Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबारको कारोबार : नेप्सेले सिमित समूहको स्वार्थमा निर्णय गर्यो

कृष्ण भट्टराई

शुक्रबार, २४ असार २०७९, १२ : १६ मा प्रकाशित

शुक्रबारको कारोबार : नेप्सेले सिमित समूहको स्वार्थमा निर्णय गर्यो

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले शुक्रबार पनि १ बजेसम्मका लागि सेयर कारोबार खुलाउने निर्णय गरेदेखि नै विभिन्न माध्यमबाट लगानीकर्ताहरुले यसको चर्को विरोध गर्दै आइरहेका छन् । बजार नेगेटिभ भएको समयमा अझै बजार शुक्रबार पनि खुलाउने नेप्सेको निर्णय सही नभएको तर्क लगानीकर्ताहरुको छ । 

विगतमा नेपाल सरकारले जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आईतबारदेखि शुक्रबारसम्म सेयरको दोस्रो बजार कारोबार खुलाउने निर्णय गरेको थियो तर सरकारले पूनः असार १ गतेदेखि लागु हुने गरी आईतबारका लागि दिएको सार्वजनिक बिदा कटौती गर्यो त्यसपछि नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समिती बैठकले असार १ गतेदेखि धितोपत्रको दोस्रो बजार आइतबारदेखि बिहिबारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रबार ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । 

नेप्सेको उक्त निर्णयमा अधिकांश लगानीकर्ताहरुले विभिन्न माध्यामबाट आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् । यसै सन्दर्भमा हामीले बजारका केही अग्रज लगानीकर्ताहरूसँग अभिव्यक्ति लिएका छाैँ । 

नेप्सेको ६ दिन नै कारोबार खोल्ने निर्णय गलत र अव्यवहारिक भएको बताउँछन् नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार ।   

‘यो शुक्रबार कारोबार खुलाउने नेप्सेको निर्णय खारेज नै हुनुपर्छ भन्ने हाम्रो माग हो । सातामा ५ कारोबार दिन एकदमै बैज्ञानिक र सहि थियो विश्वका बजारहरुमा हेर्यो भनेपनि सबै ठाउँमा सातामा ५ दिन मात्र सेयर कारोबार हुने गरेको पाउँछौ, नेप्सेले खै किन के आधारमा ६ दिन कारोबार खोल्ने निर्णय गर्यो’ रौनियारले भने । 

‘यो कुरामा अब नेपाल धितोपत्र बोर्डले पनि चासो लिएर सम्बोधन गर्नुपर्छ मलाई त यो कसैको स्वार्थमा आएको निर्णय हो कि जस्तो पनि लाग्छ’ उनले भने ‘शुक्रबार लगानीकर्ताहरुलाई बजारका बारेमा अध्ययन गर्ने लगानीको रणनिती बनाउने समय पनि थियो अब त्यहि दिनमा फेरी त्यो अधुरो अपुरो गरी कारोबार खोल्नु त्यति बैज्ञानिक जस्तो देखिदैन यसमा तुरुन्तै पुर्नविचार गरियोस् ।’

अहिलेको सिनारियाेमा दुई घण्टाका लागि शुक्रबार पनि सेयर कारोबार खुलाउने नेप्सेको निर्णय सही नभएको बताउँछिन् नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल । ‘शुक्रबार दुई घण्टाका लागि कारोबार खुलाउने निर्णयले लगानीकर्ताहरुलाई पक्कै पनि फाइदा गर्दैन’ उनले भनिन् ‘मलाई त यो कसैको सिमित स्वार्थपूर्तिका लागि गरिएको निर्णय जस्तो लाग्छ, यो निर्णय पुनरावलोकन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

त्यस्तै, सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेल पनि शुक्रबारको कारोबार खुलाउने निर्णय उचित नभएको बताउँछन् । ‘सातामा अरु ५ दिन लगानीकर्ताहरु पुर्ण रुपमा कारोबार गरिरहेका हुन्छन् कतिपय अफिसियल कामहरु समेत शुक्रबार नै सक्नुपर्ने हुन्छ त्यसैले पनि अहिलेका लागि शुक्रबार कारोबार खुलाउने निर्णय उचित छैन’ उनले भने ‘भोलि भविष्यमा बजार फुल्ली अटोमेटेड भयो भने त सातै दिन कारोबार खुल्दा समेत केही फरक नपर्ला तर अहिलेको अवस्थामा यो निर्णय लगानीकर्तामैत्री छैैन ।’

स्वतन्त्र पूँजी बजार संघका अध्यक्ष रोहन कार्की पनि नेप्सेको शुक्रबार दुई घण्टालाई कारोबार खोल्ने निर्णय सही नभएको बताउँछन् । ‘विश्वमा सातामा ६ दिननै कारोबार खुलाउने प्रणाली कहीँ पनि छैन सातामा ५ दिनको सेयर कारोबारलाई नै राम्रो मानिन्छ हाम्रो अझै शुक्रबार हाफ डे कारोबार खोलिएको छ जुन कुनै पनि दृष्टिकोणबाट सही छैन’ उनले भने ‘यो त घट्दो बजारलाई झनै घटाउने उद्देश्यले आएको जस्तो देखियो नियामक निकायले आफूले गर्नैपर्ने काम छोडेर लगानीकर्ताहरुले माग नै नगरेको काम गरेको छ अब यसलाई स्थगित गर्नुपर्छ भन्ने मेरो पनि माग हो ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको