Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग वाणिज्य महासङ्घमा मतदान जारी

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १२ : ५१ मा प्रकाशित

उद्योग वाणिज्य महासङ्घमा मतदान जारी

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । आज विहान ८ बजे मतदान शुरु भएको केही समयमै हल्ला भएपछि रोकिएको मतदान प्रक्रिया अहिले फेरि शुरु भएको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए ।

“गैर मतदाता र बाहिरका व्यक्तिले हल्ला गरेपछि केहीबेर मतदान प्रक्रिया प्रभावित भएको थियो । अहिले शान्तिपूर्ण रुपमा चलिरहेको छ”, कर्णले भने । बिहान ८ बजे शुरु भएको निर्वाचन बेलुका ४ बजेसम्म चल्नेछ ।

निर्वाचनले आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षसहित कार्यकालका लागि नयाँ नेतृत्व चुँनिदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासङघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्व सम्हाल्दै हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिष्पर्धा भइरहेको छ ।

संघई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ रहेका छन्। 

अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् साथै उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन् । एसोशिएटतर्फको उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानल र उमेशलाल श्रेष्ठ प्यानलबाट संयुक्त उम्मेदवारका रुपमा भरतराज आचार्य रहेका छन् ।

महासङ्घ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक–एक जना सदस्य रहन्छन् । जसका लागि कोशी प्रदेश सदस्यमा टङ्कप्रसाद दुलाल, नरेन्द्र कुमार खड्का र तारानाथ घिमिरेले उम्मेदवारी दिएका छन्। मधेश प्रदेश सदस्यका लागि विजय कुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारीपरेको छ । साथै बागमती प्रदेशबाट कृष्णप्रसाद अवाल र सबिन श्रेष्ठले उम्मेदवारी दिनुभएको छ भने गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल, कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जंगबहादुर मल्लको उम्मेदवारी छ ।

संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकालको उम्मेदवारी छ । उनीहरुमध्ये एकजना निर्वाचित हुनेछन् । वस्तुगत संघतर्फको सदस्यमा २८ जनाको उम्मेदवारी परेकामा १४ जना निर्वाचित हुनेछन् । त्यस्तै जिल्ला नगर सङ्घ सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ । जसमा १८ जना निर्वाचित हुनेछन् । एशोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ ।

महासङ्घकाअनुसार जिल्ला नगर समूह र वस्तुगत सङ्घ समूहका लागि एउटा–एउटा मतदान केन्द्र तोकिएको छ भने एशोसिएटतर्फ तीनवटा मतदान केन्द्र तोकिएका छन् । 

जिल्ला नगर समूहका सबै पदका लागि रातो रङको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रङको मतपत्र र एशोसिएट समूहका सबै पदका लागि सेतो रङको मतपत्र बनाइएको छ । प्रदेश सदस्य र संस्थापक समूह सदस्य पदको मतपत्र पहेलो रङको छ ।-रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको