउन थालेपछि ति साना लगानीकर्ताहरुले वाध्यताले सेयर बिक्रि गरेर लोन सेटल गर्नुपर्ने अवस्था आयो । अनि ति साना लगानीकर्ताहरुले आफ्नो आधा सम्पती डुबाएर बिक्रि गरेको सेयर ठूला लगानीकर्ताहरुले निकै सस्तोमा उठाए ।  

धेरै नेताहरु सेयर बजार जुवाघर हो, अनुत्पादक क्षेत्र हो भन्ने अभिव्यक्ति दिनुहुन्छ । सेयर बजारले धेरैलाई प्रत्यक्ष रोजगारी दिएको छ । प्रोजेक्टहरु संचालन गर्न पुँजी जुटाईदिएको छ । त्यसैले हावाको तालमा बुझ्दै नबुझी सेयर बजारको बारेमा अभिव्यक्ति नदिनुहोला भनेर म नेताज्यूहरुलाई सचेत गराउन चाहन्छु ।  

कतिपय टेक्निकल एनालिस्ट साथीहरुले पनि बजार अझै घट्छ, १७५० को लेभलसम्म आउँछ भनेर सामाजिक संजालमा पोस्ट गरे । बजार प्यानिक भईरहेको अवस्थामा यस्ता पोस्टहरु गर्नु आवश्यक थियो र ? यसरी त आफ्नो स्वार्थ पूरा गर्नतिर लागेको जस्तो देखिएन र ? यदि बजार अब तल खसेन र १८०७ नै बटम बिन्दु भैदियो भने त्यसको जिम्मेवारी कसले लिने ? लगानीकर्ताहरुलाई क्षतिपुर्ती कसले दिने ? 

यी निकम्मा म्युच्युअल फण्डहरुलाई आईपीओमा आरक्षण, आयकरमा छुट दिने जस्ता कार्यहरु गर्न आवश्यक नै रहेन । आफ्नो ६०% भन्दा बढी क्यास यिनीहरुले फिक्स्ड डिपोजिटमा राखेका छन् । बजार घटेर तल्लो बिन्दुमा आउँदै गर्दा सबै म्युचुअल फन्डहरुले सेयर किनिदिएको भए बजार यति धेरै तल खस्ने नै थिएन । म्युचुअल फन्डलाई आरक्षण दिनुभन्दा बरु विदेशमा पसिना बगाएर रेमिट्यान्स पठाउने नेपालीहरुलाई आइपिओमा आरक्षण दिनु उचित हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको