Like us!
Follow us!
Connect us!
Watch us!

यसै वर्षभित्र डिजिटल करेन्सी निष्कासन गर्ने राष्ट्र बैंकको तयारी

पत्रपत्रिका

शुक्रबार, १८ कार्तिक २०७९, ०६ : २९ मा प्रकाशित

यसै वर्षभित्र डिजिटल करेन्सी निष्कासन गर्ने राष्ट्र बैंकको तयारी

पाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) भित्र आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने गरी तयारी अघि बढाएको छ । विश्वभर केन्द्रीय बैंकहरूले विद्युतीय मुद्रा जारी गर्ने लहर चलेसँगै नेपालमा पनि राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को प्रक्रिया अघि बढाएको हो ।

राष्ट्र बैंकले सीबीडीसी निष्कासनका लागि सम्भाव्यता अध्ययन पूरा गरी त्यसमा सरोकारवालाबाट रायसुझाव संकलन गरिरहेको छ । सरोकारवालाको राय सुझावसमेत समेटेर चालू आवभित्र विद्युतीय मुद्रा जारी गर्ने गरी काम भइरहेको राष्ट्र बैंकका अधिकारी बताउँछन् । ‘विश्वका केन्द्रीय बैंकहरूले धमाधम सीबीडीसी निष्कासन गरिरहेकाले हामीलाई पनि दबाब छ,’ नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले भने, ‘चालू आवभित्र जारी गर्नुपर्छ भन्ने लक्ष्यसहित काम भइरहेको छ ।’

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भने अहिल्यै सीबीडीसी निष्कासनको समय निर्धारण गर्न नसकिने बताउँछन् । नेपालमा भर्खरै सम्भाव्यता अध्ययन सकिएको भन्दै उनले राष्ट्र बैंक थप अध्ययनकै चरणमा रहेको बताए ।

राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमा डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य राखेको थियो । सीबीडीसीको काम अघि बढाउन राष्ट्र बैंकले डेपुटी गभर्नर बमबहादुर मिश्रको संयोजकत्वमा स्टेरिङ कमिटीसमेत निर्माण गरेको छ । कमिटीले सीबीडीसी अध्ययनका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालको संयोजकत्वमा रहेको कार्यदलले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन गत आवकै अन्त्यमा बुझाएको थियो ।

हाल राष्ट्र बैंकले सम्भाव्यता अध्ययत प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा सरोकारवालाको रायसुझाव मागेको छ । सरोकारवालाले उक्त प्रतिवेदनमा माघ मसान्तसम्ममा सुझाव दिन सक्ने राष्ट्र बैंकको भनाइ छ ।

प्रतिवेदनमा सरोकारवालाको सहभागिता रहने गरी छुट्टै संरचना र टीम निर्माण गरेर मात्र सीबीडीसी परियोजना अघि बढाउन सुझाव दिइएको छ । शुरुआती चरणमा भने राष्ट्र बैंककै भुक्तानी प्रणाली विभाग वा सूचना प्रविधि विभागभित्रै सानो युनिट खडा काम अघि बढाउन सकिने सुझाव छ । यस्तै सीबीडीसी जारी गर्न तथ्यांकको सुरक्षासहित उच्चस्तरीय प्रविधिको निर्माण, केन्द्रीय बैंकको क्षमता विकासको आवश्यकता पनि औंल्याइएको छ ।

यसैगरी प्रतिवेदनले सम्भाव्यता अध्ययन, पर्याप्त कानूनी व्यवस्था, लक्ष्य निर्धारणका साथै कार्यान्वयनअघि जनचेतना विस्तारको काम अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

विश्वभर क्रिप्टो करेन्सीलगायत डिजिटल मुद्रामा सर्वसाधारणको आकर्षण बढेसँगै केन्द्रीय बैंकहरूले सीबीडीसी निष्कासन गर्न थालेका हुन् ।

भारतीय रिजर्भ बैंक (आरबीआई) ले पनि मंगलवारदेखि पहिलोपटक डिजिटल करेन्सी जारी गरेको छ । पाइलट प्रोजेक्टका रूपमा जारी गरिएको करेन्सी पहिलो चरणमा नौओटा वाणिज्य बैंकसँग होलसेल मात्र कारोबार हुने व्यवस्था गरिएको छ । त्यसको सफलतापछि मात्र सर्वसाधारणले प्रयोग गर्ने गरी खुद्रा कारोबार शुरू गरिने तयारी छ । डिजिटल करेन्सी प्रयोगले विद्युतीय भुक्तानीमा सर्वसाधारणलाई आकर्षित गर्ने र नोट छपाइ तथा सर्कुलेसनमा हुँदै आएको खर्च कटौती हुने केन्द्रीय बैंकले बताएको छ । आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको