Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटल लिमिटेडको आईपीओ बाँडफाँड

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १० : ५० मा प्रकाशित

सिटी होटल लिमिटेडको आईपीओ बाँडफाँड

सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आरक्षित आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरेको थियो । कम्पनीले चैत्र २१ देखि वैशाख ५ गतेसम्म बिक्री गरेको १ लाख ६७ हजार ४०० कित्ता सेयर वैशाख १२ गते विहान बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका नेपालीहरूबाट कुल १९ हजार ७ सय ४८ जनाको आवेदन परेको थियो । जस मध्ये १९ हजार ७३९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलको भनाई छ । योग्य आवेदकहरूबाट माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको हो । गोलप्रथाको माध्यमबाट १६ हजार ७४० जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।

पहिलो चरणको आईपीओ बाँडफाँड भएसँगै कम्पनीले दोस्रो चरणको आईपीओ सर्वसाधारण्मा आगामी वैशाख २५ गतेदेखि बिक्री गर्नेछ । कम्पनीले आफ्नो जारी पूँजी रू. १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् रू. १६ करोड ७४ लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको थियो । वैदेशिक रोजगारीमा रहेको नेपालीमा सेयर बाँडफाँड गरी बाँकी रहेको सेयरमध्ये पनि ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । यी वाहेक बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउनेछ । 

सर्वसाधारणा यो आईपीओ छिटो अवधि वैशाख २८ गतेसम्म मात्र बिक्रीमा रहनेछ । सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले कम्पनीको छिटो अवधिभित्र मात्र बिक्रीमा रहने निश्चित छ ।  सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखाकार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 

अधिकृत पूँजी रू. २ अर्ब रहेको कम्पनीको जारी पूँजी रू.१ अर्ब ६७ करोड ४० लाख रहेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड ६६ लाख छ । संस्थापक तर्फबाट कम्पनीमा जारी पूँजीको ९० प्रतिशत शेयर चुक्ता भएको हो । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६७ करोड ४० लाख कायम हुनेछ । 

यस कम्पनीले होटल तथा रेष्टुरेष्ट सञ्चालक गर्ने गरी २०७२ साल चैत १६ गते नेपाल सरकार, उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको थियो । हाल होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरू निर्माण भैसकेका छन् । यस कम्पनीको स्वामित्वमा रहेका ३ ओटा भवनमध्ये एकमा होटलको भवन , दोस्रोमा ब्याङ्क्वेट हल र तेस्रोमा अपार्टमेन्ट व्यवसायका लागि निर्माण गरिएको छ । अपार्टमेन्ट व्यवसायका लागि निर्माण गरिएको पाँचौदेखि चौधौं तलासम्मको दशओटा अपार्टमेन्टहरू विक्री भैसकको कम्पनीको भनाई छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १३ करोड २४ लाखभन्दा बढी नोक्सानीमा रहेको छ ।

सो अवधिसम्म कम्पनी रू. ८ दशमलव शून्य ९ प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७९ दशमलव ०४ रहेको छ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ भने रू. ८७ दशमलव ८३ रहेको छ । नेपाल धितोपत्र बोर्डबाट चैत ५ गते कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति पाएको थियो । धितोपत्र दोस्रो बजारमा होटल तथा पर्यटन क्षेत्रका हाल धितोपत्र दोस्रो बजारमा होटल तथा पर्यटन क्षेत्रका पाँच कम्पनी मात्र सूचीकृत छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको