Like us!
Follow us!
Connect us!
Watch us!

१२ करोडको क्याप : ब्याजदर न्यून हुँदा हटाउँदा ठीक कि उच्च हुँदा

अर्थ संसार

आइतबार, १४ असोज २०८०, ०७ : १५ मा प्रकाशित

१२ करोडको क्याप : ब्याजदर न्यून हुँदा हटाउँदा ठीक कि उच्च हुँदा

१२ करोडको क्याप हट्ने कुरा पछिल्लो समय निकै चर्चामा आएको विषय हो । लामो समय अघिदेखि लगानीकर्तादेखि अर्थमन्त्रीबाटै सार्वजनिक रुपमै दबाब आएपनि राष्ट्र बैंकका गभर्नरले सकारात्मक देखिए पनि आज सम्म अडान १२ करोड क्याप परिमार्जित वा हटिसकेको अवस्था भने होइन। 

पछिल्लो समय उक्त क्याप हटाउने विषयमा गभर्नर आफै लचिलो भएको संकेत पछि बजारको चर्चाको भनेकै उक्त क्याप कहिले हट्ला भन्ने तर्फ केन्द्रित भएको छ। अहिले सेयरबजारमा लगानी गर्ने हरेक लगानीकर्ताले यस निर्णयलाई कुरिरहेका छन। 

जसरी घटनाक्रम अगाडी बढेका छन् राष्ट्र बैंक पनि सेयर धितो कर्जाको १२ करोडको क्याप सम्बन्धमा निकट भविष्यमा निर्णय लिने निश्चित नै देखिन्छ। तर सेयर कर्जामा लगाइएको उक्त क्याप मार्फतको अवरोध हट्ने बित्तिकै लगानीकर्ताले कर्जा माग गरेर तुरुन्तै कर्जाको माग बढ्ने भने देखिदैन । हाल कर्जाको ब्याजदर नै उच्च रहेको हुँदा उक्त क्याप हटाए पनि लगानीकर्ता जोखिम लिएर कर्जा लिएरै सेयर बजारमा लगानी गर्ने अवस्था भने छैन ।

केही समय अघि अर्थसंसारसँगकै कुराकानी एक ठूला लगानीकर्ता दीपेन्द्र अग्रवालले क्याप हट्दैमा लगानी बढाईहाल्ने वातावरण नरहेको बताएका थिए । कर्जा लिएर लगानी बढाउन अर्थतन्त्र पनि तङ्ग्रीनुपर्ने आशयको अभिव्यक्ति अग्रवालको थियो ।

अर्का स्थापित लगानीकर्ता छोटेलाल रौनियारले त स्पष्ट रुपमै अहिले ट्रेडिङको समय रहेको भन्दै लगानीकर्तालाई हौसिएर सेयर नकिन्न सुझाव नै दिएका थिए । यसबाट लगानीकर्ता महँगो ऋण लिएर सेयरबजारमा हाल्ने मुडमा भने नरहेको बुझ्न सकिन्छ ।

सेयर लगानीकर्ताले झै अन्य विभिन्न क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुसमेत अहिले ब्याज उच्च रहेको भन्दै उद्यम, व्यापारसमेत विस्तार नगर्दा अहिले कर्जाको माग नै न्यून भएको छ । चाडपर्वको समय नजिकिदै गर्दा समेत बजार चलायमान नहुँदा समग्र अर्थतन्त्र नै सुस्ताएको व्यापारीहरुको भनाई छ । राष्ट्रबैंकको पछिल्लो तथ्यांकले पनि सिडि रेसियोमा निरन्तर गिरावट भएको देखाउँछ । पछिल्लो अपडेट अनुसार हाल सिडि रेसियो ८२.३७ को विन्दुमा पुगेको छ भने अन्तरबैंक ब्याजदर साढे दुई प्रतिशतको हाराहारीमा रहेको छ । यी तथ्यांकले पनि कर्जा विस्तार अहिले अति कम रहेको स्पष्ट हुन्छ । तर कर्जा विस्तारसँग गहिरो सम्बन्ध राख्ने ब्याजदरतर्फ भने बैंकहरुले पछिल्लो समय त्यति ध्यान नदिएको महसुस गर्न सकिन्छ । असोज महिनामा मै पनि ८ वाणिज्य बैंकले ब्याजदर बढाएका थिए ।

बैंकहरुको ब्याजदर बढाएर निक्षेप जोगाउने वा बढाउने मुड भने आउँदो समयमा हुनसक्ने कर्जाको बढ्दो मागलाई सम्बोधन गर्नलाई भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । अब निर्माण व्यवसायको सिजन शुरु हुने बेला भए पनि समग्र अर्थतन्त्रलाई चाहिएको एउटा "पुस" भने सेयर धितो कर्जालाई हटाएर नै हुनसक्छ । कर्जाको ब्याजदर उच्च रहेको अवस्थामै यदि १२ करोडको क्याप हटे कर्जाको अचानक माग पनि नबढ्ने अवस्था रहेको ठूला लगानीकर्ताको अभिव्यक्तिले बुझ्न सकिन्छ । यसरी बिस्तारै सेयरबजार बढ्ने, कर्जाको लगानी बढ्ने हुँदै गर्दा मनी फ्लो साइकल चालू भई समग्र अर्थतन्त्र नै चलायमान बन्न सक्ने सम्भावना पनि रहन्छ ।

कर्जाको ब्याज घटिसकेको अवस्थामा अचानक १२ करोड क्याप हटाउँदा कर्जाको माग ह्वात्तै बढ्न गई बैंकहरुलाई फेरि चाप बढ्ने हुँदा त्यसतर्फ पनि राष्ट्र बैंकले ध्यान दिनुपर्ने देखिन्छ । त्यसैले कर्जाको माग र आपूर्तिको तालमेल मिलाउँदै राष्ट्रबैंकले आगामी दिनमा निर्णय लिनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको