Like us!
Follow us!
Connect us!
Watch us!

रेमिट्यान्सको सदुपयोगका लागि वित्तीय साक्षरता

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, ०६ : ३१ मा प्रकाशित

रेमिट्यान्सको सदुपयोगका लागि वित्तीय साक्षरता

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरेको छ । विदेशबाट भित्रिएको रकमलाई बचत गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने/गराउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रेमिट्यान्स व्यवस्थापन र सदुपयोग सम्बन्धी वित्तीय साक्षरता कक्षा सुरु गरिएको हो । 

नगरपालिकाले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत वैदेशिक रोजगारीमा संलग्न परिवारका महिला सदस्यलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा सुरु गरेको हो । 

२१ हप्तासम्म सञ्चालन हुने वित्तीय साक्षरता कक्षामा २० देखि २५ जनाको चार वटा समूह सहभागी छन् । वित्तीय साक्षरता कक्षामा रेमिट्यान्सको सदुपयोग एवं व्यवस्थापन गर्दै उद्यमशीलता विकास, आय–आर्जनमा वृद्धि, व्यावसायिकता सँगै अन्य आर्थिक र व्यवहारिक विषयवस्तुमा छलफल भइरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) खोटाङका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिए । कक्षामा वैदेशिक रोजगारको कारणले परिवार तथा व्यक्तिमा पर्ने पिर, चिन्ता, हिंसा लगायतका मनोसामाजिक समस्यामा परामर्श समेत दिने व्यवस्था मिलाइएको छ । 

जिल्लाको हलेसी तुवाचुङ नगरपालिका र केपिलासगढी गाउँपालिकामा पनि वित्तीय साक्षरता कक्षा सञ्चालन हुँदैछ । हलेसी तुवाचुङ नगरपालिकामा दशैंअघिदेखि र केपिलासगढी गाउँपालिकामा वित्तीय साक्षरता कक्षा सञ्चालनको अन्तिम तयारी भएको कार्यक्रम संयोजक आचार्यले जानकारी दिए । 

सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम स्विस सरकार र नेपाल सरकारको संयुक्त कार्यक्रम हो । परियोजनाले वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र उपलब्धिमूलक बनाउने क्रियाकलाप सञ्चालन गर्दैआएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको