Like us!
Follow us!
Connect us!
Watch us!

पहुँचवालाहरुलाई सूचना बिक्री र शर्ट सेलिङ्ग खुल्ला गरियो भन्नु मनगढन्ते तर्क - वाइको

बसन्त पाण्डे

विहीबार, १६ भदौ २०७९, ०८ : ०० मा प्रकाशित

पहुँचवालाहरुलाई सूचना बिक्री र शर्ट सेलिङ्ग खुल्ला गरियो भन्नु मनगढन्ते तर्क - वाइको

अनलाइन कारोबार प्रणाली (टिएमएस) निर्माण गरेको कम्पनी वाइको नेपालको मिलेमतोमा लगानीकर्ताहरुका गोप्य सूचनाहरु चुहाईने गरेको कुरा प्राय: बजार जानकारहरुले गर्ने गरेका छन्। वाइकोका कर्मचारीहरुले विभिन्न ब्रोकर तथा पहुँचवाला लगानीकर्ताहरुलाई यस्तो सूचना बिक्रि गर्ने गरेको आरोप लाग्दै आएको छ। बजारका ठूला तथा प्रभावशाली लगानीकर्ताहरुले कुन कम्पनीको कति कित्ता सेयर खरिद बिक्रि गरे भन्ने तथ्याङ्क निकै महत्वपूर्ण रहने गर्दछ। बजारको लय नै परिवर्तन गराउन सक्ने संस्था वा व्यक्तिको कारोबारको डिटेल हातमा परिसकेपछि सो को आधारमा खरिद बिक्रिको निर्णय लिनु लाभदायक हुने भएकाले बजारमा यस्ता सूचनाहरुको उच्च माग पनि रहने गर्दछ।  

कतिपय नजिकका र पहुँचवालाहरुलाई शर्ट सेलिङ्ग समेत खुल्ला गरिएको भन्ने गम्भीर आरोप पनि वाइकोमाथि लाग्दै आएको छ। अहिले आफ्नो डिम्याट खातामा नभएको सेयर बिक्रि गर्न मिल्दैन। 'टि प्लस टु' सेटलमेन्ट हुने भएको हुँदा सेयर खरिद भएको पर्सिपल्ट मात्रै डिम्याट खातामा सेयर आइपुग्छ र सो को भोलिपल्ट मात्रै बिक्रि गर्न मिल्छ। तर वाइकोले सिमित पहुँचवाला लगानीकर्ताहरुका लागि भने आफ्नो खातामा नभएको सेयर पनि बिक्रि गर्न सकिने (शर्ट सेलिङ्ग) सुविधा दिएको छ भन्ने आरोप बारम्बार लाग्ने गरेको छ। सर्वसाधारण लगानीकर्ताहरुले खरिद गरेको ३ दिन पछि मात्रै बिक्रि गर्न पाउने तर पहुँचवाला ठूला लगानीकर्ताहरुले भने हिजो किनेको सेयर आजै बिक्रि गरेर भोलिपल्ट खातामा आईसकेपछि पर्सिपल्ट ईडिआईएस गरि सेटल गरिदिने गरेको बुझिएको छ। मानौँ हिजो कुनै कम्पनीको सेयरमूल्य बढ्यो र आज सो कम्पनीको मूल्य निकै माथि पुगेर कारोबार भईरहेको छ भने हिजो खरिद गरेको सेयर आज बढेको मूल्यमा बिक्रि गर्ने अवसर साधारण लगानीकर्ताहरुले पाउँदैनन्, किनकि हिजो खरिद गरेको सेयर आज खातामा आइसकेको हुँदैन र टिएमएसमा नआएको सेयर बिक्रि गर्न मिल्दैन तर वाईकोले सिमित लगानीकर्ताहरुलाई टिएमएसमा नभएको सेयर पनि बिक्रि गर्न मिल्ने बनाइदिने गरेको र ती लगानीकर्ताहरुले त्यसरी शर्ट सेलिङ्ग गरेर मनग्गे नाफा कमाउने गरेको आरोप वाईको माथि लाग्दै आएको छ। 

त्यस्तै नेप्सेको टिएमएस ह्याङ्ग हुने, कहिले बिक्रि मात्रै गर्न मिल्ने तर खरिद अर्डर राख्न नमिल्ने, त्यस्तै कहिले खरिद अर्डर मात्रै राख्न मिल्ने बिक्रि अर्डर राख्न नमिल्ने, बजार बढ्ने वा घट्ने पकापक्कीजस्तो भएपछि टिएमएस नै नचल्ने जस्ता अनगिन्ति समस्याहरुबाट आजित भैसकेका लगानीकर्ताहरु झन् वाइकोले लगानीकर्ताहरुले गरेको कारोबारको सूचना बिक्रि गर्ने गरेको र शर्ट सेलिङ्ग समेत खुलाउने गरेको भन्ने कुरासमेत बाहिर आइसकेपछि थप आक्रोशित बनेका छन्।  

यो विषयमा वास्तविकता के हो भनेर हामीले वाइकोका संचालक दिपेश प्रधानसँग सोध्दा यस्ता सबै आरोपहरु निराधार रहेको उनले बताए। आफूहरुमाथि यस्ता आरोपहरु सुरुवातदेखि नै लाग्दै आएको तर ती सबै मनगढन्ते तर्क रहेको उनको भनाई छ। यदि वाइकोका कुनै पनि कर्मचारीले जानजान कसैको कारोबारको सूचना कतै पठाउने वा बिक्रि गर्ने अथवा शर्ट सेलिङ्ग खुल्ला गरिदिने जस्ता क्रियाकलापहरु गरेको प्रमाण कसैसँग भएमा सो प्रमाण लिएर आउन पनि उनले चुनौती दिएका छन्। 'हाम्रो सिस्टममा केहि कमजोरीहरु अवश्य छन्, हामी क्रमिक रुपमा ती कमजोरीहरु सुधार पनि गर्दै छौं। विश्वका निकै बलिया मानिएका सिस्टमहरु त ह्याक हुने गरेका छन् भने हाम्रो सिस्टम पनि ह्याक हुनसक्छ, तर हामीले हाम्रो सिस्टमलाई बलियो बनाउन हर सम्भव प्रयास गरेका छौं।' उनले थप स्पष्ट पारे।  

नेप्से तथा धितोपत्र बोर्डको सुपरिवेक्षण विभागले आफूहरुले केहि गलत गरेको त छैन भनि धेरैपटक छानबिन गरेपनि केहि फेला नपरेको भन्दै यदि आफूहरुले नियतवश नै साँच्चिकै गतल गरेको भए अहिलेसम्म नियामकहरुको कारबाहीमा पारिसक्नुपर्ने उनी बताउँछन्। 'हामी हाम्रो काम राम्ररी गर्नुपर्दछ भन्ने कुरामा दृढ छौं , यदि हामीले गलत गरेको तथ्य केहि फेला परेमा म यो काम गर्न नै बन्द गरिदिन्छु।' प्रधानले चुनौती दिएका छन्।  

(वाईकोका संचालक प्रधानसँगको एक्सक्लुसिभ भिडियो कुराकानी केहि दिनपछि अर्थसंसारमा प्रसारण हुनेछ।)
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको