Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई गलत सूचना किन भन्दा नेप्से र धितोपत्र बोर्ड दुवै पन्छिए !!

अर्थ संसार

सोमबार, ०४ असार २०८०, ०९ : २५ मा प्रकाशित

लगानीकर्तालाई गलत सूचना किन भन्दा नेप्से र धितोपत्र बोर्ड दुवै पन्छिए !!

‘सरकारी कर्मचारीहरुले कुनै काम समयमै गर्दैनन्, आज सरकारी र्कायालय जानु थियो एउटा कोठाबाट अर्को कोठा चाहार्दा चाहार्दै दिउस बित्यो, सरकारी काम, कहिले जाला घाम’ यी र यस्ता वाक्य हामीले प्राय सुनिरहन्छौँ । सरकारी कर्मचारीलाई उपनाम नै दिइएको छ ‘हाटा’ अर्थात् हाजिर गर्ने, टाप ठोक्ने । यी शब्दावली नै काफी छन् नेपालमा आम सर्वसाधारणको सरकारी कर्मचारीप्रतिको नजरलाई व्याख्या गर्न ।

अधिकांश सेवाग्राहीहरुले आफ्नो जीवनको कुनै न कुनै मोडमा यस्ता शब्द सुनेका, बोलेका, देखेका र भोगेका होलान् । माथि भनिएको शब्दावलीहरु शब्द मात्रै होइनन् । ती त भोगाई हुन्, आम सेवाग्रीको भोगाई । आम सेवाग्राहीको यस्ता भोगाई पछाडि प्रत्यक्ष अप्रत्यक्ष रुपमा चुकेका होलान् सरकारी निकायहरु । हो सरकारी निकाय, आज यस्तै एउटा सरकारी निकायको कुरा गर्दैछौँ । जुन हो, नेपाल स्टक एक्सचेञ्ज ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपालको एकमात्रै स्टक एक्सचेञ्ज हो । नेपालको एक मात्रै धितोपत्र बजार नेप्सेमा सरकारको ५८.६६ प्रतिशत स्वामित्व रहेको छ । सरकारी मातहतमा रहेको नेप्सेमा कार्यरत अधिकांश कर्मचारीहरूलाई पनि सरकारले नै सिफारिस गर्ने गदर्छ । यसरी नेप्सेका कर्मचारीलाई पनि सरकारी कर्मचारीकै दर्जा दिइन्छ ।

नेप्से, सेबोन लगायतले पनि सरकारी निकाय भन्दै बेलाबेलामा स्वभाविक गाली पाईरहन्छन् । किनकी उनीहरू आफैँले नै गाली खाने ठाउँ राखेका छन् । सेवा र प्रविधिको कुरामा गुणस्तर भएन भनेर त हामीले धेरै सुनेका छौँ । तर यसबाहेक पछिल्लो समय जिम्मेवार निकायहरू आफ्नो जिम्मेवारीबाट पनि चुक्दै गएका पाइन्छ । चाहे त्यो आईपीओ सुपरिवेक्षणको कुरामा होस् या लगानीकर्ताहरूको हक/हित सुनिश्चित गर्ने कुरामा ।

सेयर बजारका निकायहरू जिम्मेवारीबाट चुकेका अनगिन्ती उदाहरणहरू होलान् तर आज भने हामी एउटै उदाहरणमा केन्द्रित रहौँ त्यो उदाहरण हो सुपरिवेक्षणको । हो, सुपरिवेक्षण ! सुपरिवेक्षणमा पनि चुकेका छन् हाम्रा नियामक । ५७ लाख नेपाली लगानीकर्ताहरूको अभिभावक बनेर जिम्मेवारी बोकेका नियामकहरूले नै लगानीकर्ताहरूको हक हित सुनिश्चित गर्न चुकेका पाइन्छ । हरेक लगानीकर्ताहरूसँग सूचनाको हक र अधिकार हुन्छ । आफूले कुनै कम्पनीमा लगानी गर्नु छ वा गरिएको छ भने त्यो कम्पनीको बारेमा विभिन्न पक्षहरू राम्ररी जान्न पाउनु एक एक लगानीकर्ताको हक हो । यी पक्ष र सूचनाहरू सही छन् या छैनन् भन्ने सुपरिवेक्षण गर्नु सम्बन्धित निकायको कर्तव्य हो ।

सम्बन्धित निकाय कर्तव्य र सुपरिवेक्षणमा चुकेका एउटा उदाहरण

सेयर बजारसँग सम्बन्धित कुनै सूचना हेर्नु पर्यो भने हामीले सुरूमा खोल्ने वेबसाइट भनेकै नेपाल स्टक एक्सचेञ्जको वेबसाइट हो । सूचिकृत कम्पनीको केही विवरण हेर्नुपर्यो भने हामी सम्बन्धित कम्पनीको भन्दा पनि सर्वप्रथम नेप्सेकै वेबसाइटमा गएर कम्पनीको प्रोफाइल हेर्छौँ । तर नेप्सेमा नै वर्षौँदेखि कम्पनीको बारेमा गलत सूचना प्रवाह भईरहेका छन् । नेप्सेमा वर्षौँसम्म पनि डाटा नफेरिएको पाइएको छ ।

अरु उदाहरण पनि धेरै होलान् तर आज हामीले र्‍यान्डम्ली ५ वटा सूचिकृत कम्पनी छानेर नेप्सेमा उल्लेख गरिएको कम्पनीको प्रोफाइल नियाल्यौँ । प्रोफाइलको अनेकौँ शिर्षकमध्ये पनि हामी बोर्ड अफ डिरेक्टर सेक्सनमा केन्द्रित रहेका थियौँ । हामीले छनोट गरेका ५ वटा कम्पनीमध्ये ५ वटै कम्पनीको बोर्ड अफ डिरेक्टरमा लेखिएको सूचना गलत रहेको पायौँ ।

जस्तै की, नबिल बैंक लिमिटेडको अध्यक्षमा हाल उपेन्द्र प्रसाद पौड्याल छन् तर नेप्सेको वेबसाइटमा नबिल बैंकको चेयरम्यान भनेर शम्भु प्रसाद पौड्यालकै नाम अझै पनि उल्लेख गरिएको छ । कम्पनीका पछिल्ला सञ्चालकहरूको बारेमा पनि अपडेट गरिएको छैन । त्यस्तै, हामीले अपर तामाकोशीको कम्पनी प्रोफाइल हेर्यौँ । हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा मोहन प्रसाद गौतम रहेका छन् । तर नेप्सेको वेबसाईटमा भने सीईओ भनेर विज्ञान प्रसाद श्रेष्ठको नाम उल्लेख गरिएको छ । यी बाहेक अन्य धेरै कम्पनीको बोर्ड अफ डिरेक्टरहरूको बारेमा वर्षौँदेखि अपडेट गरिएको छैन । राजिनामा दिएका ४ वर्ष भईसकेको केही व्यक्तिहरूको नाम अझै पनि नेप्सेमा भने कम्पनीको सञ्चालक पदमा देखाईएको छ ।

यति मात्र होइन हामीले नेप्सेमा सूचिकृत कतिपय कम्पनीहरूको अफिसियल वेबसाइट नै भेट्दैनौँ । वेवसाइट नै नभेटी त्यो कम्पनीको बारेमा कहाँबाट थाहा पाउने ? कसरी अध्ययन र विश्लेषण गर्ने ? अनि के आधारमा लगानी गर्ने ? यी प्रश्नहरु अझै अनुत्तरित छन् ।

नेप्सेमा किन गलत सूचना उल्लेख भईरहेको छ भन्ने बारे बुझ्न हामीले नेप्सेका प्रवक्ता मुरहारी पराजुलीसँग सम्पर्क गर्यौँ । उनले यो जिम्मेवारी कम्पनी आफैँको हो भने । नेप्सेबाट सूचिकृत कम्पनीलाई लग इनका लागि युजरनेम र पासवर्ड उपलब्ध गराइने अनि कम्पनी आफैँले कम्पनीको सूचनाहरू अपडेट गर्ने अभ्यास चलिरहेको उनले बताए । कम्पनीको फ्लोरसीट, प्राइस हीस्ट्रीमात्रै नेप्सेबाट अपडेट हुने अरू सबै कम्पनीले आफैँ अपडेट गर्नुपर्ने उनले जानकारी दिए । कम्पनीले अपडेट नगरेको कुरा नेप्सेले सुपरिवेक्षण गरेर कम्पनीलाई ताकेता गर्नुपर्ने होइन र ?

नेप्सेमा कुरा गरिसकेपछि सुपरिवेक्षणबारे बुझ्न हामीले नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग कुराकानी गर्यौँ । सेबोनले पनि यसको जिम्मेवारी नेपाल स्टक एक्सचेञ्जकै हुने बतायो । नेप्सेलाई जिम्मेवारी दिईसकेपछि सुपरिवेक्षणको काम पनि नेप्सेकै हुने सेबोनका एक सूचना अधिकारीले बताए ।

यसरी सम्बन्धीत निकायहरूले सुपरिवेक्षण गर्न आलाटाल गर्दा लगानीकर्ताहरूको सूचनाको हक गुमनाम हुँदै जान्छ र गईरहेको छ पनि । सम्बन्धीत निकायको अफिसियल वेबसाईटबाट नै गलत सूचना प्रवाह भइरहँदा लगानीकर्ताहरूले कसलाई विश्वास गर्ने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको