Like us!
Follow us!
Connect us!
Watch us!

डलर बढेर आजसम्मकै नयाँ रेकर्ड, उपभोग्य वस्तुको मूल्यवृद्धिको त्रास

अर्थ संसार

मंगलबार, ०२ असोज २०८०, १२ : ३८ मा प्रकाशित

डलर बढेर आजसम्मकै नयाँ रेकर्ड, उपभोग्य वस्तुको मूल्यवृद्धिको त्रास

नेपाली रुपैयाँ अमेरिकी डलरसँग झनै कमजोर हुन पुगेको छ। अब १ डलर किन्न १३३.५४ रुपैयाँ नेपाली रुपैयाँ खर्चिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैङ्कले मङ्गलवारलाई १ डलर बराबर १३३.५४ रुपैयाँ बिक्रीदर तोकेको छ। डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। यस्तै खरिद दर १३२.९४ रुपैयाँ छ । १० महिनादेखि केही सामान्य उतारचढाव आए पनि अघिल्लो सातादेखि डलरको भाउ पुनः निरन्तर उकालो लागेको छ। 

भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो। मङ्गलवार १ डलर बराबर ८३.२४ भारु पुगेको भारतीय रिजर्भ बैङ्क (आरबीआई ) ले जनाएको छ। डलरसँग भारु हालसम्मकै कमजोर बनेको छ।

भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमय दर (फिक्स पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ । भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि मजबुत हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ।  नेपाल र भारतमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदा अन्य मुद्रा कमजोर बन्दै गएको देखिएको छ। 

गत असारको तुलनामा साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको थियो। विश्वमा ८० प्रतिशत भन्दा बढी व्यापार डलरमा हुने गरेको छ। २०८० साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२.४३ रुपैयाँ थियो भने २०८० असार मसान्तमा उक्त विनिमय दर१३१.१७ रुपैयाँ थियो।

डलर बलियो भएसँगै दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचाकांकमा आधारित मुद्रास्फीतिको ग्राफ साउनमा ७.५२ प्रतिशत पुगेको राष्ट्र बैङ्कले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको