Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तावाट सर्वत्र आलोचित धितोपत्र बोर्डका अध्यक्ष हमाल पुनः अध्यक्ष बन्ने योजनामा

लोकेन्द्र ढकाल

मंगलबार, २३ असोज २०८०, १३ : २७ मा प्रकाशित

लगानीकर्तावाट सर्वत्र आलोचित धितोपत्र बोर्डका अध्यक्ष हमाल पुनः अध्यक्ष बन्ने योजनामा

असोज १५ गते प्रतिनिधि सभाको बैंठकमा बोल्दै संसद हरि ढकालले भन्दै थिए, ‘धितोपत्र बोर्डका अध्यक्ष हमाल अरु सबै कुरामा ढिला छन् तर नेगेटीभ नेटवर्थ भएको कम्पनीको आईपिओ भटाभट बाँडेर सेयर बजारमा सप्लाई बढाउने कुरामा अत्यन्तै छिटा छन् ।’ सम्योग पनि त्यस्तै रह्रयो । रमेश कुमार हमाल बोर्डको अध्यक्षमा रहुँन्जेल सेयर बजार बढ्न सक्दै सकेन । अध्यक्ष हमाल बोर्डको अध्यक्ष बन्दैगर्दा सेयर बजारका लगानीकर्ताको आशा तथा भरोसा उत्कर्षले भरिएको थियो । उनले पदभार सम्हाल्दै गर्दा पहिलो शब्द मै भनेका थिए, ‘म पूँजीबजारको विकास, विस्तार तथा लगानीकर्ताको लगानीको सुनिस्चिकता गराउँन धितोपत्र बोर्डको अध्यक्ष बन्न आएको हुँ ।’ अध्यक्ष हमालले पदभारका क्रममा भनेका दोस्रो लाईन थियो, ‘म पैसा कमाउन यहाँ आएको होइन, इज्जत र प्रतिष्ठा कमाएर लगानीकर्ताको मन जितेर बाहिरिने छु ।’ तर आज परिस्थिति भने ठिक उल्टो देखिएको छ । अध्यक्ष हमाल अहिले लगानीकर्ता माझ आलोचनाका पात्र मात्र बनेका छैनन,् सेयर बजारको अरवौ रकम खरानी बनाउने भिलेनको भुमिका खेलिरहेको आरोप समेत उनले खेपिरहेका छन् । अध्यक्ष हमालकै कार्यकालमा सेयर बजारका लगानीकर्ताको अरबौ पैसा घटेर गएको छ । 

अध्यक्ष हमालले कार्यकालको करिब ३ महिना मात्र बाँकि रहँदासम्म लगानीकर्तालाई खुशी दिन सकिरहेका छैनन् । त्यसको प्रमुख कारण मानिएको छ ‘सेयर बजारको सप्लाई’ । उनले सेयर बजारमा निरन्तर गिरावट आईरहँदा पनि कमसल कम्पनीलाई लगातार आईपिओ तथा हकप्रद सेयर निष्काशनको अनुमति दिई सेयर बजारमा सप्लाई बढाउन सहयोग पुर्याएको गम्भीर आरोप लाग्दै आएको छ ।

यसको प्रतिनिधिमूलक एक उदाहरणको रुपमा घोराही सिमेन्टको प्रिमियममा खोलिएको आइपिओलाई लिन सकिन्छ । अध्यक्ष हमालले एक सय अंकित मुल्यमा ३ सय ३५ रुपैयाँ प्रिमियम थपेर घोराही सिमेन्टलाई प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिए । महङ्गो मुल्यमा निस्काशन अनुमति पाएको घोराही सिमेन्टको मुल्य आज आईपिओकै मुल्य बराबरमा कारोवार भईरहेको छ । बोर्ड अध्यक्ष हमालले अनुमति दिएको उक्त कम्पनीको वित्तिय विवरण, केयर रेटिङ देखि ठूलो मात्रामा भरिएको फेक आईपिओ लगायत जतासुकै जालझेलै जालझेल मात्र भेटिएको थियो । सर्वत्र आलोचना भएपछि घोराही सिमेन्टको प्रिमियम मुल्यमा आइपिओ निस्काशन प्रक्रियाका सम्बन्धमा धितोपत्र बोर्डले छानविन समिति त बनायो । तर अहिले सम्म त्यसको दोषि पहिल्याई समितिले प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । यस घोराही सिमेन्टको महङ्गो मुल्य सहित प्रिमियममा आईपिओ निष्काशन अनुमति दिँदा बोर्ड अध्यक्ष हमालले गम्भिर चलखेल गरेको आरोप लगानीकर्ताहरुले लगाउँदै आएका छन् । त्यसो त घोराही मात्र होइन प्रिमियममा अनुमति पाएका अन्य कम्पनीहरुले पनि दोस्रो बजारमा राम्रो पर्फम गरेको देखिदैन् । अंकित मुल्यमा निस्काशन अनुमति पाएका केहि हाइड्रो पावर कम्पनीको आइपिओ त नेप्सेमा लिस्टीङ भएकै बाट २÷३ दिनसम्म लगातार नेगेटिभ सर्किटमा समेत कारोवार भई झरेका समेत थिए । 

त्यसैगरि, नेटवर्थ र वित्तिय विवरण कमजोर भएका कम्पनीको हकप्रद निष्काशनमा पनि ती कम्पनीहरुलाई बोर्ड अध्यक्ष हमालले कमालै गराइ दिए । यहाँसम्म कि हकप्रदको न्युज आउँदा लगानीकर्ताको कम्पनीप्रति ह्रवात्तै आकर्षण हुँदै आएकोमा अहिले ठिक उल्टो देखिन थालेको छ । पहिला हकप्रदको न्युज आउँदा कम्पनीको सेयर मुल्य बढ्थ्यो भने अहिले उल्टै घट्ने गरेको छ । कतिपय कम्पनीको त लगानीकर्ताले हकप्रद नभरेर अक्सनमा बारम्वार टेण्डर खोल्दा  पनि विक्री हुन सकिरहेको छैन । समग्रमा अत्यधिक आईपिओ र हकप्रदको बाढीले सेयर बजारमा सप्लाई बढ्दा नेप्से इन्डेक्स निरन्तर ओरालो यात्रामा जान बाध्य भएको लगानीकर्ताहरुको आरोप अध्यक्ष हमालमाथि जतासुकै छ । 

हमाल धितोपत्र बोर्डको अध्यक्ष हुँदा सुरुमा आइपिओ निस्काशनमा विचौलिया लगाएर कमिसन लिएको समेत आरोप अध्यक्ष हमाल माथी लागेको थियो । लगानीकर्ता भन्छन्, अध्यक्ष हमालले शुरुमा विचौलिया मार्फत कमिसनमा आइपिओ निकाल्न अनुमति दिन्थे । त्यसैले त्यो बेला कम आइपिओ निस्काशन भयो । उनीहरु भन्छन, तर अहिले कार्यकाल सकिन लागेको बेला ती कम्पनीलाई खुसी बनाउन भटाभट आँखा चिम्लेर जस्तोसुकै कम्पनीको आइपिओ, हकप्रद निकाल्न बोर्ड अध्यक्ष हमालले अनुमति दिँदा बजारमा माग सृजना हुन सकेन । त्यसले बजारमा सप्लाई बढाएको बढाई गर्योे । जसका कारण नेप्से इन्डेक्स २२ सय अंक भन्दा माथि जानै नसकेको आरोप लगानीकर्ताहरुले बोर्ड अध्यक्ष हमाललाई लगाउने गरेका छन् । 

लगानीकर्ताको माग बजारमा डिमाण्ड सृजना हुन नसकेको अवस्थामा धितोपत्र बोर्डका अध्यक्ष हमालले कमजोर कम्पनीका आइपिओ र हकप्रद निष्काशन नगरि दिईहुन्थ्यो भन्ने थियो । तर अध्यक्ष हमालले त्यसलाई रोक्दै रोकेनन् । फलस्वरुप सेयर बजारमा सप्लाई निरन्तर हाबी बनिनै रह्रयो । उनीहरु भन्छन्, यदि अध्यक्ष हमालले लगानीकर्ताको लगानी बचाउन चाहेको भए त्यस्ता कम्पनीको आइपिओ र हकप्रद रोक्दा सेयर बजार केहि माथि जान सक्थ्यो । यसले लगानीकर्ताको लगानी घट्ने थिएन । यसकारण अधिकाशं लगानीकर्ताहरु अहिले अध्यक्ष हमालप्रति खुसी छैनन् । 

त्यति मात्र होइन, नयाँ स्टक एक्चेन्ज ल्याउने प्रक्रियामा पनि ठुलो अनियमिकताको आरोप धितोपत्र बोर्ड माथि लाग्दै आएको छ । उक्त आरोप लगानीकर्तावाट मात्रै होइन संसदबाट प्रधानमन्त्रीले समेत उठाएका थिए । हाल अनियमिक्तै अनियमिकताको आशंकाका कारण नयाँ स्टक एक्चेन्जको प्रक्रिया समेत अघि बढ्न सकेको छैन । यसमा अरबौको घोटलाको आरोप अहिले पनि चर्चा मै छ  ।

यसरी लगानीकर्ताको मन जित्न नसकेका बोर्ड अध्यक्ष रमेश कुमार हमाल भने अहिले आफ्नो कार्यकाल दोहोर्याउने ध्याउन्नमा लागेका छन् । पछिल्लो समयमा विभिन्न कार्यक्रम तथा धितोपत्र बोर्डवाट नयाँ नयाँ प्रोडक्ट ल्याउने र नीतिमा संशोधन गर्छु भन्दै सरोकारवालाको मन जित्न अध्यक्ष हमालले सक्रियता बढाएका हुन् । कार्यकालको अन्त्यमा अध्यक्ष हमालले छरप्रष्ट महत्वकांक्षी योजनाहरुको सपना देखाउन थालेका छन् । उनले मार्जिन ट्रेडिङ शुरु गर्न बोर्डले अन्तिम तयारी गरिरहेको तथा इन्ट्रा डे ट्रेडिङ्ग पनि छिट्टै आउने बताएका छन् । तर महिनौ अघि देखि भन्दै आएको मार्जिन तथा इन्ट्रा डे ट्रेडिङ अहिलेसम्म कार्यान्वयनमा आउन भने सकेका छैनन् । 

अध्यक्ष हमालले छिट्टै ब्रोकर कमिशन घटाउँछु पनि भन्न थालेका छन् । उनले १० कित्ते नीतिमा परिवर्तन, आइपिओ तथा हकप्रद निष्काशनमा कडाई, कम्पनीको लकिङ पिरीयडको सम्वन्धमा आवश्यक नियन्त्रण लगायतका आश्वासन प्रायजसो हिजो आज कार्यक्रममा बोल्न थालेका छन् । तर ‘कुराले चुरा भिज्दैन’ भनेझै कार्यान्वयन भने कुनै पनि हुन सकेको छैन । ‘जब परो राती, अनि बुढी ताती’ भनेझै कार्यकालको अन्तिममा आएर लोकप्रियताको लागि अध्यक्ष हमालको प्रचारवाजीलाई अर्थपुर्ण रुपमा लिन थालिएको छ । 

साउन १ गते बाट सुरु गर्ने भनेको नेप्से ठट्टी अहिले सम्म कार्यान्वयनमा ल्याउन नसकेका अध्यक्ष हमालले कार्यकालको अन्तिममा पस्किदै आएका योजनाहरु पुरा गर्न त्यति सजिलो देखिदैन । सबै काम गर्न अध्यक्ष हमाल असफल हुने प्रायः निश्चित जस्तै छ । त्यसैले अध्यक्ष हमालको स्पष्ट टार्गेट अधुरा काम पुरा गर्न पुनः आफुलाई अध्यक्षको दोस्रो कार्यकाल माग गर्न सरकारलाई रिझाउने अस्त्रको रुपमा रहेको लगानीकर्ताहरु बताउँछन । तर उनलाई बोर्डको अध्यक्ष नियुक्ति दिएकी काग्रेस सभापति शेर बहादुर देउवाको धर्मपत्नी आरजु राणा देउवाकोे शक्ति अहिले कमजोर रहेको स्रोतको दाबि छ । भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि राणाको राजनीतिक वृतमा शक्ति क्षय भएको अनुमान लगाइन्छ । काँग्रेस निकट मानिने बोर्डका अध्यक्ष हमाल आफ्नो कार्यकाल दोहोर्याउन ठूलै मुल्य चुकाएर भएपनि बनेरै छाड्ने अठोटका साथ अघि बढेको लगानीकर्ताहरुले बताउँछन् । बोर्ड अध्यक्ष हमालको पछिल्लो सक्रियतालाई नियाल्दा यसलाई पुष्टि गर्ने प्रशस्तै आधारहरु देखिन्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको