आन्तरिक राजस्व विभागको विज्ञप्तिपछि लगानीकर्ताहरु झनै आक्रोशित देखिएका छन्। बुधबार साँझ आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै सेयर बजारमा विद्यमान रहेको लगानीकर्तालाई नियमित र पटके भनेर वर्गीकरण गर्न खोजेको र शब्दको खेलमा लगानीकर्तालाई झुकाउन लागिएको अधिकाश लगानीकर्ताको बुझाई छ।
लगानीकर्ता गोपाल स्वामीले आफ्नो सामाजिक संजालमा लेखेका छन् -"आन्तरिक राजश्व विभागको भ्रामक बक्तब्यबाट कोही पनि नझुक्किनु होला, नत्र धोका पाईने छ, १० बजे कमलपोखरीमा भेटौं"
आन्तरिक राजस्व विभागको विज्ञप्तिपछि पनि लगानीकर्ताको आन्दोलनको कार्यक्रम जारी नै रहने लगानीकर्ता तिलक कोइरालाले अर्थसंसारलाई जानकारी दिएका छन्।
"हामी १० कित्ता आईपीओ पारेर बिक्री गर्ने पटके लगानीकर्ता हैन, हामी नियमित कारोबार गर्ने लगानीकर्ता हौं । हामीलाई ३९ प्रतिशत कर सिमा मान्य छैन । आन्तरिक राजश्व विभागको दोस्रो प्याराग्राफ र बजेट बक्तब्य तथा आर्थिक विधयेक राम्रोसँग अध्ययन गरेर यकिन गर्नुहोस्, लगानीकर्तालाई फकाउन र फाटो पार्न जारी गरिएको कथित बक्तब्यबाट भ्रमित नहुनुस । मन्त्रिपरिषदले पारित गरेको, बजेट बक्तब्य, आर्थिक विधयेकमा उल्लेख भएको र संसदको सम्पति बनिसकेको दस्तावेजमा उल्लेख भएको कुरा आन्तरिक राजश्व विभागको बक्तब्यले काट्न सक्दैन । एफपीओ, मर्जर, बोनस, २०७६ देखिकै कर फाईल गर्नुपर्ने भूतप्रभावी लगायतका कयौं सवालहरु छन् । भोलि १० बजे कमलपोखरीमा भेटौं, नत्र धोका खाईएला ।" कोइरालाले बताए।
तेस्तै बजार विश्लेषक केशब कोइराला लेख्छन,"नियमित लगानीकर्ता को? पटके लगानीकर्ता को? अर्बौं रुपैया पटके लगानी गरि अर्बौं कमाउने लाई अन्तिम कर र १०/२० लाख लगानी गरेर नियमित १/२ लाखको किनबेच गर्नेले चाहिँ आय बिबरण बुझाउनुपर्ने हो? धुर्तहरुको शब्दजालमा भुल्नु हुदैन।सबै खाले प्राकृतिक ब्यक्तिहरुको ब्यक्तिगत कारोबार को हकमा ५%/७.५% अन्तिम कर कायम गर्न कारोबार बन्द गराएर आन्दोलन गर्नुपर्छ।"
विश्लेषक शिव चन्द्रले आफ्नो सामाजिक संजालमा एक स्टाटस लेख्दै कारोबारको कुनै सीमा नै हुँदैन यसलाई कसरी नियमित र पटके भनेर छुट्याउने भनेर प्रश्न गरेका छन्। उनी लेख्छन- "बजारको अवस्था हेरेर नियमित कारोबार गर्नेले पनि कहिले काहीँ ६ महिनासम्म कारोबार नगर्न सक्छ। अब उसलाई नियमित भन्ने की पटके? १ करोडको सेयर किनेर एक दुई वर्ष कुरेर २ करोडमा बेचेर बजार बाट निस्कनेलाई नियमित भन्ने की पटके? यहाँनेर IPO भर्ने अनि पर्यो भने बेच्नेलाई चाहिँ पटके भन्न खोजे जस्तो देखियो। अब घुमाउरो कुरा नगरी सम्बन्धित निकायबाट नियमित र पटके को व्याख्या गरिदिए अति उत्तम।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस