Like us!
Follow us!
Connect us!
Watch us!

सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने नेपाल पहिलो

शनिबार, २७ कार्तिक २०७३, १० : ५० मा प्रकाशित

सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने नेपाल पहिलो

अर्थ संसार
काठमाडौं–सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने मुलुकको सुचीमा नेपाल पहिलो स्थानमा परेको छ । यसले नेपालले सुर्तीजन्य नियन्त्रणको क्षेत्रमा प्रतिष्ठा वढाएको छ । क्यानेडियन क्यान्सर सोसाइटीले सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश विषयक अन्तराष्ट्रिय प्रतिवेदनमा उक्त कुरा जनाइएको रेस्फेक प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

विश्व स्वास्थ्य संगठनले सन् २०१५ मा आवुधावीमा भएको विश्व सुर्ती सम्मेलनमा पनि नेपाललाई सम्मान गर्नुका साथै कानूनको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक सहयोग प्रदान गरेको थियो । त्यतिखेर उक्त सम्मान तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीले थापेका थिए । 

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र तत्पश्चात आएका नियमावलीले व्यवस्था गरेअनुरुप नेपालले ९० प्रतिशत चेतावनीमुलक चिन्ह राख्ने व्यवस्था २०७१ जेठ १ देखि लागू गरेको थियो । सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल र प्याकेजिङको बाहिरी कुल भाग मध्ये ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र छाप्न तथा अङ्कीत गर्न निर्देशन दिइएको थियो । 

व्यवहारमा अझै सुर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीमुलक सन्देश छापिएको पाइँदैन । वैधानिक बाटो भएर विदेशबाट आयात हुने सुर्तीजन्य पदार्थमा ९० प्रतिशत राखिए पनि अवैधानिक वाटो भएर आउनेमा यस्तो व्यवस्था भएको पाइँदैन । नेपालमै उत्पादन हुने सुर्तीजन्य पदार्थमा पनि ७५ प्रतिशत मात्रै चेतावनीमुलक सन्देश भएको पाइन्छ । 

क्यानेडियन क्यान्सर सोसाइटीले गरेको  विश्व प्रतिवेदनले प्रशान्त महासागरमा रहेको भनौटा दोस्रो स्थानमा रहेको देखाएको छ । भनौटाले ९० प्रतिशत चेतावनीमुलक सन्देश राखे पनि पछाडिपट्टि २०१७ बाट मात्र कार्यान्वयनमा आउने भएकाले यो दोस्रो स्थानमा आएको हो । प्रतिवेदनले ८५ प्रतिशत चेतावनीमुलक सन्देश राख्ने राष्ट्रहरु भारत र थाइल्यान्डलाई तेस्रो स्थानमा देखाएको छ ।

कानुनी व्यवधानका कारण भारतले ८५ प्रतिशत चेतावनीमुलक सन्देश राख्न सकेको छैन । यति मात्र होइन त्यहाँ ठूलठूला सुर्ती कम्पनीले सुर्ती खेती गर्ने किसानको नाममा हाम्रो रोजीरोटी खोस्ने भयो भनी यस सुर्ती नियन्त्रणका लागि अन्तराष्ट्रिय अभिसन्धिको विरोधमा अभियान चलाएका छन् । कार्यान्वयनमा अस्ट्रेलिया पाँचौ स्थानमा छ भने श्रीलंका र उरुग्वे छैठौं स्थानमा छन् ।  ब्रुनाइ, क्यानाडा, लाओस र म्यान्मा संयुक्त रुपमा आठौं स्थानमा छन् ।  विश्वमा पहिलो पटक क्यानाडाले २००१ मा चेतावनीमुलक चित्रअंकित सन्देश राखेको थियो । 

क्यानेडियन क्यान्सर सोसाइटीले दुई वर्षलाई आधार बनाएर तयार गरेको प्रतिवेदनअनुसार १०० ओटा राष्ट्रमा चेतावनीमुलक सन्देश राख्न बाँकी रहेको छ । १०५ ओटा राष्ट्र जसले सन्देश राखि सकेको छ, ती मुलुकमा विश्वको कुल ५८ प्रतिशत जनसंख्या रहेको छ ।  

क्यानेडियन क्यान्सर सोसाइटीले भारतको दिल्लीमा भइरहेको विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सनका सरोकारवालाहरुको सातौं कन्फरेन्स अफ दी पार्टीको दौरानमा उक्त प्रतिवेदन सार्बजनिक गरेको हो । सुर्ती नियन्त्रणमा अन्तराष्ट्रिय अनुवन्धमा विश्वका १ सय ८१ ओटा राष्ट्रले हस्ताक्षर गरिसकेका छन् । यहि अनुवन्धले सुर्तीजन्य पदार्थ नियमन र नियमन सम्वन्धि कानुन र चेतावनीमुलक सन्देश राख्ने निर्देशिका प्रदान गर्दछ । यो अनुवन्धअनुसार कम्तिमा ३० प्रतिशत चेतावनीमुलक सन्देश राख्नुपर्दछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको