Like us!
Follow us!
Connect us!
Watch us!

कता हरायो अर्थमन्त्री शर्माले गठन गरेको पूँजी बजार सुझाव समिति ?

अर्थ संसार

बुधबार, ०८ भदौ २०७९, १५ : १९ मा प्रकाशित

कता हरायो अर्थमन्त्री शर्माले गठन गरेको पूँजी बजार सुझाव समिति ?

गत जेठ २५ गते अर्थमन्त्री जनार्दन शर्माले नेपालको पूँजी बजारको विकास र विस्तारका लागि सुझाव दिनका लागि एक समिती गठन गर्ने घोषणा गरेका थिए । अर्थमन्त्रीले गठन गर्ने भनेको सुझाव समितीमा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका प्रतिनीधी रहने बताएका थिए । 

मन्त्री शर्माले घोषणा गरेको करिब १ हप्ता पछि मात्र उक्त समितीको संयोजकमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनय देव आचार्य नियुक्त भएका थिए । त्यसको केहि समय पछि नै मन्त्री शर्माले पदबाट राजिनामा दिएपछि भने उक्त समितीको औचित्य, आवश्यकता र भविष्य नै अन्यौलमा थियो । 

तर पूनः संसदीय छानबिन समितीबाट क्लिनचिट आएपछि शर्मा फेरी अर्थमन्त्रालयमा फकिएका छन् । शर्माको अर्थमन्त्रालयमा पुनरागमन पछि भने उक्त समितीको काम कारबाही अगाडी बढ्ने अपेक्षा लगानीकर्ताको थियो तर समिती गठनको करिब २ महिना बितिसक्दा पनि समिती भने गुमनाम जस्तै बनेको छ । 

उक्त सुझाव समितीले केही लगानीकर्ता संगठनका नेताहरु र ब्रोकरसँग बजारको विकासका विषयमा छलफल र सुझाव मागि सकेको छ । आचार्यको संयोजकत्वमा गठित सुझाव समितीको सदस्य सचिवमा बोर्डकै उपकार्यकारी निर्देशक रुपेश केसी रहेका छन् । समितीमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका एक एक जना प्रतिनिधीहरु रहेका छन् ।

सुझाव समितीका सदस्य सचिव एवंम धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसीले भने हराएको नभई समितीले आफ्नो काम गरिरहेको बताए । ‘पहिलो चरणमा हामीले विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलनको काम सम्पन्न गरेका छौँ अब अहिले त्यो सुझावलाई ड्राफ्ट गर्ने काम भइरहेको छ’ केसीले भने ‘अब ड्राफ्ट फाइनल भएपछि एक चरण समितीमा छलफल गरेपछि मात्र प्रतिवेदन मन्त्रालयमा बुझाँउछौ ।’

समितीले आफ्नै गतिमा कामहरु गरिरहेको भएता पनि कहिलेसम्म प्रतिवेदन बुझाउन सकिन्छ भन्ने कुरा अहिले नै यकिन भन्न नसकिने उनको तर्क छ । ‘अहिले पनि काम भइरहेको छ एक चरणको काम सम्पन्न भइसकेको छ भने अर्को चरणमा अहिले प्रतिवेदन ड्राफ्टको काम भइरहेको छ, त्यसलाई फाइनल गरेर समितीमा छलफल गर्दा केहि समय लाग्न सक्छ त्यसैले अहिले नै समय बताउन सक्ने अवस्था छैन’ केसीले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको