नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे रिपाेर्ट हेर्दा अर्थतन्त्रमा सुधार देखिएकाे छ ।
राष्ट्र बैंककाे रिपाेर्ट अनुसार मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । आयात २०.७ प्रतिशतले घट्दा निर्यात पनि ३४.६ प्रतिशतले घटेकाे छ । यस्तै, पछिल्लाे ५ महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ । याे अर्थतन्त्र सुधारका लागि राम्राे कुरा हाे ।
त्यस्तै, चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनामा नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बढेकाे छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको तथ्याङ्क अनुसार २०७९ साउनदेखि मंसिर मसान्तसम्म नेपालमा कुल ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रने रेमिट्यान्स २३ प्रतिशतले वृद्धि भएको राष्ट्रबैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ६.३ प्रतिशतले घटेको थियो । पछिल्लो ५ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ६.८ प्रतिशतले घटेको थियो ।
प्रमुख झलक
- वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ ।
- आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ ।
- शोधनान्तर स्थिति रु. ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ ।
- कुल विदेशी विनिमय सञ्चिति रु.१२९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहेको छ ।
- संघीय सरकारको खर्च रु. ४३५ अर्ब २१ करोड र राजस्व परिचालन रु.३२६ अर्ब ८९ करोड रहेको छ ।
- विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.२ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.१ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस