लामो रस्साकस्सीपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन सहमति जुटेको छ। शीतल निवासमा शुक्रबार साँझ भएको निर्णायक छलफलपछि कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय टुंगिएको हो।
सहमति अनुसार कार्कीलाई आजै राति ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गरिएको छ। शपथलगत्तै शीतल निवासमै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ। सो बैठकले संविधानअनुसार संसद् विघटन गर्ने प्रस्ताव अघि बढाउने र राष्ट्रपतिले त्यसलाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउने तयारी भएको बताइएको छ।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले सिर्जना गरेको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राजीनामा दिएका थिए।
ओलीको राजीनामापछि उत्पन्न रिक्तता समाधान गर्न विभिन्न राजनीतिक शक्ति, नागरिक आन्दोलन र राष्ट्रपति बीच निरन्तर वार्ता चलिरहेको थियो। अन्ततः आज कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति बनेको हो।
कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इतिहास रचिसकेकी थिइन्। अब उनी प्रधानमन्त्री पदमा पुग्न लागेकी पहिलो महिला नेतृ पनि बन्नेछिन्। नयाँ राजनीतिक यात्राको नेतृत्व उनीमार्फत सुरु हुने संकेत देखिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस