Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रबृत्ति अक्षयकोष स्थापना

अर्थ संसार

सोमबार, २२ फागुन २०७९, १४ : ५६ मा प्रकाशित

नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रबृत्ति अक्षयकोष स्थापना

नेपाल प्रहरी र एभरेष्ट बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच सो सहमति भएको हो । 

सो अवसरमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरे । सो अवसरमा दुवै पक्षबीच समझदारीपत्र आदान प्रदानसमेत भएको छ । 

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सम्झौताको लागि एभरेष्ट बैंकलाई धन्यवाद दिँदै यसबाट बढीभन्दा बढी प्रहरी कर्मचारीका सन्तती लाभान्वित हुने विश्वास व्यक्त गरे । एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सहयोग गर्दैआएका कारण प्रहरीको कार्य सञ्चालनमा सहजता ल्याउन थप टेवा पुगेको उनले चर्चा गरे । 

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले बैंकलाई कानुनबमोजिम गर्ने सुरक्षा र सहयोग निरन्तर प्रदान गर्दैआएको स्मरण गरे । सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमासमेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदानप्रदान हुने अपेक्षा गरे । 

उक्त अवसरमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको चर्चा गर्दै अहोरात्र नागरिकको जिउधनको सुरक्षामा खटिने नेपाल प्रहरीलाई योगदान गर्न पाउँदा थप सन्तुष्टि प्राप्त भएको बताए । सम्झैताबाट बढीभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा गर्दै उत्पादित जनशक्तिबाट भविष्यमा देश निर्माणका लागि थप सहयोग पुग्ने बताए । 

सम्झौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको