गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणसम्बन्धी सबै प्रश्नको जवाफ संसदमै दिने बताएका छन्।
बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसासम्बन्धी विषयमा मन्त्री लेखकसँग प्रश्न गरेका थिए। तर उनले समितिमै जवाफ दिए सबै सांसदलाई जानकारी नपुग्ने भएकाले संसदको बैठकमै जवाफ दिने व्यवस्था मिलाइदिन समिति सदस्यहरूलाई आग्रह गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत केही कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। सो विषयमा गृहमन्त्री लेखक पनि संलग्न रहेको आरोप लगाउँदै विपक्षी दलहरूले संसद अबरुद्ध गर्दै आएका छन्।
बैठकमा बोल्दै मन्त्री लेखकले भने, “त्रिभुवन विमानस्थलका केही कर्मचारीहरूमाथि अख्तियारले छानबिन गरिरहेको विषयमा प्रश्न उठाइएको छ। यदि यो प्रश्न केवल समितिमा सीमित भएको भए म यहीँ जवाफ दिएर जान्थेँ। तर, यो चासो सबै सांसदहरूमा भएकाले संसदको बैठकमै बोल्न पाउने व्यवस्था गरिदिनुहोस्, सबै प्रश्नको जवाफ म संसदमै दिनेछु।”
उनले संसदमा जवाफ दिँदा सबै सांसदहरूको जिज्ञासा मेटिने विश्वाससमेत व्यक्त गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस