Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेपको ब्याजदर घटाउने सहमती सकारात्मक : नेपाल उद्योग परिसंघ

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, ११ : ०५ मा प्रकाशित

निक्षेपको ब्याजदर घटाउने सहमती सकारात्मक : नेपाल उद्योग परिसंघ

अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका  कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स सोसिएसनको सहमती सकारात्मक रहेकाे नेपाल उद्योग परिसंघले जनाएकाे छ । मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो  हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेका छन् । यसले अर्थतन्त्रलाई नै संकुचित बनाइरहेको छ ।  नेपाल उद्योग परिसंघले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर  घटाउनुपर्नेमा जोड दिँदै आएको छ । यो निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा  फर्काउन सहयोगी हुने परिसंघकाे विश्वास छ ।  

निक्षेपको ब्याजदर घटेसँगै लागत (Cost of Fund) घट्ने छ । यसले आधार दर (Base Rate) र  कर्जाको ब्याजदर पनि घटाउने परिसंघकाे बुझाई छ । कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीहरुको खस्किएको मनोबल उकास्न सहयोगी हुने परिसंघकाे विश्वास छ ।  उद्योग परिसंघले हालै गरेको एक सर्वेक्षणमा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना  स्थगन गरेको बताएका थिए । ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई  फेरी अगाडि बढाउने र समग्र मागमा बृद्धि आउँने हुँदा अर्थतन्त्र चलायमान हुन जाने परिसंघकाे विश्वास छ ।  

नेपाल राष्ट्र बैंकले गत साता मात्रै चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै गरेको  संशोधनले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको थियो ।  

साथै, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा २ प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र  बैंकसमक्ष परिसंघले आग्रह समेत गरेकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको