Like us!
Follow us!
Connect us!
Watch us!

इन्ट्रा डे करेक्सन र सेक्टर रोटेसन हुँदै बढेको हुँदा बजार बलियो बन्दै गएको विश्लेषण

अर्थ संसार

बुधबार, २० पुस २०७९, ११ : ०३ मा प्रकाशित

इन्ट्रा डे करेक्सन र सेक्टर रोटेसन हुँदै बढेको हुँदा बजार बलियो बन्दै गएको विश्लेषण

सेयरबजारले सकारात्मक लय समातेको छ। नयाँ सरकारको गठन र विशेषगरी अर्थमन्त्रीमा बिष्णु पौडेलको आगमन सँगै बजारमा रौनकता देखिएको हो। सन् २०२२ भरि नै घट्दो बजारको तितो अनुभव सँगालेका लगानीकर्ताहरु बजार बढ्न थालेपछि हौसिएका छन्। छोटो समयमै नेप्से परिसूचक ३२२७ को बिन्दुबाट करिब ४५% घट्दै नेप्से परिसूचक १८०७ को बिन्दुसम्म झरेको थियो। नेप्से १६०० को बिन्दुसम्म झर्ने दावी गर्ने लगानीकर्ताहरु पनि 'बजार १८०० भन्दा तल झर्दैन, १८०० नै बटम हो' भन्न थालेका छन्। 

बिष्णु पौडेल अर्थमन्त्री भईसकेपछि बजार २०० अंकले बढिसकेको छ। पौडेल यसअघि २ पटक अर्थमन्त्री हुँदा दुबै पटक बजार बढेको ईतिहास छ। उनी अर्थमन्त्री भईसकेपछि यो पटक पनि बजार बढ्नेमा लगानीकर्ताहरु आशावादी देखिएका छन्, जसको प्रभाव बजारमा परेको छ। यतिबेला लगानीकर्ताहरुको मनोबल निकै बढेको पाईन्छ।  

भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) का अध्यक्ष राजकुमार तिमल्सिना अहिले नयाँ कारोबार खाता खोल्न आउने ग्राहकहरुको संख्या बढेको बताउँछन्। 'अहिले दैनिक ८/१० जना नयाँ ग्राहकहरु केवाईसी खोल्न आईरहेका छन्, शाखा कार्यालयहरुमा पनि नयाँ ग्राहकहरु थपिईरहेको अवस्था छ', उनी भन्छन। पुराना लगानीकर्ताहरुले पनि सक्रिय रुपमा कारोबार गर्न थालेको उनले बताए।  स्टक ब्रोकर नम्बर ५७ आर्यतारा सेक्युरिटिजका अध्यक्ष रामचन्द्र भट्टराईले पनि नयाँ लगानीकर्ताहरु आइरहेको बताए। 'बजार घटेको घटेकै गरेर दिक्क मान्दै टिएमएस खोल्नै छाडेर बसेका लगानीकर्ताहरुले पनि टिएमएसको पासवर्ड बिर्सिएँ रिसेट गरिदिनुपर्यो भन्दै फोन गर्न थालेका छन् , बजारप्रति लगानीकर्ताहरुको चासो बढेको छ।' उनले बताए।  

बजार सेन्टिमेन्टले मात्रै त चल्दैन होला, फण्डामेन्टलले पनि सपोर्ट गर्नुपर्छ होला नि त भन्ने हाम्रो प्रश्नको जवाफ दिँदै मौद्रिक अर्थशाश्त्री तथा सेयर विश्लेषक डा. विमल तिवारी अब बिस्तारै फण्डामेन्टल पनि राम्रो हुँदै जाने देखिएको बताउँछन्। ब्याजदर घट्दै छ, महँगी पनि नियन्त्रणमा आईरहेको अवस्था हो, बिस्तारै अर्थतन्त्र ट्रयाकमा आउने देखिन्छ', तिवारी भन्छन । 

केहि बैंकहरुले सेयरधितो कर्जा सहज रुपमा प्रवाह गर्न सुरु गरेको भिजन सेक्युरिटिजका अध्यक्ष राजकुमार तिमल्सिना बताउँछन्। 'हामीलाई पनि केहि बैंकका साथीहरुले राम्रा ग्राहकहरु भए लोन लिन पठाईदिनु न भन्दै फोन गर्न थालेका छन्', उनले बताए। 'लगानीकर्ताहरु बजारप्रति निकै सकारात्मक देखिन्छन, एउटा सेक्टरमा नाफा बुक गर्दै सेक्टर शिफ्ट गरिरहेको देखिन्छ, सेक्टर रोटेसन हुन थालेपछि बजार बलियो बन्दै जान्छ', तिमल्सिना भन्छन। आगामी दिनमा ब्याजदर घट्दै जाने र सहज रुपमा मार्जिन लोन पाईने देखिएकाले पनि लगानीकर्ताहरुको मनोविज्ञान बलियो बन्दै गएको उनी बताउँछन्।  

बजार ब्याक टु ब्याक ठूलो अंकले बढ्दा लगानीकर्ताहरुलाई राम्रै नाफा भएको छ, त्यसो हुँदा पनि ठूलो सप्लाई आएको छैन। ठूला लगानीकर्ताहरुले सेयर बेच्ने इच्छा देखाएका छैनन्। 'ठूलो खरिद नै २००० माथि भएको छ, त्यो बिन्दुमा भएको खरिदमा खासै नाफा छैन। अहिले इन्स्योरेन्सहरु अलि धेरै बढेका छन्, इन्स्योरेन्समा प्राय: ठूला लगानीकर्ताहरु क्यापिटल प्लान आउने अनि हकप्रद दिएर इन्स्योरेन्सहरुले पूँजी बढाउने र इन्स्योरेन्सको मूल्य उचालिने भन्दै महँगो मूल्यमा खरिद गरेका कारण फसेका छन्। उनीहरुलाई अहिले बेच्दा निकै घाटा छ त्यसैले उनीहरुले बेच्दैनन। सानोतिनो सेलिङ्ग प्रेसरलाई सजिलै पचाउन सक्ने अवस्थामा छ बजार। २००० भन्दा तल खासै ठूलो कारोबार भएको छैन, त्यसैले बजार २३०० माथि नलागी ठूलो सप्लाई आउला जस्तो लाग्दैन', एक अनुभवी लगानीकर्ताले अर्थसंसारलाई बताए।  

पुष मसान्तमा ब्याज तिर्न सेलिङ्ग प्रेसर आउला कि भन्ने प्रसङ्गमा राष्ट्र बैंकको ४/१२ को नीतिका कारण ठूलो ऋण नरहेको र पछिल्लो समय त बैंकहरुले मार्जिन लोन नै नदिएका कारण त्यो सम्भावना नरहेको आर्यताराका अध्यक्ष बताउँछन्। '४/१२ को कारणले ठूलो ऋण छैन। अधिकांशले सेयर लोन तिरेर बसेका छन्, बैंकले त्यसपछि लोन नै दिएका छैनन्। त्यसैले ब्याज तिर्नकै लागि ठूलो सेलिङ्ग प्रेसर आउँछ जस्तो देखिएन', भट्टराई भन्छन। '२०६७ ताका पनि तरलता निकै असहज अवस्थामा थियो, बैंकको ब्याजदर पनि अहिले जस्तै माथि नै थियो। त्यो बेलासेयर बजार र घरजग्गामा मन्दी थियो तर अन्य व्यवसायहरु राम्रै चलिरहेका थिए। तर अहिलेको अवस्थामा कुनै पनि क्षेत्र राम्रो अवस्थामा छैनन्। सेयर बजार निकै तल्लो अवस्थामा छ। यस्तो बेलामा अलिकति मात्रै राम्रो वातावरण बन्यो भने बजारमा छोटो समयमै राम्रो नाफा हुनसक्छ। यो कुरा धेरैले राम्ररी बुझेका छन्, त्यसैले अहिले बजारमा नयाँ पैसा छिर्न थालेको छ।' 

बजारमा केहि नाफा बुक भएतापनि अब ठूलो अंकले बजार नघट्नेमा भने अधिकांश लगानीकर्ताहरु विश्वस्त देखिन्छन। प्राविधिक विश्लेषकहरुका अनुसार २००० देखि १९८० को एरियाले निकै बलियो सपोर्टको काम गर्ने देखिन्छ। यदि माघमा बैंकहरुले ब्याजदर घटाउने हो र राष्ट्र बैंक चालु पूँजी कर्जा निर्देशिका लचक बनिदिने हो भने बजारले निकै माथिल्लो यात्रा तय गर्ने विश्लेषण विश्लेषकहरुले गरेका छन्। त्यस्तै मौद्रिक नीतिको त्रैमासिक समिक्षाको सर्कुलरमा राष्ट्र बैंकले लघुवित्तहरुलाई पनि माघदेखि बेसरेट प्रकाशित गर्न निर्देशित गरेबाट अब राष्ट्र बैंकले माइक्रोफाइनान्सहरुको ब्याजदरमा लागेको १५% को क्याप हटाई बेस रेटमा ६% को प्रिमियम जोडेर ब्याज लिन पाउने व्यवस्था गर्न लागेको स्रोत बताउँछ। कमर्सियल बैंकहरुलाई ४.४% र विकास बैंक र फाइनान्सहरुलाई ५% को स्प्रेड दिएको राष्ट्र बैंकले माइक्रो फाइनान्सहरुलाई ६% को स्प्रेड दिनु स्वाभाविक रहने स्रोत बताउँछ। त्यसो भएको खण्डमा माइक्रो फाइनान्स क्षेत्रमा पनि उछाल आउनसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको