Like us!
Follow us!
Connect us!
Watch us!

सेबोन अध्यक्ष हमालका कारण सेयर बजार बढ्न नसकेको लगानीकर्ताहरुको आरोप

लोकेन्द्र ढकाल

बुधबार, २४ असोज २०८०, ०८ : ४६ मा प्रकाशित

सेबोन अध्यक्ष हमालका कारण सेयर बजार बढ्न नसकेको लगानीकर्ताहरुको आरोप

सेयर बजारमा दिनदिनै गिरावट आईरहेको छ । सेयर बजार मापन सूचक नेप्से इन्डेक्स पुनः १८ सय विन्दुमा झरेको छ । भर्खरै राष्ट्र बैंकले एकीकृत निर्दैशिका मार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सिमा बढाएता पनि बजारमा सुधार आउन सकेन । उल्टै बजारमा लगातार गिरावट आइरह्यो । 

अर्थतन्त्रमा सुधार तथा नीतिमा सकारात्मक पुनरावलोकन हुँदा पनि सेयर बजारमा सुधार आउन नसक्नुको मुख्य कारण के हो त ? अहिले सेयर बजारका लगानीकर्ताहरुले यसबारे मुख खोल्न थालेका छन् । यसको मुख्य कारक नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमाल नै रहेको उनीहरुले आरोप छ । बजार लगातार झरिरहेको बेला सेबोन अध्यक्ष हमालले अत्यधिक मात्रामा कमजोर नेटवर्थ भएका कम्पनीको आइपिओ निस्काशन अनुमति दिए । जसका कारण  बजारमा सप्लाई बढ्यो र बजार बढ्न नसकेको आरोप उनीहरुले अध्यक्ष हमालमाथि लगाएका हुन । उनीहरु भन्छन, ‘सेयर बजारको अभिभावक समेत रहेका अध्यक्ष हमालले शत्रुलाई जस्तो ब्यवहार लगानीकर्तालाई गर्दा लगानीकर्ताको अरबौ रुपैयाँ गुम्यो, यसको मुख्य जिम्मेवार अध्यक्ष हमाल नै हुन् ।’ लगानीकर्ता भन्छन्, यदि हमालको ठाँउमा अरु कोहि सेबोनको अध्यक्ष हुन्थ्यो भने बजारको हालत यो हुने थिएन । बजार माथि हुन्थ्यो । सेबोन अध्यक्ष हमालको कार्यकालमा करिब ६५ वटा नयाँ कम्पनी नेप्सेमा सुचिकृत भएका छन् । 

पुराना लगानीकर्ता उपेन्द्र पाठक भन्छन्, ‘लगानीकर्ताको नियामन संस्थाका रक्षक नै भक्षक भएर लागेपछि लगानीकर्ताको लगानी कसरी सुरक्षित रहन्छ ?’ उनले प्रश्न गरे । लगानीकर्ता पाठकले आक्रोशित हुँदै भने, अध्यक्ष हमाललाई लगानीकर्ताको यति धेरै लगानी गुम्दापनि कक्तिपनि पीर छैन । उनले आइपिओ र हकप्रद निस्काशनमा चलखेल गर्न नै हमाल विदेशदेखि आएको हुन कि भन्ने आफुलाई लाग्न थालेको आरोप समेत लगाए । कुरा मिठा गर्ने, यो गर्छु त्यो गर्छु मात्र भन्ने, गर्ने केहि होइन भन्दै लगानीकर्ता पाठकले भने आफ्नै कार्यालयका कर्मचारी देखि लगानीकर्ता कोहिसँग पनि सल्लाह नै नगरी सेबोन अध्यक्ष हमाल आफुखुसी एकलौटी निर्णय गर्दै हिड्ने गरेको आरोप समेत उनको थियो । पाठकले अब आउने कार्यकाल पनि हमाल अध्यक्ष भए भने अधिकाशं लगानीकर्ता सेयर बजारवाट पलायन हुने स्थिति आउने सक्ने भन्दै सबै लगानीकर्ता यसमा चनाखो हुनुपर्ने बताए । 

पूँजीबजार सुधार संघर्ष समितिका अध्यक्ष सुशिल लुनियाँ भन्छन्, जुन दिन हमाल सेबोनको अध्यक्ष भए त्यस दिन देखि लगानीकर्ताको लगानी गुम्ने दिन शुरु भयो । अध्यक्ष लुनियाँले भने, ‘बच्चाले जे पनि खानखोज्छ तर अभिभावकको काम के खान दिने, नदिने निक्योल गरि छुट्याएर दिने हो । उनले भने, तर अध्यक्ष हमालले कमिसनको लागि अधिकार छ भन्दैमा पत्रु कम्पनीलाई नेप्सेमा लिस्टीङ गराएर सप्लाईको बाढी नै ल्याइदिएका कारण सेयर बजार घटेको घटै भएको र त्यसको जिम्मेवार अध्यक्ष हमाल रहेको बताए । सेबोन अध्यक्ष हमालले सेयर बजारको सुधारको लागि कहिल्यैपनि लगानीकर्ता तथा सरोकारवालाहरुलाई बोलाएर एकपटक पनि छलफल नगराएको आरोप समेत लुनियाँले लगाए । अध्यक्ष लुनियाँ भन्छन्, आफुले कमिसनको लालसामा अगतिला अगतिला काम गर्दै नेप्सेमा सप्लाईको बाढी ल्याउने अनि राष्ट्र बैंकले मार्जिन प्रकृतिको लोनमा गरेका संशोधनलाई आफनो पहलका कारण भएको भन्दै सेबोन अध्यक्ष हमालले जस लिन खोजेको देख्दा त्यो भन्दा मजाक केहि हुन नसक्ने भन्दै व्यङग गरे । उनले भने, सेबोन अध्यक्ष अरुले गरेको कामको जस लिन हानाथाप गर्छन तर आफैले गर्न सक्ने सुधारमा काम केहि पनि गदैनन् । उनले सेबोन अध्यक्ष हमालले कार्यकालभर लगानीकर्ताको लगानी डुवाउने काम मात्र गरेको आरोप लगाए । 

 अर्का अनुभवि लगानीकर्ता बिवेक रिमाल काम गर्नभन्दा कमिसनको चलखेल गर्न अध्यक्ष हमाल सेबोनको अध्यक्ष बन्न आएको हो कि जस्तो आफुलाई लाग्न थालेको बताउँछन् । लगानीकर्ता रिमालले भने, ‘न हमालले ब्रोकर कमिसन घटाउन सके न बलिया पूर्वाधार भएका विदेशी कम्पनीलाई नेपालको सेयर बजारमा भित्राउन सके ?’ उनले खाली डुब्न लागेका कम्पनीको आइपिओ, त्यो पनि प्रिमियममा निस्काशन गराएर नेप्सेमा सप्लाई बढाएका कारण सेयर बजारमा माग सृजना हुन नसकेको बताए । लगानीकर्ता रिमालले भने, घोराही जस्तो कमजोर पूर्वाधार भएको कम्पनीलाई ३ सय ३५ रुपैयाँ प्रिमियम थपेर आइपिओ निस्कासन गर्न दिएर अध्यक्ष हमालले लगानीकर्ताको लगानी खरानी बनाउने काम गरेको आरोप लगाए । लगानीकर्ता रिमालले प्रश्न गरे, घोराहीको आइपिओ भर्नेले के नाफा पाए ? अहिले आइपिओ कै मुल्यमा घोराही सिमेन्टको कारोबार भईरहेको छ भन्दै यसवाट नेप्सेको चलायमान तीन अर्बबढी पैसा कम्पनीले लग्यो र त्यो लिस्टीङ हुने कम्पनी र दिने नियामकको मिलोमतोमा भागबन्डा गरेका हुन कि भन्ने आफुलाई आशंका लागेको बताए । उनले प्रश्न गर्दै भने, ‘नत्र घोराही जस्तो कमजोर पूर्वाधारको कम्पनीलाई ३ सय ३५ रुपैयाँ प्रिमियम थप किन ?’ लगानीकर्ता रिमालले घोराहीमा जस्तै आँउदै गरेको हिमालयन रि–इन्सुरेन्सको आइपिओमा पनि नियामक र कम्पनी सञ्चालक बिच ठूलो आर्थिक चलखेल हुँदै गरेको हो कि भन्ने समेत आफुमा शंका लागिरहेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको