Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक अन्योलताले सेयर बजार प्रभावित, अब के होला ?

निशा हुमाँगाई

आइतबार, ०७ फागुन २०७९, १६ : २५ मा प्रकाशित

राजनीतिक अन्योलताले सेयर बजार प्रभावित, अब के होला ?

अहिलेकाे बजारकाे महाेल हेर्दा माैद्रिक नीतिपछि बजार प्रभावित भएकाे छ । नयाँ सरकार गठनसँगै अर्थमन्त्री र गर्नरकाे ट्युनिङ मिल्याे भन्दै केही समय सकारात्मक उछाल छाएकाे बजार माैद्रिक नीतिकाे समिक्षापछि फेरि निरन्तर ओरालो लाग्यो । बजारकाे पछिल्लाे माहाेल हेर्दा यतिबेला लगानीकर्ताहरू "पर्ख र हेर" काे अवस्थामा रहेका देखिन्छ ।

माैद्रिक नीतिकाे समिक्षापछि खुलेकाे बजारमा गत साता भारी गिरावट देखियाे । बजार साताकाे पहिलाे दिनबाटै घट्न सुरू भई अन्तिम काराेबार दिनसम्म पनि निरन्तर घटिरह्याे । साेमबार सार्वजनिक बिदा परेका हुनाले गत साता ४ दिन मात्रै दाेश्राे बजार खुलेकाे थियाे । ४ काराेबार दिनमा ४ दिन नै नेप्सेले ओरालो यात्रा तय गरेको हो ।

गत साता नेप्से परिसूचक ११२.२२ अंकले घटेर २०७०.४१ विन्दुमा झरेकाे छ । नेप्से ५.१४ प्रतिशतले घटेकाे हाे । गत साता नेप्से परिसूचक मात्रै नभएर अन्य प्रमुख सूचकहरू पनि ओरालो लागेका थिए । गत साता काराेबार रकम अघिल्लाे साताकाे तुलनामा ३४ प्रतिशतले घटेकाे छ । यतता बजार पूँजीकरण पनि ५.१ प्रतिशतले घटेकाे छ । काराेबार हुने कुल १३ उपसमूहमध्ये यस साता सबै उपसमूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ । त्यसपश्चात् धेरै घट्नेमा हाइड्राे समूह रहेकाे छ । 

हामीले अहिलेकाे बजारकाे महाेल बुझ्न केही विश्लेषकहरूसँग कुराकानी गरेका छाैँ । उनीहरूकाे धारणा तल प्रस्तुत गरिएकाे छ :

छाेटेलाल राैनियार (निवर्तमान अध्यक्ष, नेपाल इन्भेष्टर्स फाेरम)

अहिलेको बजारलाई मौद्रिक नीतिले प्रभावित पारेको नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । अर्थ संसारसँग कुराकानी गर्दै उनले भने, "माैद्रिक नीतिकाे समिक्षामा पूँजी बजारका लागि लगानीकर्ताहरूकाे चार वटा माग थियाे । एउटा १२ काे पाेलिसी हटाइदेउ भन्ने थियाे, दाेश्राे जाेखिम भार १५० बाट १०० मा झार्ने माग थियाे, तेश्राे तरलता कम गर्नलाई केही उपाय गर भन्ने थियाे र चाैथाे ब्याज कम गर्ने कुरा थियाे यी कुनै पनि कुरा भएन । अर्थमन्त्री र गभर्नरले गर्छु गर्छु भनेको काम भएन प्रवक्ताहरूले पनि इसारा गरेका कुराहरू भएनन् । गर्छु भनेकाे काम नहुँदा लगानीकर्ताकाे मनाेबलमा नकारात्मक असर पर्याे । जस कारण एकै साता बजार ११३ अंकले घट्याे । यति ठूलाे अंकले बजार घट्नु भनेकाे अर्बाैँ गुमाउनु हाे ।" 

माैद्रिक नीतिबाट नराम्राे मात्रै हैन राम्राे कुराहरू पनि आएकाे उनकाे तर्क छ । ओभरनाइट तरलता सुविधा ८.५ प्रतिशत बाट ७ प्रतिशतमा झार्दा बैंकहरूकाे लागत खर्च कम भएर आम्दानी बढ्ने र ब्याजदर पनि घट्न सक्ने हुँदा याे राम्राे काम भएकाे उनले बताए । यस्तै, साना तथा मझौला उद्योग/व्यवसाय सञ्चालनका लागि दुई करोडसम्मको कर्जालाई पुनःसंरचना गर्ने कुरा पनि राम्राे पक्ष रहेकाे उनकाे तर्क छ । अर्काे २०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा ब्याज लिन नपाइने व्यवस्था गर्नु पनि राम्राे रहेकाे उनले बताए । 

"बजार अब घट्ने चान्स देख्दिँन"

उनले आफूले अब बजार घट्ने चान्स नदेखेको बताए । उनले भने, "अब बजार घट्ने चान्स म देख्दिँन । रेमिट्यान्स पनि बढेर आइरहेकाे छ । मुद्रास्फिती पनि कम भएर गइराखेकाे छ । रिजर्भ पनि राम्राे छ । मनी ट्रान्सफर पनि बढ्दै गएकाे छ । याे सबै कुराले के देखाइरहेकाे छ भने आउने समय राम्राे छ । पूँजी बजार पनि ३२ सयबाट घटेर २१ सय  भन्दा तल आइसक्याे । अब घट्ने चान्स चाही म देख्दिँन । तै पनि बजार भनेकाे घट्दै नघट्ने हुँदैन । ५०-६० अंककाे स्विङ हुन सक्छ ।" अहिले राष्ट्रपतीकाे चुनावले पनि अन्याैलता बढाएकाे हुनाले धेरै लगानीकर्ताहरू वेट एण्ड वाच (पर्ख र हेर) काे अवस्थामा रहेका हुनाले चुनावपछि बजारले एउटा लय लिएर अगाडि बढ्ने उनकाे तर्क छ । समग्रमा बजारकाे सबै इन्डिकेटरहरू पाेजेटिभ देखिएकाे उनी बताउँछन् ।

केशव काेइराला (काका)

सेयर बजारमा "काका" उपनामले परिचित सेयर विश्लेषक केशव काेइराला अहिले बजारमा सेयर किन्ने माैका रहेकाे बताउँछन् । अर्थ संसारसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् । 

"लगानी गर्ने उपयुक्त अवसर" 

मिड टर्म र सर्ट टर्म लगानीकर्ताहरूका लागि लगानी गर्ने र सेयर किन्ने याे उपयुक्त अवसर रहेकाे उनी बताउँछन् । सिजनल बुल अझै बाँकी रहेकाे बताउँदै उनले बजार जेठ असारसम्म बढ्ने विश्लेषण गरे । अहिले घटेकाे बेलामा लगानी गर्ने एकदमै माैका रहेकाे उनले बताए ।

राधा पाेखरेल (अध्यक्ष, नेपाल पूँजीबजार संघ)

 नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोखरेल यतिबेला सरकार, अर्थमन्त्रालय र राष्ट्र बैंक सेयर बजारप्रति सकारात्मक नदेखिएकाे बताउँछिन् । राष्ट्र बैंकले हालै मात्रै सार्वजनिक गरेकाे माैद्रिक नीतिकाे अर्धवार्षिक समिक्षामा आफूहरूले सम्बोधन गर्नुपर्ने ३-४ वटा कुराहरू मात्रै पेश गरिएकोमा कुनै पनि सम्बोधन नभएको उनले बताइन् । अर्थ संसारसँग कुराकानी गर्दै अहिले लगानीकर्ताहरूमा राष्ट्रपतिकाे चुनावले पनि एउटा अन्याैलता बढाएकाे उनी बताउँछिन् ।

"राष्ट्रपतिकाे चुनावले लगानीकर्तामा अन्याैलता"

उनले भनिन्, "अहिले लगानीकर्ताहरूमा पनि राष्ट्रपति एमालेको हुने होकी कांग्रेसको हुने हो भन्ने अन्याैलता छ । त्यसले गर्दा सरकार ढल्यो भने फेरि अर्को सरकार आउँछ, को अर्थमन्त्री हुन्छ के हुन्छ भनेर बेच्नेले पनि बेच्न सकेको छैन, किन्नेले पनि किन्न सकेको छैन ।"

तारा फुल्लेल (कार्यवाहक अध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल)

धेरै कुराकाे अस्थिरता बजारमा देखिएकाे हुनाले बजार घटेकाे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल बताउँछन् । सेयर बजार राजनीतिसँग नजाेडिनु पर्नेमा जाेडिएर उल्टाे भएकाे उनकाे तर्क छ । राजनीतिसँग सेयर बजार जाेडिँदा एकातिर राष्ट्रपति कसकाे बन्ने, सरकार फेरि परिवर्तन हुन्छ की भन्ने अलमल रहेकाे र अर्कातिर सरकार परिवर्तन हुने भन्ने कुरालाई लिएर राष्ट्र बैंकले आफ्ना पोलिसीहरू जति रिभाइज गर्नुपर्ने हो त्यती गर्नलाई आनाकानी गरेको उनले बताए । 

"निती परिमार्जनमा राष्ट्र बैंककाे आनाकानी"

उनले भने, "लगानीकर्ताले १२ को सीमा हटाउने आश गरेका थिए, बैंकहरूलाई सर्कुलर गरेर ब्याजदर घट्ला भन्ने थियो त्यो पनि भएन । भारित औषतको कुरामा पनि केही कुरा बोलेन । यी यावत कुराहरूको अलमलका कारणले गर्दाखेरी बजार साइडवेज अथवा अलिअलि घटेको अवस्था देखिन्छ । बजारमा तरलता सहज हुने बाटो खुलेको छ र ब्याजदरमा पनि केही कमी आयो भने बजार रिभाइज होला अथवा बढ्ला भन्ने छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको