Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री डा. महत एकपछि अर्को ‘मिटीङ्ग’मा व्यस्त, फेरिएला त अर्थतन्त्र र सेयर बजारकोे मुहार?

निकिता खनाल

मंगलबार, २१ चैत्र २०७९, १७ : ४६ मा प्रकाशित

अर्थमन्त्री डा. महत एकपछि अर्को ‘मिटीङ्ग’मा व्यस्त, फेरिएला त अर्थतन्त्र र सेयर बजारकोे मुहार?

नेपालको अर्थतन्त्र फितलो अवस्थामा छ । राजनीतिक अस्थिरता र अन्यौलताका कारण करिब एक महिनासम्म अर्थमन्त्रालय मन्त्रीविहिन अवस्थामा थियो । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डद्धारा मन्त्रिपरिषद् पुनर्गठित मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी डा.प्रकाशशरण महतले पाए । 

गत शुक्रबार १७ गते डा.महत अर्थमन्त्रीमा नियुक्त भएपश्चात आइतबार सेयर बजारले उनलाई ‘रेड कार्पेट’ले स्वागत गर्याे । उक्त दिन सेयर बजार २० अंकले घटेको थियो । अहिलेको अवस्थामा सेयर बजार खस्किएको छ । बजारमा लगानी गर्न लगानीकर्ताहरु हिच्किच्याएको अवस्था छ । व्यवसायीहरु बैंकको व्याजदर घटाउन माग गर्दै लामो समयदेखि आन्दोलनमा उत्रिएको छ । राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन । सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ । पुँजीगत खर्च कमजोर छ । बजारमा पैसा अभाव छ । मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रूपैयाँ पुगेको छ । उत्पादन र उपभोग घट्दा ‘बजार चक्र’ प्रभावित छ । व्यवसायीको मनोबल खस्किदै गएको छ।

यी चुनौतीबीच डा. प्रकाशशरण महतले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका हुन । यसअघि ऊर्जा र परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेका डा. महत अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्ने दबाब छ । नवनियुक्त अर्थमन्त्री डा.महतले पद तथा गोपनियताको शपथ पछि मन्त्रालयमा पदभार ग्रहण गर्दै आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने प्रतिबद्धता जनाए । उनले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी समेत गरे । 

अर्थमन्त्रीमा नियुक्त भएसँगै डा. महत विभिन्न छलफल र भेटघाटमा सक्रिय रुपमा देखिन थालेका छन् । अर्थमन्त्री हुनासाथ डा. महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर अर्थतन्त्रलाई कसरी ट्रयाकमा ल्याउन सकिन्छ भनेर छलफल गरे । नेकपा एमाले नेतृत्वको सरकार हुँदा नियुक्त भएका गभर्नर अधिकारीलाई विश्वासमा लिएर काम गर्नुपर्ने दबाब उनीमाथि छ । अबको अर्थतन्त्रको स्थिति सरकारले लिने आर्थिक नीतिमा भर पर्छ । त्यसका लागि अर्थ मन्त्रालयको मात्र होइन, नेपाल राष्ट्र बैंकको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । 

यस्तै, अर्थमन्त्री बनेलगत्तै साताको पहिलो दिन आइतबार डा. महतसँग नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को प्रतिनिधिमण्डलको भेट भयो । अर्थतन्त्रको पछिल्लो अवस्था र निजी क्षेत्रले भोगेका समस्याबारे जानकारी गराए । यस्तै, आईतबार नै नेपाल उद्योग परिसंघको टोलीले अर्थमन्त्री डा.महतलाई भेटेर मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल गरे । उक्त भेटमा अर्थमन्त्री डा.महतले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अन्यौलतालाई लिएर निकै चिन्तित देखिएका छन् । महतले सोमबार आर्थिक संकटलाई समाधान गर्न निरन्तर छलफल गरे । व्यवसायीको नैराश्यता अन्त्य गर्दै मनोबल कसरी बढाउन सकिन्छ भन्ने विषयमा नेपाल बैंकर्स संघका पदाधिकारीसँग छलफल गरे । उदासिन अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासँग समन्वयन गरेर अगाडि बढ्न आफू तयार रहेको अर्थमन्त्री महतले बैंकरहरुलाई स्पष्ट पारे । 

यस्तै, उनले सोमबार लगानीकर्तासँगको छलफलमा अर्थमन्त्री लगानीको माहोल सकारात्मक नरहेकाले यसलाई सकारात्मक बनाउनु अहिलेको मूल चुनौती रहेको बताए । साथै, अर्थमन्त्री डा. महतले मन्त्रालयमा बोर्डका अध्यक्ष रमेश हमालसहितका पदाधिकारीसँग छलफल गर्दै डा. महतले पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देशन दिए । त्यस्तै उनले आज पनि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लगायतका पदाधिकारीहरुसँग छलफल गरे । उनले राष्ट्र बैंकको गभर्नर र पदाधिकारीसँग अर्थतन्त्रको बारेमा बिफ्रिङ्ग लिएसँगै ब्याजदर घटाउन विषयमा समेत चर्चा गरे ।  

त्यस्तै डा. महतले सीमा क्षेत्रमा देखिएका अवैध कारोबार रोक्ने सम्बन्धमा चासो समेत देखाएका छन् । महतले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा समेत छलफल गरे । डा. महतको आग्रहमा उक्त बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । 

वित्तीय संस्थाप्रतिको विश्वास घट्दो छ । सार्वजनिक ऋण बढ्दो अवस्थामा छ । मुद्रास्फिीति ७.८८ प्रतिशत पुगेको छ । आर्थिक वृद्धिको लक्ष्य निराशाजनक छ । मुलुकको अर्थतन्त्र मन्दीतर्फ उन्मुख छ । फितलो अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको पछिल्लो सक्रियता र भेटघाटले निभ्न लागेको मेनबत्तीले धेरै प्रकाश पार्ने झैँ डा. महतको पनि सोही अनुरुप तुलाना हुने त होइन भन्ने प्रश्न तेर्सिएको छ । आज मात्रै एशियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक अवस्थालाई लिएर प्रक्षेपण गरेको छ । एडीबीले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । आज मंगलबारसार्वजनिक ‘एसियन डेभलपमेण्ट आउटलुक’मार्फत् एडीबीले २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

यदि अर्थमन्त्रीको पछिल्लो सक्रियता अनुसार काम हुने हो भने नेपालको अर्थतन्त्र सुध्रने चरणमा जाने देखिन्छ यदि कुरामै सिमित रहे तर व्यवहारमा नदेखिए भने सेयर बजार क्रयास हुने अवस्थामा पुग्ने देखिन्छ । अर्थमन्त्रीको सक्रियताले अर्थतन्त्रमा सुधार ल्याउला भन्ने प्रश्न सम्पूर्ण जनमानसमा छ । कि अन्य मन्त्री जस्तै उनको पनि देखाउने र चबाउने दाँत कत्तै फरक त छैन् । मुलुकमा आयात प्रतिस्थापन र निर्यात गर्न अहिलेको अवस्था छ । यसो नगरे मुलुकको आर्थिक अवस्थामा संकट आउन सक्ने छ । रेमिट्यान्सले धानेको मुलुकलाई नयाँ अर्थमन्त्रीले कति अग्रसरता देखाउँछ । हेर्न बाँकी छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको