Like us!
Follow us!
Connect us!
Watch us!

बजार घटाउने बहाना बन्यो एनटीसीको बोनस

बसन्त पाण्डे

मंगलबार, २४ साउन २०७९, १७ : ५५ मा प्रकाशित

बजार घटाउने बहाना बन्यो एनटीसीको बोनस

नेपाल टेलिकमले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट घोषणा गरेको  २०% बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ। आज नेप्सेमा टेलिकमको ३ करोड कित्ता सेयर सुचिकृत भएको हो। उक्त बोनस सेयर लगानीकर्ताहरुको डिम्याट खातामा आईसकेपछि बिक्रि गर्न सकिनेछ। 

२०% बोनस सेयर घोषणा गर्नुअघि टेलिकमको १५ करोड कित्ता सेयर सुचिकृत थियो। बोनस सेयर सुचिकृत भैसकेपछि टेलिकमको जम्मा सुचिकृत सेयर १८ करोड कित्ता पुग्नेछ। 

नेपाल टेलिकमको ९१.५०% सेयर स्वामित्व नेपाल सरकारको नाममा रहेको छ। पब्लिक सेयर ८.४७% रहेको छ भने नागरिक लगानी कोषको           ०.०३% स्वामित्व रहेको छ। अहिले सुचिकृत हुनलागेको ३ करोड कित्ता सेयरमध्ये २ करोड ७४ लाख कित्ता सेयर नेपाल सरकारको नाममा जानेछ भने २५ लाख ४१ हजार कित्ता सेयर सर्वसाधारण सेयरहोल्डरहरुको खातामा जानेछ। 
ठूलो अंकको बोनस सेयर घोषणा हुने हल्लाले २०२१ को अक्टोबरदेखि नै टेलिकमको सेयर मूल्य बढ्न थालेको थियो। २० अक्टोबर २०२१ मा ९७० को आसपास रहेको टेलिकमको सेयरमूल्य २२ फेब्रुअरी २०२२ मा १८०० भन्दा माथि पुगेको थियो। बजार त्यतिबेला डाउन ट्रेन्डमा भएतापनि टेलिकमको सेयर भने करिब ४ महिनाकै अवाधिमा दोब्बरले बढेको थियो। बोनस घोषणा भएदेखि नै टेलिकमको सेयर मूल्य घट्न थालेको थियो। बोनस एडजस्टमेन्ट अघि १४६० को आसपास रहेको एनटीसीको सेयरमूल्य बोनस एडजस्टमेन्ट पछि घटेर ८३० सम्म पनि झरेको थियो। आज मंगलबार नेपाल टेलिकमको सेयरमूल्यमा ५.९१% को गिरावट आउँदै ८८८ रुपैयाँमा क्लोज भएको छ।  

नेपाल टेलिकमको सेयरलाई बजार झार्न र उचाल्न प्रयोग गरिने गरेको पाईएको छ। नेप्सेमा सुचिकृत कम्पनीहरुको सूचीमा ठूलो पुँजीकरण भएका कम्पनीहरु मध्येको एक एनटीसीमा आउने सानो उतार चढावले पनि नेप्से परिसूचकमा ठूलै हलचल ल्याउने गर्दछ। त्यसैले बजार घटाउनु पर्यो भने एनटीसी घटाएर म्याचिङ्ग गर्ने र बढाउनु परे एनटीसी बढाएर म्याचिङ्ग गर्ने गरेको देखिएको छ।   

ईतिहासमै पहिलोपटक बोनस सेयर घोषणा गरेको नेपाल टेलिकमको सेयरमूल्य निकै माथि जाने विश्लेषण गर्दै एउटै ब्रोकरबाट निकै ठूलो कित्ता खरिद भएको थियो। १५०० माथि माथि नै ठूलो कित्ता सेयर खरिद गरेको सो ब्रोकरसँग अहिले पनि निकै ठूलो परिमाणमा नेपाल टेलिकमको सेयर होल्डमै रहेको देखिन्छ।   

आज मंगलबार पनि बजार ४३ अंकले घट्नुमा नेपाल टेलिकमको सेयरमूल्यमा आएको ५४ अंकको गिरावटले ठूलो भूमिका खेलेको छ। नेप्सेमा एनटीसीको सेयर सुचिकृत हुने खबरले सेयर डिम्याट खातामा आईसकेपछि सेलिङ्ग प्रेसर आउने र त्यसले नेपाल टेलिकमको सेयरमूल्य थप घटाउने; एनटीसीको सेयरमूल्य घट्दा समग्र नेप्से परिसूचक नै घट्ने अनुमानसहित लगानीकर्ताहरुले बिक्रि चाप बढाउँदा आज बजार घटेको विश्लेषण जानकारहरुले गरेका छन्।  

सुचिकृत हुने ३ करोड बोनससेयर मध्येको २ करोड ७४ लाख ५० हजार कित्ता सेयर सरकारको खातामा जानेछ जुन बिक्रिमा आउँदैन। नागरिक लगानी कोषको नाममा जाने सेयर पनि बिक्रीमा नआउने सम्भावना नै बढी छ। पब्लिक सेयरहोल्डरको डिम्याट खातामा आउने २५ लाख ४१ हजारमध्येको पनि धेरै कित्ता सेयर बिक्रीमा नआउने सम्भावना नै धेरै छ किनभने बोनस एडजस्ट हुनुअघि देखि नै ठूलो कित्ता होल्ड गरेर बसेका लगानीकर्ताहरुले निकै घटेको अहिलेको मूल्यमा बिक्रि गर्ने सम्भावना निकै कम छ किनभने अहिलेको मूल्यमा बेच्दा ती लगानीकर्ताहरुलाई निकै घाटा हुने देखिन्छ।  

भाद्र महिनामा ब्याजदर नबढाउने सहमति गरेको भन्ने समाचार आउँदा आउंदै पनि बजारमा बायर नआउनुको कारण नेपाल टेलिकमको सेयर नेप्सेमा सुचिकृत हुँदै गरेको जानकारी ठूला तथा संस्थागत लगानीकर्ताहरुकहाँ पहिले नै पुगेकाले हो कि जस्तो देखिएको छ। टेलिकमको सेयर सुचिकृत भएपछि बजार घट्ने र सो मौकाको सदुपयोग गर्नु उपयुक्त हुने ठहर गर्दै तल्लो मूल्यमा किन्न पाइने सम्भावना हुँदा हुँदै किन माथिल्लो मुल्यमा किन्ने भन्ने रणनिती बनाईएको अनुमान सहजै गर्न सकिन्छ। अन्य कुराहरु सकारात्मक देखिएको अहिलेको अवस्थामा अब आउने सेलिङ्गलाई ठूला तथा संस्थागत लगानीकर्ताहरुले राम्रै सदुपयोग गर्नसक्ने देखिन्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको