Like us!
Follow us!
Connect us!
Watch us!

बिद्युत प्राधिकरणको नाफामा १६४ प्रतिशतको छलाङ

अर्थ संसार

विहीबार, २६ साउन २०७९, ०६ : ४६ मा प्रकाशित

बिद्युत प्राधिकरणको नाफामा १६४ प्रतिशतको छलाङ

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रुपियाँ पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ अर्ब १० करोड रुपियाँको तुलनामा १६४ प्रतिशतले बढी हो ।

ठूला उद्योगमा चाहिएजति बिजुली पु-याउने अभियानलगायतका कारण गत आवमा ऊर्जा समग्र विद्युत् खपत २७ प्रतिशत बढेको थियो । गत आवको अन्त्यसम्ममा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ३२५ बाट बढाएर ३५० युनिट पु-याउने लक्ष्य राखिएकामा ३५१  युनिट पुगेको प्राधिकरणले जनाएको छ ।

यसबाहेक प्राधिकरण स्वामित्वका आयोजनाबाट १६ प्रतिशत बिजुली थप प्राप्त भएकाले पनि नाफा बढेको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट प्राप्त भएको परीक्षणकालीन निःशुल्क बिजुलीले पनि प्राधिकरणको नाफा बढाउन थप योगदान गरेको देखिएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुल आम्दानी नै एक खर्ब नाघेको छ । “आफ्नै आयोजनाको बिजुली, विद्युत् चुहावट नियन्त्रण, आन्तरिक खर्च नियन्त्रण, अन्य आम्दानी वृद्धिजस्ता कारण खुद नाफा बढेको हो,” उनले भने । यससँगै सार्वजनिक संस्थामध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ । 

आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपियाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा रहँदै आएको छ । गत आवको नाफा हालसम्मकै उच्च हो । आव २०७३/७४ मा एक अर्ब ५० करोड रुपियाँ नाफा आर्जन गरेको प्राधिकरणले आव २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपियाँ नाफा पु-याएको थियो तर आव २०७७/७८ मा घटेर छ अर्ब १० करोड रूपियाँमा झरेको थियो ।

वार्षिक आम्दानी एक खर्ब रूपियाँभन्दा माथि पु-याएको प्राधिकरणले विद्युत् बिक्रीबाट मात्रै ८७ अर्ब रुपियाँ खुद आम्दानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको