Like us!
Follow us!
Connect us!
Watch us!

नायक शैलीमा आए, गर्न नि खोजे, अन्ततः खलनायक झै बन्दै बिदा भए, धितोपत्र बोर्ड अध्यक्ष हमाल

लोकेन्द्र ढकाल

शुक्रबार, २० पुस २०८०, २१ : ५३ मा प्रकाशित

नायक शैलीमा आए, गर्न नि खोजे, अन्ततः खलनायक झै बन्दै बिदा भए, धितोपत्र बोर्ड अध्यक्ष हमाल

कोही आँटिलो, सुरिलो अनि हिम्मतवाला बन्दै अघि बढ्न खोज्छ भने मानिसहरूले त्यसबेला हिन्दी फिल्म 'नायक' का हिरो अनिल कपूरलाई सम्झिन्छन् । फिल्ममा, एउटा सामान्य परिवारको मान्छे बेथिति विरुद्ध लड्दा लड्दै राज्यकै मुख्यमन्त्रीसम्म बन्दै सुशासन कायम गर्दै भष्ट्राचार, अनियमित विरुद्ध काम गरेको देखाइन्छ । २०७८ साल फागुन ५ गते नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा कार्यभार समाल्दै गर्दा रमेश कुमार हमाललाई नायक फिल्मको नायक कपूरसँग जोडेर तुलना गरिन्थ्यो । नगरुन् पनि किन ? तत्कालीन बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले सर्वोत्तम सिमेन्टको आइपीओ प्रकरणमा अक्तियार दुरुपयोग गरी छोरीको नाममा सेयर नामसारी गरेका कारण बर्खास्तीमा पर्दा सुशासन कायम गर्न सक्ने, स्वच्छ छविको व्यक्तित्व भन्दै बाँकी कार्यकालको लागि हमाललाई विदेशबाट झिकाएर धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरिएको थियो ।

जब हमाल बोर्डको अध्यक्ष नियुक्त भए, भनिन्थ्यो, 'हमाल पैसै पैसा भएका धनाढ्य मानिस हुन, यिनमा कमिसनको कुनै लोभ, लालसा छैन, उनी राम्रो काम गरेर नेपालमा मान, सम्मान, इज्जत, प्रतिष्ठा कमाउन चाहान्छन् । त्यतिबेला देश बाहिर  बसेर लगानीको अनुभव बलुलेका, विदेशी लगानीकर्तालाई समेत भित्राउन सक्ने क्षमता भएकाले हमालको पालामा सुशासन नै सुशासन हुन्छ, भष्ट्राचारको त गन्ध पनि आउँदैन, कल्पनै गर्न सकिदैन, समेत भनियो ।' तर विडम्बना, २२ महिने कार्यकाल सकि विदा हुँदै गर्दा हमालले अक्तियारी दुरुपयोग गरेको अभियोगमा अनुसन्धानको लागि अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुनुवाई सुरु भएको छ ।

पुस १२ गते बसेको संसदीय लेखा समितिको बैठकले बोर्ड अध्यक्ष हमालले अक्तियारी दुरुपयोग गरेको भन्दै अनुसन्धानको लागि निर्देशन गरेको थियो । संसदीय लेखा समितिले हमालको सम्पति छानबिन गर्न सम्पत्ति शुद्धीकरणका लागि पत्राचार गरेको थियो । जब कि धितोपत्र बोर्डमा दोस्रो कार्यकालको लागि हमालको चर्चा हुँदै गर्दा उनी अक्तियारको कठघरामा उभिन पुगेका छन्, त्यो पनि शक्तिशाली संसदीय लेखा समितिको पत्राचारमा । जहाँ, बोर्ड अध्यक्ष हमाललाई कतिपय हमाल निकटस्थ लगानीकर्ताले महानायकको संज्ञा दिइँदै गर्दा उनीभने यतिखेर खलनायक पो सिद्ध हुने हुन् की भन्ने सम्भावना बढेर गएको छ । योसगै हमालले दोस्रो कार्यकाल दोहोर्याउने सम्भावना लगभग् समाप्त जस्तै बनेको छ । उनी दोस्रो कार्यकालको लबिङको लागि शक्ति केन्द्रमा भने अहिले पनि धाईरहेको स्रोतहरू बताउँछन् । 

कार्यकाल सकिनु पूर्वसन्ध्यासम्म उनी व्यापारिक घराना चन्द्र ढकाल, उपेन्द्र महतो देखि मन्त्रालयका सचिव, मन्त्री तथा प्रधानमन्त्रीसम्म दिनहुँ जसो धाउने गर्थे । तर ढकाल र महतो लगायत व्यापारिक घरानाहरूले नयाँ स्टक एक्सचेन्ज अनुमति प्रकरणमा दूरी बढेको कारण हमालको पक्षमा लबिङ नगरेको स्रोतहरुको दाबी छ । अर्थमन्त्री डा. प्रकाशशरण महत पनि हमालको कार्यशैलीप्रति सन्तुष्ट नभएको अर्थ मन्त्रालय स्रोत बताउँछ । तर कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको रोजाइमा तत्कालीन देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माको पालामा नियुक्त भएका हमाललाई प्रधानमन्त्री पुष्पकमल दाहालले भने रेड सिग्नल दिएका थिएनन् । यझपि, केही घराना लगानीकर्ताको समुह, अर्थमन्त्री, कान्तिपुर मिडिया हाउस तथा अर्थमन्त्री स्वयम् हमालप्रती सकारात्मक नबनेको संकेत प्रधानमन्त्री दाहालले बुझे । यसकारण, हमालले दोस्रो कार्यकालको लागि पत्र पाउन सकेनन् । घटनाक्रमसगै, उनी पुस २० गते धितोपत्र बोर्डको अध्यक्षको कुर्सीबाट विदा हुन् बाध्य भए । अब प्रकियागत रुपमा प्रतिस्पर्धाबाट छानिएका ३ जना मध्य मन्त्रिपरिषदको बैठकले एक जनालाई नयाँ अध्यक्षको रूपमा नियुक्त गर्नेछ ।

हमालमाथीका आरोपहरु:
धितोपत्र बोर्डका अध्यक्ष हमालको विदाई सुखद् हुन् सकेन । उनी अहिले सम्पत्ति छानबिनको दायरामा मुछिएका छन् । उनले कार्यकालको शुरुमा आइपीओ निष्काशनको अनुमति पाउन कम्पनीबाट बिचौलिया मार्फत हमालले कमिशन माग्ने गरेको आरोप खेपे । यसमा केही हमाल निकटका व्यक्तिहरूको नामै समेत सार्वजनिक गरियो । टाट उल्टिन लागेका कम्पनीलाई आइपीओ, राइट सेयर तथा प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति दिएर धितोपत्र बोर्डले नीतिगत भ्रष्टाचार गरेको आरोप उनीमाथि छ ।

जबकि, तीन वर्ष नाफामा गएको कम्पनीले मात्र प्रिमियममा सेयर जारी गर्न पाउने कम्पनी ऐनमा उल्लेख भए पनि धितोपत्र बोर्डका अध्यक्ष हमालले धितोपत्र निष्काशन नियमावली संशोधन गर्दै केही कम्पनीलाई प्रीमियममा आइपीओ निष्काशन अनुमति दिएका थिए । यस प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको संघिन आरोप हमालमाथी परेको छ ।

लगानीकर्ताले हमालमाथि बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरीत अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको आरोप पनि लागेको छ । लगानीकर्ताले गत असोज मै यस सम्बन्धन छानबिनको लागि अक्तियारमा उजुरी दायर गरेका थिए । उजुरीमा बोर्डका अध्यक्ष हमाल लगायतले अख्तियारको दुरुपयोग गरी सिटिजन लाइफ, सन् नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल लाईफसहित चारवटा बीमा कम्पनीलाई अंकित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आह्वान पत्र स्वीकृत गरी कानुनविपरीतको कार्य र अख्तियार दुरुपयोग गरेको उल्लेख गरिएको छ । 

 हिमालयन री इन्स्योरेन्सलाई आइपीओ अनुमति प्रदान गर्न कै लागि धितोपत्र नियमावली नै संशोधन गरिएका अर्को आरोप हमाल माथि छ । हिमालयन रीइन्स्योरे्सको आइपीओ निष्काशन प्रकरणमा अरबौं रुपैयाको भष्ट्राचार भएको चर्चा अहिले पनि बजारमा सेलाएको छैन । बोर्ड अध्यक्ष हमाल त्यसमा हिस्सा रहेको र मोटो रकम बार्गेनिङ गरेको लगानीकर्ताहरुले बताउँदै आएका छन् । हिमालयन रिइन्स्योरेन्समा कम्पनी दर्ता देखि प्रीमियममा आइपीओ निष्काशन सम्ममा एक अर्बको डिल भएको बताउँदै आईएको छ । जसमा धितोपत्र बोर्ड अध्यक्ष हमाललाई पनि भागबण्डा मिलाइएको आशंका लगानीकर्ताले लगाउँदै आएका छन् । 

सेयर बजारमा निरन्तर आफूर्तिका कारण दबावमा परीरहदा पनि कमजोर पूर्वाधार भएका कम्पनीको आइपीओ र राइट सेयर निष्कासन गर्न अनुमति दिएर लगानीकर्ताको सम्पत्तिप्रती अनुत्तरदायी भएको अर्को आरोप हमाल माथि छ । जसका कारण लगानीकर्ताले दसौं खर्ब रुपैयाँ गुमाएका थिए । हमालले प्रकियामा आएका कम्पनी भन्दै मनलाग्दी आइपीओ र राइट सेएर निष्कासन अनुमति दिँदै गर्दा लगानीकर्ताको सम्पत्तिको रक्षा गर्न नसकेको बताइन्छ । यसबाट अधिक लगानीकर्ता अध्यक्ष हमलाप्रती अत्यन्तै रुष्ट बनेका थिए । 

हमालले नेप्से थटर्टी चर्चा चलाएर पनि ल्याउन नसक्दा असफल भएको बताइन्छ । त्यसैगरी, इन्ट्रा डे ट्रेडिङ शुरू गराउँछु भन्दै करिब ६ महिना अघिदेखि भनेपछि यसम उनी सफल हुन सकेनन्। मार्जिन ट्रेडिङ सुरु गराउने अर्को हमालको बोली पनि बोली मै सीमित रह्यो । ब्रोकर कमिशन शुल्क घटाउन अर्थ मन्त्रालयमा हमालले धितोपत्र बोर्डमा निर्णय गराउँदै सिफारिस त गरे तर पास गराउन लबिङ गर्न सकेनन् । हमालले ब्रोकर कमिशन घटाउने निर्णय धितोपत्र बोर्डबाट चर्चामा आउनको लागि मात्र फाइल अर्थमन्त्रालय पठाएको कतिपय स्रोतहरू बताउँछ। त्यहाँ न सरोकारवालासँग विस्तृत छलफल, अध्ययन भएको थियो न दैनिक सेयर कारोबार एक अर्ब मुनि भइरहँदा ब्रोकर कमिशन घटाउने निर्णय समय सान्दर्भिक नै थियो, स्रोत भन्छ । त्यसैले, अर्थ मन्त्रालयले त्यस फाइललाई चलाउँदै नचलाएको स्रोत बताउँछ ।

नयाँ स्टक एक्सचेन्जमा सेटिङ :
पछिल्लो समय हमाल नयाँ स्टक एक्सचेन्ज अनुमति  प्रकरण बढी विवादित बने । नयाँ स्टक एक्सचेन्जका लागि परेका तीन आवेदन मध्य हिमालयन स्टक एक्सचेन्जलाई पूर्व सेटिङमा अनुमति दिन खोजेको हमालमाथि ठूलो आरोप लगाइएको छ । जहाँ हमाल आर्थिक प्रलोभनमा परेर जसरी नी पास गराउन खोजेको बताइन्छ । यहाँ ठूलो आर्थिक चलखेल भएको भनिँदै आएको छ । जसकोलागी हमाल मरिहत्ते गर्दै कार्यकालको अन्तिम सम्म लागेतापनि सफल हुन भने सकेनन ।

हिमालयन स्टक एक्सचेन्जले व्यवसायिक घराना शंकर समूहको लगानी रहेको छ । शंकर ग्रुपका शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाका साथै खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगड, ज्योती समूहका शौरभ ज्योती लगायतका ठूला व्यापारी र व्यावसायिक घराना सगै रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि यहाँ लगानी रहेको छ । हमालले यही समूहलाई नयाँ स्टक एक्सचेन्जका अनुमति दिन चाहन्थे । 

 प्रतिस्पर्धामा नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको पनि  नयाँ स्टक एक्सचेन्जको लागि आवेदन परेको थियो । तर हमालले यिनीहरूलाई अनुमति दिन नचाहेको बताइन्छ। जुन हमालको कार्यकालमा सर्वाधिक विवादित बन्यो । गैरआवासीय नेपाली तथा नेपालका केही व्यवसायिक घरानाको लगानीमा ‘नेशनल स्टक एक्सचेन्ज' दर्ता भएको थियो । दीपक तिमिल्सिनाको नेतृत्वमा दर्ता भएको उक्त कम्पनीमा एनआरएनहरुको लगानी रहेको छ । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने तथा हालका अध्यक्ष कूल आचार्य, बद्री केसी लगायतको लगानी छ । यस्तै नेशनल स्टक एक्सचेन्जमा केडिया समूहको पनि लगानी छ । मनोज केडिया, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायत व्यवसायिक घरानाको समेत लगानी छ । 

त्यसैगरी, अन्नपूर्ण स्टक एक्सचेन्जमा गणेश कुमार श्रेष्ठ, सुरेन्द्र राज वाग्ले, मुक्ति बोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेति लगायतको लगानी रहेको छ । यी तीन मध्य हिमालयन स्टक एक्सचेन्जलाई नै अनुमति प्रदान गरी पास गराउने हमालको प्रयास भने पूरा हुन् नसकेको लगानीकर्ताहरु बताउँछन् । 

उनले आफनो कार्यकालको छिटो समयमा केही राम्रा कामहरू पनि गरेका भने छन् । मुख्य गरेर मर्जरमा गएका कम्पनीको सेयर कारोबार रोक्का विगतमा लामो समय सम्म हुन्थ्यो । हमालले त्यसलाई अधिकतम १५ दिनमा झारिदिए । ब्रोकर लाइसेन्स विस्तार गर्नु हमालको अर्को ठोस कामको रुपमा लिइन्छ । यझपि, लगानीकर्ताको आन्दोलनले पनि ब्रोकर विस्तारमा भूमिका खेलेको थियो । आइपीओ भर्दा लाग्ने आश्वा शुल्क हमाल कै पालामा घट्यो ।आइपीओ लिस्टिङ् हुँदा म्यूचुअल फण्डले शुरुमै  बजारमा सप्लाई बढाएको भन्दै ६ महिना सम्म बेच्न नपाउने नियम पनि हमाल नेतृत्वकै पालामा शुरू भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको