Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक सर्वेक्षणमा पूँजी बजारका के-के कुरा समेटिए ?

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १६ : ४९ मा प्रकाशित

आर्थिक सर्वेक्षणमा पूँजी बजारका के-के कुरा समेटिए ?

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेश गरेका छन् ।

आर्थिक सर्वेक्षणमा यसरी समेटियाे पूँजी बजार 

पुँजीबजार

१. २०७८ फागुन मसान्तमा २६६८.१२ विन्दुमा रहेको नेप्से सूचकाङ्क २६.८ प्रतिशतले कम भई २०७९ फागुन मसान्तमा १९५३.०६ विन्दु कायम भएको छ। २०७९ असार मसान्तमा नेप्से सूचकाङ्क २००९.४७ विन्दुमा थियो। त्यसैगरी, नेप्से फ्लोट परिसूचक २०७८ फागुन मसान्तको तुलनामा २४.१ प्रतिशतले कम भई १३७.२२ विन्दुमा रहेको छ। 

चार्ट ४(ङ): नेप्से सूचकाङ्क र नेप्से फ्लोट सूचकाङ्क (विन्दुमा)

स्रोत: नेपाल स्टक एक्सचेञ्‍ज लिमिटेड, २०७९

२. आर्थिक वर्ष २०७९/८० को फागुनसम्म थप २३ (६ लघुवित्त, १७ जलविद्युत) कम्पनी नेप्सेमा सूचीकृत भएका छन्। यसअनुसार २०७९ फागुनसम्म नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २४५ पुगेको छ। २०७८ फागुनमसान्तमा यस्तो संङ्ख्या २२८ थियो। २०७९ फागुनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरको चुक्ता मूल्य रू. ७ खर्ब १ अर्ब ९८ करोड पुगेको छ। २०७८ फागुनसम्म यस्तो मूल्य रू. ६ खर्ब ५१ अर्ब २१ करोड रहेको थियो।

३. आर्थिक वर्ष २०७९/८० को फागुनसम्म प्राथमिक बजार मार्फत रू.४१ अर्ब ४६ करोड बराबरको पुँजी परिचालन भएको छ। जुन गत आर्थिक वर्ष को सोही अवधिको तुलनामा 93.३ प्रतिशतले बढी हो। यस अवधिमा साधारण शेयरको प्राथमिक निष्काशन मार्फत रू.५ अर्ब ७६ करोड, हकप्रद शेयर निष्काशन मार्फत रू.९५ करोड, ऋणपत्र मार्फत रू.२७ अर्ब र म्युचुअल फन्ड मार्फत रू.७ अर्ब ७५ करोड पुँजी परिचालन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा प्राथमिक बजार मार्फत रू.२१ अर्ब ४५ करोड पुँजी परिचालन भएको थियो। चालु आर्थिक वर्षको फागुनसम्म कुल पुँजी परिचालनमा ऋणपत्रको अंश करिब ६५ प्रतिशत रहेको छ। पछिल्लो समय ऋणपत्र निष्काशनमार्फत् पुँजी सङ्कलन गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।   

४. आर्थिक वर्ष २०७९/८० को फागुनसम्म १७ करोड २ लाख ५२ हजार कित्ता बराबरको प्रथम निष्कासन, ६४ करोड ८४ लाख ३६ हजार ८ सय ७९ सामुहिक लगानी कोषका ईकाइ, ४ करोड १४ लाख ८० हजार ९ सय १७ कित्ता बराबरको हकप्रद सेयर, २८ करोड ८० लाख ८१ हजार ८ सय ३० कित्ता बराबरको बोनस सेयर, ३ करोड ४३ लाख ३३ हजार ६ सय ४१ कित्ता संस्थागत ऋणपत्र र ६५ करोड कित्ता सरकारी  ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन्। 

५. २०७८ फागुन मसान्तमा रू.३७ खर्ब ८२ अर्ब ७९ करोड रहेको धितोपत्र बजार पुँजीकरण २५.४ प्रतिशतले कम भई २०७९ फागुन मसान्तमा रू.२८ खर्ब २३ अर्ब ६८ करोड कायम भएको छ। कुल धितोपत्र बजार पुँजीकरणमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६४.७ प्रतिशत रहेको छ। त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १३.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.४ प्रतिशत रहेको छ।

चार्ट ४(च): बजार पुँजीकरणको प्रवृति (रकम रू. अर्बमा)

          स्रोत: नेपाल स्टक एक्सचेञ्‍ज लिमिटेड, २०७९  

६. आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म रू.१० खर्ब ५३ अर्ब ९८ करोड रकम बराबरको धितोपत्र कारोबार भएकोमा आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा ७१.८ प्रतिशतले कमी भई रू.२ खर्ब ९७ अर्ब ४९ करोडको कारोबार भएको छ। 

७. नेपालमा ऋणपत्रको निष्कासन सरकारी र संस्थागत दुवै क्षेत्रबाट हुने गरेको छ। हाल नेपाल सरकारबाट निष्कासन गरिने विभिन्न ऋणपत्रमध्ये विकास ऋणपत्रको मात्र नेपाल स्टक एक्सचेञ्ज लि.मा सूचीकृत भई कारोबार हुने गरेको छ। आर्थिक वर्ष २०७९/८० को फागुनसम्म निष्कासन भएको ऋणपत्र करिब रू. ६ खर्ब ६७ अर्ब बराबर रहेको छ, जसमा विकास ऋणपत्रको अंश करिब ८८.० प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा रू.१ अर्ब ५५ करोड बराबरको सरकारी ऋणपत्र र रू.४२ करोड १० लाख बराबरको संस्थागत ऋणपत्रको कारोबार भएको थियो।

८. नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीको धितोपत्रको खरिद विक्री ओटिसि (OTC)  बजारमा गर्न सकिने व्यवस्थाबमोजिम आर्थिक वर्ष २०७७/७८ मा करिब रू.२ अर्ब १९ करोड बराबरको कारोबार भएकोमा आर्थिक वर्ष २०७८/७९ मा करिब रू.२ अर्ब ९३ करोड बराबरको कारोबार भएको छ। चालु आर्थिक वर्षको फागुनसम्म कुल ३२ कम्पनीको करिब रू.६० करोड बराबरको धितोपत्रको ओटिसि (OTC) बजारमा कारोबार भएको छ।

९. मर्चेण्ट बैङ्कको सङ्ख्या २०७८ फागुन मसान्तमा ३१ पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा कुल ४,२०० ग्राहकको करिब रू.१३ अर्ब ६८ करोड बराबरको कोष व्यवस्थापन भएको छ। गत आर्थिक वर्ष कुल ३,१९६ ग्राहकको करिब रू.१२ अर्ब ८२ करोड बराबरको कोष व्यवस्थापन भएको थियो।

१०. आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म सिडिएससीमा दर्ता भएका कम्पनीको सङ्ख्या २३६ र निक्षेप सदस्यको सङ्ख्या ८२ पुगेको छ। निक्षेप सदस्यले ७७ जिल्लाबाट नै निक्षेप सेवा उपलब्ध गराउँदै आएका छन्।

११. अभौतिकृत धितोपत्रको सङ्ख्या २०७९ फागुन मसान्तसम्म ९ अर्ब ९१ करोड ९० लाख पुगेको छ। २०७८ फागुन मसान्तमा यस्तो सङ्ख्या ८ अर्ब ३९ करोड ८ लाख रहेको थियो।

१२. धितोपत्र बजारमा लगानीकर्ताको सहभागीताको अवस्था उत्साहजनक रूपमा बढेको छ। २०७८ असारसम्म ३७ लाख ८९ हजार डिम्याट खाता (हितग्राही खाता) को सङ्ख्या रहेकोमा २०७९ फागुनसम्म उक्त सङ्ख्या ५६ लाख ५४ हजार पुगेको छ। यो सङ्ख्या कुल जनसङ्ख्याको १९.४ प्रतिशत हो। २०७८ असारमा करिब २८ लाख ५० हजारको सङ्ख्यामा रहेको मेरो सेयर खाताको सङ्ख्या २०७९ फागुनसम्म ४६ लाख ७१ हजार पुगेको छ।

१३. २०७९ फागुनसम्ममा तीन रेटिङ्ग कम्पनी सञ्चालनमा रहेका छन्। यी कम्पनीले चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र निष्काशन गर्ने २५ कम्पनी र १५७ ऋणीको क्रेडिट रेटिङ्ग गरेका छन्। आर्थिक वर्ष २०७८/७९ मा धितोपत्र निष्कासन गर्ने ५० कम्पनी र २१० ऋणीको रेटिङ्ग सम्पन्न भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको