नेपाल धितोपत्र बोर्डका अध्यक्षको रुपमा रमेश हमालको २१ महिने कार्यकाल आज समाप्त भयो । नेपाल धितोपत्र बोर्डमा २०७८ को फागुनमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल नियुक्त भएपछि धितोपत्र बजारका लागि विभिन्न उल्लेख्य खुड्किलाहरु पार गरेको श्रेय पनि लिएरै जानेछन् ।
निकै लामो समयसम्म नेपाली सेयरबजारमा रहिआएको ब्रोकर सिन्डिकेट तोड्न हमाल सफल रहे । धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका आवेदन माग गरेपछि ४५ कम्पनीले आवेदन दिएकोमा ४१ कम्पनीले लाइसेन्स पाएका थिए । पूराना ५० र नयाँ ४१ गरि ९१ ब्रोकरले अब देशका विभिन्न कुनाबाट लगानीकर्तालाई पुँजीबजारसँग जोड्ने नै छ ।
यसै गरी धितोपत्र बजार सेवालाई देशव्यापी बनाउने क्रममा धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ बनाई बोर्डमा निवेदन पेश गरेको पन्ध्र दिनभित्र स्वीकृति दिने व्यवस्था पनि हमालकै कार्यकालमा भयो ।
बुक विल्डिङ विधिको शुरुवात पनि हमालको कार्यकालको अर्को हाइलाइट रहनेछ । धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरीवास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि नेपालमा पहिलोपटक हमाल कै कार्यकालमा सुरु भयो । प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजिम सर्वोत्तम सिमेन्टलाई निष्काशन अनुमति उनकै कार्यकालमा भयो ।
मर्जर तथा एक्विजिशनमा गएका कम्पनी महिनौं हराउने परिपाटीलाई हटाउँदै छरितो मर्जर तथा एक्विजिशन प्रक्रिया, तीन दिनमा नै स्वीकृति प्रदान तथा त्यस्ता कम्पनीको साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताको सेयर कारोबार बढीमा १५ दिनसम्म मात्र रोक्का हुने व्यवस्था पनि हमालकै कार्यकालमा भयो । उक्त व्यवस्था अघि त्यस्ता कम्पनीको सेयर कारोबार वर्षों सम्म रोक्का भएका उदाहरण नेप्सेमै देख्न सकिन्थ्यो ।
हमालकै कार्यकालमा आस्वा शुल्कमा व्यापक कटौती भयो । बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बढीमा पाँच रुपैयाँसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था भयो जबकि उक्त व्यवस्था अघि आइपिओ भरेकै एक सय रुपैयाँसम्म लिने बैंक तथा वित्तीय संस्था रहेका थिए । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था पनि हमालकै कार्यकालको उपलब्धि रह्यो ।
सामूहिक लगानी कोषलाई छुट्ट्याइएको आइपिओमा छ महिने लकइनको व्यवस्था , संस्थापकको लकइन खुल्नु एक महिना अघि सार्वजनिक सूचना निकाल्नु पर्ने व्यवस्था तथा जलविद्युत कम्पनीका धितोपत्रका हकमा विभिन्न विशेष व्यवस्था गर्न पनि हमाल सफल रहे ।
विवादित रहे पनि हमालको कार्यकालमै शुरु भएको अर्को अध्याय नयाँ स्टक एक्सचेञ्जको प्रकृया रह्यो । बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधिसहितको क्षमतायुक्त बनाउन नेप्सेको गुणस्तरीय प्रतिष्पर्धी विकास हुने गरी नेपालको पुँजी बजारमा दोस्रो स्टक एक्सचेञ्ज प्रवेश गराउन बोर्डले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि आवेदन माग गर्यो । यस धितोपत्र बजार अनुमति प्रकृयालाई पारदर्शी बनाउनका धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था संस्थापना गर्न बोर्डबाट सिफारिश प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ पनि हमालकै कार्यकालमा लागू गरियो ।
हमालको कार्यकालमा धितोपत्र बोर्ड नियमनतर्फ पनि चुस्त देखियो । समयमा आर्थिक विवरण नबुझाउने ८८ कम्पनीलाई एक साथ कारवाहीदेखि कारोबार समयै सञ्चालक समितिको बैठक बस्नेदेखि सूचना चुहाउने कार्यहरुलाई केही हदसम्म दण्डित गरियो । बोर्डले धितोपत्र सम्बन्धि भएका केही कसुरलाई कारवाही पनि गर्यो भने भित्री कारोबारको अनुसन्धान तथा धितोपत्र व्यवसायी, क्रेडिट रेटिङ संस्था र सामूहिक लगानी कोषलाई पनि कारवाही गर्यो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्षका रुपमा रमेश हमालको कार्यकाललाई कसरी लिनुहुन्छ ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस