Like us!
Follow us!
Connect us!
Watch us!

मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डको पहल

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १२ : ५५ मा प्रकाशित

मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डको पहल

मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका हुन् ।

सोही निर्देशनबमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध सरकारले मुद्दासमेत चलाइरहेको उल्लेख गरे । घर फर्किन आवश्यक सहयोग गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरे । 

प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने बताए । किसानले सो अवसरमा काठमाडौँसम्मको यात्राका लागि आफूहरुलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न तथा सवारी साधनको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । प्रजिअ पाण्डेले किसानलाई कम्बलको व्यवस्था गरेका छन्।

पीडित किसानको समस्या समाधान गर्न गृहमन्त्रालयले कानुन बनाउनका निम्ति मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक शर्माले बताए । सरकारले तीन सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको छ ।

‘आज मात्रै प्रधानमन्त्रीले कानुन सचिवलाई कानुनलाई प्रस्तावको रुपमा आज अपराह्न बस्ने मन्त्रिपरिषद्मा ल्याउन र संसद्मा दर्ता गर्न भनिसक्नुभएको छ । चाँडै नै त्यो कानुन संसद्मा दर्ता हुन्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ’, प्रेस संयोजक शर्माले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको