Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो चौमासिकमा आयकर र भ्याट संकलन लक्ष्यभन्दा न्यून

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, १३ : ५९ मा प्रकाशित

पहिलो चौमासिकमा आयकर र भ्याट संकलन लक्ष्यभन्दा न्यून

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा आयकर र मूल्य अभिवृद्धिकर (भ्याट) संकलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म अन्तःशुल्क तर्फको राजस्व मात्रै लक्ष्य अनुसार संकलन भएको देखिएको छ ।

विभागका अनुसार आयकर पहिलो चौमासिक लक्ष्यको ८१ दशमलव ९ प्रतिशत बराबर संकलन भएको छ । कात्तिक मसान्तसम्म रू. ४८ अर्ब ९१ करोड ७ लाख ५८ हजार आयकर संकलन गर्ने सरकारी लक्ष्य छ । यो अवधि सम्मको वास्तविक आयकर संकलन भने रू. ३८ अर्ब २९ करोड ६६ लाख ५३ हजार रहेको छ ।

गत आव २०७८/७९ को पहिलो चौमासिकमा रू. ४७ अर्ब २२ करोड ९० लाख ९६ हजार आयकर संकलन भएको थियो । पहिलो चौमासिकमा भ्याट असूली पनि लक्ष्यभन्दा न्यून छ । कात्तिक मसान्त सम्ममा रू. ४१ अर्ब ९४ करोड ७६ लाख ६० हजार भ्याट संकलन गर्ने सरकारी लक्ष्य रहेकामा रू. ३४ अर्ब ४७ करोड ८४ लाख १९ हजार बराबर मात्रै असुली भएको हो ।

त्यो पहिलो चौमासिक लक्ष्यको ८२ दशमलव १९ प्रतिशत बराबर हो । यो अवधिमा अन्तःशुल्क तर्फको राजस्व लक्ष्य भने भेटिएको छ । चालू आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा रू. ३० अर्ब ६५ करोड ३८ लाख ४ हजार अन्तःशुल्क संकलन गर्ने लक्ष्य राखिएकामा रू. ३४ अर्ब ६० करोड ७२ लाख ४२ हजार असूली भएको हो ।

सो असूली पहिलो चौमासिक लक्ष्यको ११२ दशमलव ९२ प्रतिशत बराबर हो । त्यस्तै घरबहाल कर लक्ष्यको ६९ दशमलव ७४ प्रतिशत बराबर मात्रै उठेको छ । कात्तिक मसान्त सम्ममा रू. १ अर्ब ६९ करोड १३ लाख घरबहाल कर उठाउने विभागको लक्ष्य थियो । यो अवधिमा रू. ६४ करोड ४२ लाख ३ हजार बराबर मात्रै उठेको छ।

शिक्षा सेवा कर पनि लक्ष्यभन्दा न्यून छ । यो अवधि सम्ममा रू. ५३ करोड २३ लाख ५२ हजार शिक्षा कर उठाउने लक्ष्य रहेकामा रू. ५० करोड ८६ लाख ९५ हजार मात्रै उठेको छ । स्वास्थ्य सेवा कर भने लक्ष्यभन्दा बढी उठेको छ । पहिलो चौमासिकमा रू. १ अर्ब ३६ करोड ११ लाख २० हजार बराबर स्वास्थ्य सेवा कर उठाउने लक्ष्य रहेकामा १८३ दशमलव १५ प्रतिशत अर्थात् रू. २ अर्ब ४९ करोड २९ लाख १६ हजार असूली भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको