Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले सेयर भरेको रकम माघदेखि बैंक खातामै लक हुने

शुक्रबार, २६ कार्तिक २०७३, ११ : १८ मा प्रकाशित

लगानीकर्ताले सेयर भरेको रकम माघदेखि बैंक खातामै लक हुने

अर्थ संसार
काठमाडौं–धितोपत्र बोर्डले आगामी माघदेखि सेयर आवेदन गर्दा लगानीकर्ताले बुझाउनु पर्ने नगद संबन्धित ब्यक्तिकै खातामा लक गरेर राख्ने ब्यवस्था (आस्बा) लागू गर्ने भएको छ । सार्वजनिक निष्काशनमा धितोपत्र खरिदका लागि आवेदन दिने सम्बन्धी विद्यमान प्रणाली अव्यवहारिक भएको भन्दै धितोपत्र बोर्डले यस्तो ब्यवस्था गर्न लागेको हो ।

धितोपत्र बाँडफाँड गर्न लामो समय (७० दिनसम्म) लाग्ने गरेको, झन्झटिलो रहेको, लागत उच्च हुने गरेको, लगानीकर्ताहरुले आफ्नो लगानी रकममा पूरा प्रतिफल प्राप्त नगरिरहेको, संकलित रकमका कारण बैंकिङ्ग प्रणालीको तरलतामा उतार चढाव आउने गरेको र धितोपत्रको सूचिकरण गर्नसमेत लामो समय लाग्ने गरेकाले यस्ता समस्या निराकरण गर्ने क्रममा सार्वजनिक निष्काशनमा आस्बा प्रणाली लागू गर्न लागिएको बोर्डले जनाएको छ । 

आस्बा प्रणालीको सम्बन्धमा आवश्यक निर्देशिका बनाउन बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा नेपाल बैकर्स संघ तथा नेपाल मर्चेन्ट बैकर्स संघका प्रतिनिधिसहितको समितिले भारत र बंगलादेशको अभ्यास तथा नेपालको वित्तीय प्रणालीको व्यवहारिक पक्ष समेतलाई मध्यनजर गर्दै पेश गरेको धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बोर्डले स्वीकृत गरेको छ ।
 
सार्वजनिक निष्काशन प्रकृयालाई थप सरल, व्यवस्थित, पारदर्शी तथा छिटो छरितो बनाई सार्वजनिक निष्काशन लागतलाई समेत न्यून गर्ने र हाल धितोपत्र बाँडफाँडका लागि करिव ७० दिन लाग्ने गरेकोमा उक्त कार्य बढीमा २० दिनभित्र गर्न सम्भव बनाउने उद्देश्यले आस्बा लागू गर्न लागेको बोर्डले जनाएको छ ।

यस प्रणालीमा हाललाई नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी न्यूनतम चुक्ता पुँजी कायम भएको, कम्तीमा २० जिल्लामा शाखा कार्यालय भई सबै शाखामा एबिबिएस बैंकिङ्ग सुविधा उपलब्ध भएको, काठमाडौं उपत्यकाभित्र कम्तीमा चार शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन भई सूचीकृत भएको लगायतका मापदण्ड पूरा गरेका ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले बोर्डबाट अनुमति लिई सार्वजनिक निष्काशनको दरखास्त संकलनको काम गर्न सक्ने छन् । यसको सफल कार्यन्वयन पश्चात् ‘ग’ वर्गका वित्तीय संस्थाहरुले समेत उक्त कार्य गर्न सक्ने व्यवस्था गर्न सकिने बोर्डको भनाइ छ ।  
 
यस प्रणालीअन्तर्गत लगानीकर्ताले आफ्नो खाता रहेको बैंकमा आफूले धितोपत्रमा लगानी गर्न चाहेको रकम रोक्का राख्न बोर्डले तोकेको ढाँचा अनुसारको विद्युतीय रुपमा धितोपत्र खरिदका लागि आवेदन गर्न सक्ने छन् । त्यसरी आवेदन गरेपछि संबन्धित ब्यक्तिले खाताबाट झिक्न नपाउने गरी उक्त रकम बित्तीय संस्थाले रोक्का राख्ने छ ।

सेयर बाँडफाँट भएपश्चात् कति सेयर परेको हो, त्यति बराबरको रकम मात्र लगानीकर्ताको खाताबाट निष्काशनकर्ता कम्पनीको खातामा हस्तान्तरण हुनेछ ।  धितोपत्र नपाएको अवस्थामा लगानीकर्ताको खातामा रोक्का रहेको रकम फुकुवा हुने छ ।
 
यस्तो प्रणाली लागू भएसँगै विद्यमान धितोपत्र बाँडफाँडको समयमा उल्लेख्य सुधार हुने बोर्डको दावी छ ।  नेपाल राष्ट्र बैंकमा रकम जम्मा गर्नुपर्ने अवस्थाको अन्त्य हुने छ । त्यस्तै निष्काशित धितोपत्रको सूचिकरणसमेत छिटो गर्न सम्भव भई लगानीकर्ताहरुले बजारबाट छिटो निकास पाई लाभान्वित हुने सक्ने छ ।

यस्तै लगानीकर्ताहरुले बैंकमार्फत आवेदन गर्दा हरेक लगानीकर्ताको पहिचानमा सहयोग पुग्ने छ । यसले वित्तीय क्षेत्रमा पारदर्शिता अभिबृद्धि हुने, वित्तीय बजारमा अर्वाैं रकम बिना प्रतिफल होल्ड भई बस्ने अवस्थाको अन्त्य हुने, छदमभेषी लगानीकर्ताहरु न्यूनिकरण भई बास्तविक लगानीकर्ताहरु लाभान्वित हुने बोर्डको दावी छ । अहिले साधारण सेयर निस्कासनदेखि लिस्टिङ गर्नसम्म लाग्ने गरेको करीव ६ महिनाको समयावधिलाई २ महिनाभित्र गर्न सकिने बोर्डले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको