Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोमा 'ब्लुचिप' मानिने चिलिमे जलविद्युत : लगानी गर्न कति उपयुक्त ?

निशा हुमाँगाई

विहीबार, ११ फागुन २०७९, १७ : २५ मा प्रकाशित

हाइड्रोमा 'ब्लुचिप' मानिने चिलिमे जलविद्युत : लगानी गर्न कति उपयुक्त ?

चिलिमे जलविद्युत कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्जमा जलविद्युत समूह अन्तर्गत सूचीकृत भएकाे एक पब्लिक कम्पनी हाे ।

कम्पनीकाे परिचय :

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड सन् १९९५ मा देशभित्रका स्रोतसाधनको अधिकतम उपयोग गरी जलविद्युत उत्पादन गर्ने उद्देश्यले स्थापना भएको थियो । कम्पनीले ३ वटा सहायक कम्पनी पनि स्थापना गरेकाे छ । 

रसुवागढी हाइड्राेपावर कम्पनी लिमिटेड, मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेड र साञ्जेन जलविद्युत कम्पनी लिमिटेड चिलिमे जलविद्युतका सहायक कम्पनी हुन् ।

कम्पनीकाे सेयर स्वामित्व :

कम्पनीकाे सेयर स्वामित्वकाे कुरा गर्नुपर्दा ५१ प्रतिशत संस्थापक सेयर र ४९ प्रतिशत साधारण सेयर रहेकाे छ । संस्थापकतर्फ ५१ प्रतिशत सेयर स्वामित्व नेपाल विद्युत प्राधिकरणकाे रहेकाे छ । साधारण तर्फकाे ४९ प्रतिशतमध्ये १४ प्रतिशत सर्वसाधारण, १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र बाँकी २५ प्रतिशत प्राधिकरण तथा चिलिमेका कर्मचारीहरूले लगानी गरेका छन् ।

कम्पनीकाे प्राेजेक्ट :

कम्पनीकाे वित्तीय अवस्था :

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चिलिमे हाइड्रोपावर कम्पनीकाे नाफा ३९ करोड ३८ लाख ७३ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्ममा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँबाट बढेर ६३ करोड ६५ लाख ५९ हजार रुपैयाँ पुगेको छ । कम्पनीकाे चुक्ता पुँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ रहेको छ । चिलिमेको रिटेन्ड अर्निङमा ३ अर्ब  ४० लाख रुपैयाँ जम्मा रहेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७४ पैसा रहेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३९ पैसा रहेकाे छ ।

सेयर बजारमा चिलिमे जलविद्युत​काे स्थान :

सेयर बजारमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ७ कराेड २५ लाख ८१ हजार ७ सय ९२ कित्ता सेयर सूचिकृत छ । हाल नेप्सेमा यस कम्पनीको सेयरमूल्य ४ सय ६० रूपैयाँ ३० पैसा रहेकाे छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम ५ सय २९ रूपैयाँ र न्युनतम ३ सय ४७ रूपैयाँ ९० पैसामा कारोबार भएको छ । 

कम्पनीको पछिल्लो १२० दिनको औषत मूल्य ३ सय ९६ रूपैयाँ ५६ पैसा रहेको छ । कम्पनीको मूल्यलाई एकैछिन नियालौं । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयर मूल्य बढेकाे छ । कम्पनीको सर्वाधिक मूल्य हेर्ने हाे भने अहिले यसकाे मूल्य घटेकाे छ । कम्पनीकाे एक वर्षकाे सर्वाधिक मूल्य ५ सय २९ रूपैयाँ रहेकोमा अहिले यसको मूल्य ४ सय ६० रूपैयाँ ३० पैसा छ ।

कम्पनीकाे लाभांश इतिहास :

नेपालका हाइड्रोपावर कम्पनीहरुमध्ये चिलिमे हाइड्रोपावर कम्पनी लाभांश वितरणमा अब्बल देखिएको छ । कम्पनीको लाभांश वितरणको १२ वर्षको इतिहासलाई हेर्दा आफ्ना सेयरधनीहरुलाई निकै लोभलाग्दो लाभांश वितरण गरिरहेको देखिन्छ । यो १२ वर्षमा कम्पनीले सबैभन्दा बढी लाभांश आर्थिक वर्ष २०६७।२०६८ मा गरेको देखिन्छ ।

यो वर्ष कम्पनीले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै कम्पनिले यस अवधिमा सबभन्दा कम मुनाफा वितरण आर्थिक वर्ष २०७७/२०७८ र आर्थिक वर्ष २०७८/२०७९ मा गरेको छ । यी दुई आर्थिक वर्षमा कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले वि.सं. २०६८ साल जेठमा आईपीओ जारी गरेको हो । कम्पनीले उक्त समयमा ३०८ रुपैयाँ ३६ पैसा प्रिमियमसहित ४०८ रुपैयाँ ३६ पैसामा प्रतिकित्तामा सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो ।

कम्पनीकाे व्यवस्थापन 

कम्पनीकाे हरेक अवस्थाहरूमा व्यवस्थापन पक्षकाे ठूलाे भुमिका हुने गर्दछ । कम्पनीकाे नाफा/घाटा, राम्राे/नराम्राे यस्ता सबै कुराहरू व्यवस्थापन पक्षसँग जाेडेर हेरिने भएकाले आफूले लगानी गर्ने कम्पनीकाे व्यवस्थापनकाे बारेमा पनि जान्नु जरूरी हुन्छ ।

चिलिमे जलविद्युतकाे व्यवस्थापन पक्ष बलियाे देखिन्छ । कम्पनीकाे अध्यक्षमा कुलमान घिसिङ रहेका छन् । नेपाल विद्युत प्राधिकरणकाे तर्फबाट कुलमान घिसिङ सन् २०२१ अगस्ट १५ तारिखदेखि कम्पनीकाे अध्यक्ष पदमा रहेका हुन् ।

कम्पनीकाे सञ्चालकमा नेपाल इन्भेष्टर्स फाेरमका अध्यक्ष तुलसी राम ढकाल पनि रहेका छन् । यस्तै, कम्पनीका अन्य सञ्चालकहरूमा रामझी भण्डारी, प्रदिप कुमार ठेकी, लाेक हरी लुँइटेल, सुवास कुमार मीश्र (प्रमुख कार्यकारी अधिकृत), भीम प्रसाद तिमल्सिना, राम प्रसाद रिमाल, शान्ती लक्ष्मी शाक्य, डा. जगत कुमार श्रेष्ठ र सुमन प्रसाद शर्मा रहेका छन् । कम्पनीकाे सचिवमा नारायण प्रसाद आचार्य रहेका छन् ।

प्राविधिक विश्लेषण

साताको अन्तिम कारोबारको दिन बिहिबार चिलिमे हाइड्रोपावर रु. ४६० मा अन्तिम कारोबार भएको छ। पछिल्लो समय रु.३५० बाट बढ्न थालेको चिलिमेको सेयर मूल्य ५०१ रुपैयाँ सम्म पुगेको थियो। ५०१ बाट खस्ने क्रममा हिजो बुधबारका दिन ४५० रुपैयाँसम्म झरेको थियो। रु. ३५० बाट ५०० सम्म फिबोनासी लगाएर हेर्ने हो भने ३८.२% को रिट्रेसमेन्टको सपोर्ट लेभल ४४३ रुपैयाँको बिन्दुमा छ। फ़िबोनासीको ३८.२% को रिट्रेसमेन्टको लेभललाई एक महत्वपूर्ण सपोर्टका रुपमा लिने गरिन्छ ।

तत्कालका लागि चिलिमेको सपोर्ट ४५० को आसपासमा रहेको छ भने ४६८ भन्दा माथि माथि कारोबार हुन थालेमा चिलिमेको सेयरमूल्य बढ्ने देखिन्छ। सो अवस्थामा यसको सेयरमूल्य कम्तिमा रु ५०० देखि ५६० सम्म पुग्नसक्ने देखिन्छ ।

कम्पनीमा लगानी कति सुरक्षित ?

समग्रमा चिलिमे जलविद्युतलाई हेर्दा लगानीकर्ताहरूले याे कम्पनीलाई रूचाएका छन् । कम्पनीकाे व्यवस्थापकीय तथा वित्तीय पक्ष बलियाे रहनुका साथै कम्पनीकाे भावी याेजना पनि स्पष्ट छन् । कम्पनीकाे ३ वटा सहायक कम्पनीहरूकाे निर्माण सम्पन्न हुने अन्तिम चरणमा छ । यी ३ वटै सहायक कम्पनीले विद्युत बिक्री गर्दा कम्पनीको आम्दानी झनै बढ्छ ।

लगानीकर्ताले कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ । पछिल्लाे समय सेयर बजारमा हाइड्राेपावरप्रति लगानीकर्ताहरूकाे आकर्षण बढिरहेकाे छ । हाइड्राेपावरमा लगानी गर्न चाहाने लगानीकर्ताहरूले याे हाइड्राेपावरमा लगानी गर्न पनि सुरक्षित नै देखिन्छ । कम्पनीकाे नाफा, जगेडा काेष, ईपीएसहरू सकारात्मक छ । लाभांश वितरणमा पनि याे हाइड्राे अब्बल छ ।

नोट : हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो  ।यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको