Like us!
Follow us!
Connect us!
Watch us!

हुम्लीलाई विनाभिसा ‘कैलाश मानसरोवर’सम्म जान दिन नेपालको प्रस्ताव

अर्थ संसार

विहीबार, १८ साउन २०८०, ११ : ५१ मा प्रकाशित

हुम्लीलाई विनाभिसा ‘कैलाश मानसरोवर’सम्म जान दिन नेपालको प्रस्ताव

नेपालले हुम्लीवासीलाई बिना भिसा कैलाश मानसरोवरसम्म जान दिन चीनसामू प्रस्ताव राखेको छ । तर, यो प्रस्ताव चीनसँग जोडिएको एउटा जिल्लाका नागरिकका लागि मात्र मान्य हुनेछ । नेपाल र चीनका प्रशासनिक तथा सुरक्षा अधिकारीको बैठकमा नेपालले चीनसामू यस्तो प्रस्ताव गरेको हो ।

तिब्बतको पुराङ काउन्टीको ताक्लाकोटमा मंगलबार बसेको दुई देशका सीमावर्ती जिल्लाका प्रशासनिक तथा सुरक्षा अधिकारीको बैठकले नेपालको हुम्ला जिल्लाका बासिन्दालाई कैलाश मानसरोवरसम्म जान भिसा नलिनुपर्ने प्रस्ताव गरेको हो ।

उक्त द्विपक्षीय भेटमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सो कुराको पुष्टि गरेको भारतीय सञ्चारमाध्यम हिन्दूस्थान समाचारले लेखेको छ । हुम्ला जिल्लाका बासिन्दालाई सीमापार व्यापार गर्न र गाईवस्तु ओसारपसार गर्न विशेष किसिमको ‘बोर्डर पास’ दिइने पौडेलले बताएको विषयलाई उदृत गर्दै हिन्दूस्थान समाचारले लेखेको छ। सीमा क्षेत्रबाट कैलाश मानसरोवरसम्मको दूरी करिब १६० कि.मि रहेको छ । 

उनीहरूसँग यस प्रकारको पास हुनेछ जसले उनीहरूलाई मात्र भिसा बिना नै कैलाश मानसरोवर भ्रमण गर्न अनुमति दिइनेछ। यसको लागि प्रारम्भिक वार्ता भइसकेको जनाइएको छ। यो प्रस्ताव बेइजिङमा पठाइएको छ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित चीन भ्रमणका क्रममा यस विषयमा लिखित सहमति हुने अपेक्षा गरिएको छ ।

कोभिड–१९ को महामारीका कारण विगत चार वर्षदेखि बन्द रहेको नेपाल–चीन सीमा नाका यही वैशाखबाट पुनः सञ्चालनमा आएको छ । हरेक वर्ष हुने सीमा सुरक्षासम्बन्धी बैठक यसपटक पनि चार वर्षको अन्तरालमा बसेको छ । 

बैठकमा नेपालतर्फ हुम्लाका प्रमुख जिल्ला अधिकारीका अलावा जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, भन्सार विभागका अधिकारीहरुको सहभागिता रहेको थियो । चिनियाँ पक्षमा पुराङ काउन्टी र ताक्लाकोटका सुरक्षा तथा भन्सार अधिकारीहरुको उपस्थिति रहेको थियो ।-Photo Source: Hindusthansamachar.in

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको